रबिन्द्र मिश्रले ल्याएको प्रस्तावले कसरि देशैभरि तरंग उत्पन्न भयो ?

आवाज खबर
३२ श्रावण २०७८, सोमबार १६:००

अम्विका भट्टराई (बस्याल), जापान- केही समययता सामाजिक सञ्जाल विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले अगि सारेको प्रस्तावको बहसले निकै तातेको छ। आफूलाई वैकल्पिक शक्तिको रुपमा चिनाउने सो पार्टीका अध्यक्ष मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षताका विषयमा जनमतसङ्ग्रह गर्ने प्रस्तावले देशैभरि उच्च महत्वका साथ चर्चा पाएको छ।
सो प्रस्तावको पक्ष र विपक्षमा चर्कै स्वरहरू सुनिएका छन्। कोही यही प्रस्तावका आधारमा उनलाई पश्चगामी, गणतन्त्र विरोधी भनिरहेका छन् भने कोही यो प्रस्ताव पूर्ण रूपले देशको हितमा रहेको बताइरहेका छन्। मिश्रको प्रस्तावले ल्याएको तरङ्गको सबैभन्दा ठूलो असर भने उनकै पार्टीभित्र परेको देखिन्छ। दुई परस्पर विरोधी विचारको टकरावले पार्टी चर्केको छ अर्थात् फुटको सङ्घारमा देखिन्छ।
उनले पार्टीभित्र बहसका लागि पेश गरेको प्रस्तावले पार्टीको आन्तरिक छलफलमा भन्दा सामाजिक सञ्जालमा ज्यादा स्थान पाएको छ। पार्टीका केही अग्रगामी युवा पङ्क्तिहरू यसलाई छलफलको विषय नै नभएको बताइरहेका छन् भने कोही उनका समर्थकहरू भने उनको प्रस्ताव जनचाहानाअनुसारको रहेको दाबी गरिरहेका छन्।
                  कुनै पनि वस्तु वा व्यवस्था आफैमा खराब हुँदैन। त्यसलाई उपयोग गर्ने पात्रको तरिकामा त्यसको उपयोगिता निहित हुन्छ। न राजतन्त्र न गणतन्त्र नै आफैमा खराब व्यवस्था हुन्। सङ्घीयता पनि आफैमा गलत पक्कै छैन। यसका सफल प्रयोग भएका राष्ट्रहरू संसारमा थुप्रै छन्। तर हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने सबै कुरा सबै ठाउँमा सही पनि हुँदैनन्। तटस्थ भएर गणतान्त्रिक शासन व्यवस्थाको उदयको कारण खोजौँ त…
लामो समयदेखि नेपाललाई प्रयोगशाला बनाउँदै आएका विदेशी दलालहरूको निम्ति त वर्षौँदेखिको सपना हुँदो हो तर नेपाली जनताको चाहिँ आक्रोशको आगो थियो गणतन्त्रको माग। जस्तो आमाबाबुले रिस उठेको बेला आफ्नै सन्तानलाई घर छाडेर जा भन्छन्। अहिले नेपाली जनताको अवस्था पनि त्यस्तै छ जस्तो आवेगमा आएर घर छोडेर जा भनेको सन्तान साँच्चिकै घर छोडेर हिँडेपछि उसका आमाबाबुको हुन्छ। २०६२-६३ को जनआन्दोलन राजतन्त्रात्मक व्यवस्था भन्दा पनि राजा ज्ञानेन्द्रको परिवारका विरुद्ध थियो।
त्यतिबेला नेपाली जनतालाई राजा ज्ञानेन्द्रका उत्तराधिकारी युवराज पारस राजा बन्न योग्य पात्र हुन् भन्ने लागेको भए राजतन्त्रको अन्त्य हुँदैनथ्यो। राजा वीरेन्द्रको वंशविनाश हुने गरी भएको विभत्स हत्याकाण्डको छानबिन समितिले देखाएको सत्यको अस्वीकृती अनि राजा ज्ञानेन्द्रको पारीवारिक संलग्नताको आशंका नै त्यतिबेला ‘गणतन्त्र जिन्दावाद ‘ भन्ने नारा लाग्नुका मूल कारण हुन्। पङ्क्तिकार स्वयम् पनि २०६२-६३ को आन्दोलनमा ‘गणतन्त्र जिन्दावाद ‘ भन्ने नारा लगाएको व्यक्ति हो। सो आन्दोलनमा ‘गणतन्त्र जिन्दावाद ‘ नारा लगाउने हाम्रै उमेरका थुप्रैलाई त्यही नाराले भतभती पोलिरहेको कुरा आजको व्यवस्थालाई प्रयोग गरेर मोटाएकाबाहेक धेरैले स्वीकारेको सत्य हो।
अरबको तातो घाममा पसिना चुहाउँदै देशको अर्थतन्त्रमा विप्रेषणको योगदान दिने अधिकांशले आजको गणतन्त्र प्राप्तिका निम्ति रगत बगाएका हुन्। अग्रगमनका नायक र अन्धसमर्थकले एकपटक ती रगतले गणतन्त्र रङ्ग्याउने र पसिनाले अरब सिञ्चिनेलाई सोधून् सन्तुष्ट छन् उनीहरू यो व्यवस्था देखि। केही अन्धसमर्थकले अग्रगमन देखेको सङ्घीय गणतान्त्रिक व्यवस्थाले देशलाई कति वर्ष पछाडि धकेल्यो त्यसको अध्ययन कसले गरेको छ?
अहिले गणतन्त्रसँगको गहिरो प्रेममा तिनै व्यक्तिहरू छन् जो ‘गणतन्त्र जिन्दावाद ‘ को नारा घन्किँदा गर्भमै थिएनन् या भर्खर तोते बोली बोल्दै थिए; या त्यस्ता व्यक्तिहरू छन् जसलाई यो व्यवस्थाले भरणपोषण गरेको छ। व्यवस्था आफैमा गलत हुँदैन तर हाम्रो राजनीतिक संस्कार यति बिग्रिसकेको छ कि दुई-चार जना राम्रा मान्छेले मात्रै देशको अवस्था बदल्न सम्भव नै छैन।
अहिलै पनि के सबै नेताहरू खराब मात्रै छन् त? तर जब शीर्षस्थ नेताहरू नै अयोग्य छन् भने तल्लो तहकाले जति जोड गरे पनि केही हुन सक्दैन। स्वार्थी राजनीतिले देश यतिसम्म बिग्रिसकेको छ कि अब कुशल देशप्रेमी मान्छे नेै शीर्ष स्थानमा भए पनि उसले चाहेजति परिवर्तन गर्न सक्दैन। जब देशको नियम-कानून नै भ्रष्टचारिहरूको झुण्डले निर्माण गर्छ भने कानुनी रूपमै उनीहरू सुरक्षित हुन्छन्। तीतो तर यथार्थ हो व्यवस्था परिवर्तन नभएसम्म अब अवस्था परिवर्तन जादूको छडीले मात्रै सम्भव छ।
                        नेपालको इतिहासमा छोटो समयमा धेरै आन्दोलन अनि राजनैतिक परिवर्तनहरू भए। हरेक आन्दोलन व्यवस्था परिवर्तनकै निम्ति भएका छन्। २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०५२ को सशस्त्र माओवादी विद्रोह, २०६२-६३ को दोस्रो जनआन्दोलन जस्ता ठूला विद्रोह यो देशको सत्ताले छ दशककै समयसीमाभित्र भोगेको छ। सबै आन्दोलनमा सत्तापक्षले हारेको छ र जनताले जिते भनिएको छ। तर नेपाली जनतामा आफ्नै उपलब्धिप्रति चरम निराशा छाएको छ।
पहुँच हुनेहरू राज्यबाट सबै प्रकारका सुविधा भोग गरिरहेका छन् भने पहुँच नहुनेहरूले कहीँ कतै राज्यको उपस्थिति नै अनुभूति गर्न सकेका छैनन्। देश र जनता ऋणको भारले थलिएका छन् भने नेतृत्वमा पुग्नेहरूको जीवनशैली विलासी बन्दै गइरहेको छ। राज्यको सम्पत्तिमा ऐश गरे, देशले यस्ता महङ्गा र विलासी जीवनशैली भएका राजा धान्न सक्दैन भनेर गणतन्त्रको पक्षमा उँचो आवाजमा भाषण गर्नेहरूको जीवनशैली आज राजाको भन्दा विलासी छ। राजपरिवारका व्यक्तिहरू मनपरी गर्दै हिँड्छन्, उनीहरूलाई कानूनले बाँध्न सकेन भनेर कानुनीराजको वकालत गर्नेहरुका आसेपासेका जघन्य अपराधहरू आज वीरता कहलिएका छन्।
जनता निरीह र राज्य यतिसम्म निर्लज्ज संसारमा शायदै कहीँ होला। राजनैतिक परिवर्तन पछिको केही समय सङ्क्रमणकालीन हुन्छ। गणतन्त्र प्राप्तिपछिको सुरुका केही वर्ष यही भनेर जनताले मन बुझाए। हामीले समस्याको जड मानेका राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार सरकारलाई बुझाएर हिँडेको सात वर्षसम्म देश र जनता संविधानविहिन भएर बस्नुपर्यो। जनताको भनिएको संविधान जारी भएको यति लामो समयसम्म पनि देशको अवस्था परिवर्तन भएको छैन। नेता भनाउँदाहरू सत्ताकै निम्ति जुट्ने अनि फुट्ने गरिरहन्छन्।
फरक विचार बोक्ने पार्टीहरूलाई मिलेर काम गर्न गाह्रो भयो एउटै पार्टीलाई दुई-तिहाई भए काम गर्न सजिलो हुन्छ भने नेताहरूले। जनताले पत्याएर दुई-तिहाई पनि दिएर पठाए। विडम्बना अहंकारको धारले दुई-तिहाई पनि अल्पमतका टुक्राहरूमा छिरलिएर सत्ताको हिसाब-किताबमै व्यस्त छ।गणतन्त्र प्राप्तिको डेढ दशकभन्दा लामो अवधिमा पनि देशले एउटै राजनेता पाउन सकेन।
देशको दुर्दशाको बयान शब्दातीत छ। हिजो ‘गणतन्त्र जिन्दावाद ‘ नारा लगाएको जिब्रोको पापको प्रायश्चितका निम्ति आज अधिकांश राष्ट्रप्रेमीको मनले ‘राजा आउ देश बचाउ’ भनिरहेको छ। वास्तवमा आक्रोशमा गरिएको निर्णयको परिणाम कहिल्यै सन्तोषजनक हुँदैन। त्यतिबेलाको आक्रोशको आगोले आज देशकै अस्मिता लपेट्दैछ। बेलैमा यो आगो निभाइएन भने खरानी बनाउने पक्का छ।
                        आज अग्रगमनको नारा लगाउने केही नेता तथा तिनका कार्यकर्ताका झुण्डहरूले जनताको त्याग र बलिदानको उपलब्धि भनिरहेको संघीयता र धर्मनिरपेक्षता जनआन्दोलनको माग नै थिएन। सडकमा गणतन्त्रको नारा उठे पनि संघीयता र धर्मनिरपेक्षताको विषय उठान भएकै संविधान निर्माणताका हो। संविधान निर्माणका बेला सङ्कलन गरिएका अधिकांश सुझावहरू संघीयता र धर्मनिरपेक्षताको विपक्षमा थिए। तर वैदेशिक लगानीमा परिचालित केही नेताहरूको झुण्डले अग्रगमनको नायक बन्ने लालसाले बलपूर्वक यी विषयलाई संविधानमा प्रवेश गराए।
अत्यन्तै सानो भौगोलिक परिधि अनि जातीय, सांस्कृतिक र धार्मिक विविधता भएका कारण संघीयता र धर्मनिरपेक्षता नेपालको लागि घातक छ भनेर विज्ञहरूले सचेत गराइरहँदा र जनता स्वयंले यो हाम्रो माग होइन भनिरहँदा पनि जनादेश विपरीत जबरर्जस्ति घुसाइएका संघीयता र धर्मनिरपेक्षताको विषयमा पुनर्विचार गर्नुपर्ने मिश्रको प्रस्तावलाई जनताले सहर्ष स्वीकारेका छन्। स्थानीय निकायलाई अझ अधिकारसम्पन्न बनाउने अनि प्रदेश संरचना खारेज गर्ने उनको विचारमा हामी युवा जमातको पनि समर्थन छ।
विस्तारै राजनीतिमा प्रवेश गर्दै गरेका केही अग्रगमनका अन्धभक्तहरूको अवसर धेरै भएपछि कहीँ न कहीँ आफ्नो पनि पालो आउला भन्ने आशामा चाहिँ तुषारापात भएको हुन सक्छ। होइन भने नेपालको डेढ शताब्दीको इतिहास पल्टाएर हेरून् देश कहिले आत्मनिर्भर थियो। यदि व्यवस्था आफैमा दोषी हुँदैन भने राणाकालीन शासन व्यवस्था, पञ्चायती शासन व्यवस्था र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य जरुरी नै किन थियो?
कहिले जातीय राज्यको माग, कहिले झण्डा परिवर्तनको आवाज, कहिले राष्ट्रिय जनावरको हत्या वैध गरिनुपर्छ भन्ने माग ; केही उच्छृङ्खलहरूलाई यस्ता आवाज चेतनाको विस्तार जस्तो लाग्छ तर आफ्नो देश र संस्कार प्रिय लाग्ने शान्तिप्रेमीहरूलाई विनाशको द्योतक जस्तो लाग्छ। अग्रगामी हुँ भन्नेहरु पहिचानका ठूला-ठूला कुरा गर्छन् तर धर्म र संस्कृतिलाई विकासको बाधक देख्छन्; एकताका शत्रु ठान्छन् । भाषा, भेष, रीतिरिवाज, हाम्रा संस्कार नै त हाम्रा पहिचान हुन्।
अरुको हेरेर सिक्ने हो नक्कल गर्ने होइन। नक्कली उत्पादनको आयु छोटो हुन्छ। फेरि विकास भन्ने कुरा ठूला देशहरूको नक्कलले होइन हाम्रै नेतृत्वको अक्कलले हुने हो। यो डेढ दशकको अवधिमा हाम्रा प्राप्ति र हामीले गुमाएका कुराको विवेचना गरौँ। हामीले पाएको स्वतन्त्रताको मूल्य निकै महङ्गो परेको छ हामीलाई।
 हामीले चेतनाको विकास नभएको मान्ने पशुजगत् मा त स्वतन्त्रता प्रिय छ। हामी मानवमा त चेतनाको उच्च विकास छ भन्छौँ। हामीलाई बन्धन प्रिय हुने कुरै भएन। स्वतन्त्रताको भोकले नै २००७ सालमा क्रान्ति सम्भव भयो। त्यसपछिका सबै आन्दोलन र क्रान्तिहरू पनि दासत्वकै विरुद्ध हुन्। हरेक व्यक्तिको स्वभाव अलग-अलग हुन्छ। यही कारण सबै व्यक्तिको विचार एउटै हुँदैन। निरङ्कुश शासकहरू शासितका विचारको उपेक्षा गर्छन् र आफ्ना विचारहरू जबर्जस्ती लाद्न खोज्छन्।
जब शासित वर्गले आफू उपेक्षित भएको महसुस गर्छ अनि शासकका विरुद्ध क्रान्ति हुन्छ। हाम्रोमा पनि वैचारिक स्वतन्त्रताकै लागि धेरै सङ्घर्ष भए। फलत: आज हामी स्वतन्त्रताको मज्जाले उपयोग गरिरहेका छौँ। हामी आफ्ना विचार निर्धक्क राख्न सक्छौँ। हाम्रो लोकतान्त्रिक संविधानले हाम्रो वाक् स्वतन्त्रतालाई सुनिश्चित गरिदिएको छ। त्यसैको उपयोग गरेर मिश्रले आफ्ना धारणा राखे। तर हामीकहाँ एउटा अनौठो संस्कार विकसित भएको छ।
हाम्रोमा विद्यमान शासन व्यवस्थाप्रति थोरै असन्तुष्टि राख्यो कि त्यो प्रतिगामी भइहाल्छ; अग्रगमनको शत्रु कहलिन्छ। जनचाहानाको उपेक्षा गरेको आरोप खेप्नु पर्छ तर तिनै आरोप लगाउनेहरू कहिल्यै जनताको चाहाना बुझ्न चाहँदैनन्। आज अधिकांश जनताको मनमा यो व्यवस्थाप्रति तीव्र असन्तुष्टि छ। वैदेशिक ऋण लिएर जनप्रतिनिधि भनिएकाहरूलाई तलब-भत्ता दिनुपरे पछि देश र जनताको हालत कतिसम्म दयनीय हुन्छ त्यो भोग्ने पुस्ता हामी हौँ।
संघीयता देशको अर्थव्यवस्थाले नथेग्ने प्रमाणित भइसक्यो। धर्मनिरपेक्षताले देशको संस्कृति क्षतिग्रस्त हुँदै गइरहेको छ। गणतन्त्र दुई कौडीका शासकहरूको निम्ति भागबण्डाको विषय बनेको छ। मिश्रको प्रस्ताव धेरैको अन्तर्हृदयले अनुभूत गरेको सत्य हो। प्रतिगामी भइने डरले अरू बोल्न सकेका थिएनन्; उनले साहस गरे। लोकतन्त्रको भजन गाउनेहरू, वाक् स्वतन्त्रताका पक्षधरहरूको मनमस्तिष्कमा भुइँचालो गएको छ उनको प्रस्तावले।
आफ्ना विचार व्यक्त गर्दा मात्रै पनि कुनै जघन्य अपराध नै गरे जस्तो व्यवहार आफ्नै पार्टीभित्रका अग्रगामीहरूबाट उनले भोगिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा उनले आफ्नो विचार मात्रै व्यक्त गरेका हुन् भन्ने सामान्य चेतसमेत नहुनेहरूले लोकतन्त्रको सुन्दरताको बयान खुब मीठोसँग गर्छन्। नमीठो लागे पनि सत्य के हो भने अगाडि भीर छ भने अग्रगमनको अन्धभक्त भएर हामफाल्नुभन्दा पछाडि फर्किनु नै सबैको हितमा हुन्छ। जनताको राय नबुझी वैचारिक मतभेदलाई अपराध जसरी व्याख्या गर्नेहरू नै लोकतन्त्रका संरक्षक हौँ भनिरहँदा हाम्रो लोकतन्त्रको औकात छर्लङ्ग भएको छ। लोकतन्त्र भनेको अल्पमतको सम्मान गर्दै बहुमतले गर्ने शासन हो या बहुमतको अपमान गर्दै अल्पमतले गर्ने शासन हो?
                        अन्त्यमा मिश्रलाई एउटा अनुरोध-आफ्नो विचारबाट विचलित नहुनुहोला। सबैको चित्त त भगवानले पनि बुझाउन सक्दैनन्। नेपालको वर्तमान सन्दर्भमा तपाईँको विचार बहुसंख्यक नेपालीको आवाज हो। फरक विचारलाई निषेध गर्ने लोकतन्त्रको औकात प्रदशर्न गर्नेहरूलाई धन्यवाद।
हाल जापानमा रहनुभएकी अम्विका भट्टराई (बस्याल) ले समसामयिक विषयामा कलम चलाउनु हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*