माधव नेपाल पक्षलाई समेट्ने उपाय खोज्दै एमाले, छलफल चल्दै

आवाज खबर
४ श्रावण २०७८, सोमबार १६:५२

नेकपा एमालेले एकताको पक्षमा रहेकाहरूलाई समेट्ने उपाय खोज्न थालेको छ । चरम आन्तरिक विवादमा फसेको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको मनोमालिन्य चरम उत्कर्षमा पुगेको छ ।

माधव नेपाल पक्षका १४ जना र ओली पक्षका भनिएका आठ जना सांसदले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेभित्रको द्वन्द्व थप उत्कर्षमा पुगेको छ । तर, पार्टी मिलाउन प्रयास गर्ने भन्दै माधव नेपाल पक्षका १५ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएपछि उनीहरूलाई कसरी एमालेमा फर्काउने भन्ने गृहकार्यमा संस्थापन पक्ष जुटेको छ ।

त्यसैका लागि एमालेले आज १४ औं केन्द्रीय कमिटीको बैठक भने पनि एमालेको एकता कार्यदलले दिएको १० बुँदे सुझावअनुसार नै बैठकलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काएर १० औं बैठक राखिएको छ ।

कार्यदलले सुझावलाई कार्यान्वयन गर्नकै लागि आजको केन्द्रीय समितिको बैठकलाई १० औं बैठक भनिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताए । एकताको पक्षमा रहेका नेताहरूलाई समेट्न आजको केन्द्रीय कमिटीको बैठक लगत्तै बालकोटस्थित ओली निवासमा एमालेको स्थायी कमिटीको बैठक राखिएको छ ।

एमाले एकताका पक्षमा रहेका नेताहरू भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायतलाई संस्थापन पक्षमा समेट्ने उपाय खोज्न स्थायी कमिटी जुटेको छ । स्थायी कमिटीले एकताको पक्षमा रहेका नेताहरूलाई समेट्ने उपाय तय गर्ने र त्यसलाई भोलिको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने तयारी रहेको एमालेका ओली पक्षीय केन्द्रीय सदस्य कर्णबहादुर थापाले बताए ।

एमालेका अध्यक्ष केपी ओलीले पनि आजको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेतालाई गद्दारको रूपमा सम्बोधन गर्दै उनलाई एमालेका कुनै पनि हालतमा ठाउँ दिन नसकिने बताएका थिए । तर, अन्य नेताहरू गल्ती स्वीकारेर पार्टीमा फर्कन चाहन्छन् भने स्वागत गर्न सकिने उनले केन्द्रीय सदस्यहरूलाई बताए ।

ओलीको सम्बोधन जानकारी गराउँदै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षज्यूको सम्बोधनको शैली र मुड हेर्दा उहाँले कुनै पनि हालतमा माधव नेपाललाई स्वागत गर्नुहुन्छ भन्ने लाग्दैन । अरू नेताहरूले गल्ती स्वीकार गरेर फर्किन्छन् भने स्वागत गर्न सकिन्छ भन्नुभएको छ ।’

ओलीले बैठकमा भनेका थिए, ‘संसदमा शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरूका कदम अस्वाभाविक, असाधारण, चरम अनैतिक र हाम्रा लागि लज्जास्पद हो । माधव नेपालको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो । अन्य साथीहरू आउनुस् पार्टीमा ठाउँ छ । माधव नेपाललाई कुनै हालतमा ठाउँ छैन ।’

सुरूमा उनले आफ्नो सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै सम्बोधन शुरू गरेका थिए । आफ्नो नेतृत्वको सरकार अत्यन्तै राम्रो काम गरेर सफलतापूर्वक अघि बढेको तर, प्रतिक्रियावादीहरूले त्यसलाई देख्न नसकेर सरकार ढालेको ओलीको भनाइ थियो ।

उनकै नेतृत्वको सरकारले पर्याप्त मात्रामा कोभिड–१९ को खोपको व्यवस्थापन गरेकाले देउवा नेतृत्वको सरकारले त्यसलाई प्राथमिकता दिन आवश्यक नरहेको ओलीले बताएका थिए ।

आजै कारबाही गर्न होहल्ला

महासचिव ईश्वर पोखरेलले बैठकको शुरूवात गरेर अध्यक्ष ओलीलाई निर्देशनात्मक मन्तव्य राख्न भनेपछि बोल्न शुरू गरेका ओली पूरै बैठकभर हाबी भए । ओलीले सम्बोधनकै क्रममा पार्टीमा अराजकता सिर्जना गर्नेहरूलाई कारबाही नगरी बस्दा पार्टी माछा बजार जस्तो हुने बताएपछि उनी पक्षीय केही केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई आजकै बैठकबाट कारबाही गर्नुपर्ने माग गर्दै हल्ला गरेका थिए ।

त्यसरी हल्ला गर्ने केन्द्रीय सदस्यहरूलाई पनि ओलीले नै सम्झाए । उनले भने, ‘कारबाही गर्नु अगाडि सफाइ पेश गर्ने मौका दिनुपर्ने पार्टीको विधानको व्यवस्था छ । हामी पार्टीको विधानभन्दा बाहिर जान सक्दैनौं । तसर्थ अहिले स्पष्टीकरण सोध्ने निर्णय गर्नुपर्ने हुन सक्छ ।’

अन्ततः बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*