गगन थापाले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने

आवाज खबर
१४ भाद्र २०७८, सोमबार १४:१६

काठमाण्डौ- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी मंसिरमा हुने १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार बिहान काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रस्थित वडा नम्बर-३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा बोल्दै नेता थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन।

‘अहिले हामी १४ औं महाधिवेशनको तयारीका क्रममा छौँ। मैले १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘मेरो वडाका अग्रज साथीहरूबीच १४ औँ अधिवेशनमा पनि कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दैछु।’

नेता थापा अहिले कांग्रेसको तेस्रो धार मानिने कृष्ण सिटौला समूहसँग निकट छन्। उनी यो पटक कुन समूहबाट महामन्त्री उठ्ने टुंगो भइसकेको छैन। १३औं महाधिवेशनमा नेता सिटौला समूहबाट लडेका उनले ५ सय ८४ मत ल्याएका थिए। त्यसबेला महामन्त्रीमा रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला विजयी भएका थिए।

कांग्रेसको महाधिवेशनका लागि पदका आकांक्षीहरु विस्तारै खुल्न थालेका छन्। सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल समूहबाट आधा दर्जन नेता र तेस्रो धारका कृष्ण सिटौला र देउवा समूहकै विमलेन्द्र निधि पनि अहिलेबाटै मैदानमा देखिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*