लुम्बिनीमा एमालेद्वारा सदन अवरुद्ध

आवाज खबर
२ भाद्र २०७८, बुधबार १५:२३

बुटवल । लुम्बिनी प्रदेशको प्रतिपक्ष नेकपा एमालेले प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । एमालेले आफ्ना सांसदलाई गरेको कारवाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूर्णबहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरु अवरुद्ध गरेको हो ।

बैठक अवरुद्ध गरेपछि आजको बैठक पनि स्थगित गरिएको सभामूख घर्तीले जानकारी दिए । एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु अजयबहादुर शाही र विमला वलीले राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारवाही गरेको पत्र सभामूखलाई बुझाइसकेको छ । उक्त पत्र सभामूखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।

आजको बैठकमा प्रतिपक्षका सांसदहरुको नारावाजीका बीच सभामुख घर्तीले कारवाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने बताए । उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारवाहीका लागि थप आवश्यक काजगपत्रहरु समेत पेश गर्न आग्रह गरेको बताए ।

तर, एमालेका सांसदले भने सभामुख निष्पक्ष नभएको भन्दै नारावाजी गरेका छन् । रोष्ट्रम घेराउ गर्दै उनीहरुले संसदीय सर्वोच्चतालाई कायम राख्न सभामूख निष्पक्ष हुनुपर्ने माग राख्दै तत्काल कारवाहीको पत्र पढेर सुनाउन माग राखेका छन् ।

सदन निरन्तर अवरुद्ध भएपछि प्रदेश सभामा अध्यादेश पेश हुन पाएका छैनन् । अधिवेशनको पहिलो बैठकमा प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूचि भएपनि सदन अवरुद्ध भएका कारण पेस हुन पाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*