गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान हुन अझै ६ महिना लाग्ने

आवाज खबर
२८ जेष्ठ २०७८, शुक्रबार २०:१२

बुटवल जेठ २८ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विदेशमा सिधै उडान हुन अझै ६ महिना कुर्नुपर्ने भएको छ। सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ मा सुरू गरिएको यस विमानस्थलको काम पछिल्लो पटक थप भएको समयमा पनि सम्पन्न हुन नसक्ने भएको छ ।

कोरोनाको दोस्रो लहरको कोरोना महामारीका कारण तोकिएको जुन ३० भित्रको समयमा काम सम्पन्न हुन नसक्ने भएपछि यस पटकपनि ६ महिना थप गर्नुपर्ने अवस्थामा पुगेको हो । यो संगै विमानस्थलको निर्माणको लागि हालसम्म ५ पटक समय अवधि थप गरिएको छ ।

आयोजना सुरू भएको पहिलो वर्षमै आएको महाभूकम्पको कारण अवरुद्ध बनेको निर्माणकार्य दोश्रो पटक २०७२ सालमा संविधानजारी भएपछि भारतीय नाकाबन्दी आन्दोलनका कारण अवरुद्ध भएको थियो भने २ पटकसम्म ठेकेदार र पेटी ठेकेदारबीचको विवादले धकेलिँदै गएको थियो ।

पछिल्लो पटक गएको जनवरीमा ६ महिनाका लागि थपिएको म्याद जुन ३० मा सकिदै थियो । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीका अनुसार हालसम्म करिव ९७ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

बिमानस्थल निर्माणको काम अव करिव ९७ प्रतिसत सकिएको छ हामी निर्माणको अन्तिम चरणमा छौ, क्यालिब्रेसन फ्लाइटको लागि जहाज र प्राविधिक आउन नसक्दा परीक्षणको काम बाँकी रहेको छ आयोजना प्रमुख अधिकारीले भने ।

क्यालिब्रेसन फ्लाइटको लागि बाहिरबाट आउनुपर्ने जहाज र जनशक्ति आउन सके २ महिनाभित्र तयार हुने थियो तर कोभिडका कारण जनशक्ति ल्याउन सम्भव भएन उनले थपे । ’टर्मिनल विल्डिङको केही उपकरण जडान र फिनिसिङको काम बाँकी रहे पनि पूर्वाधार परीक्षण गर्न तयारी अवस्थामा छौं,’ पुगेको आयोजनाले जनाएको छ ।

विमानस्थलको आइसिभीको लागि भारतीय, थाइल्याण्ड र चिनियाँ कामदार आउनुपर्ने हुन्छ । विमानस्थलको तीन हजार मिटरको रन–वे, ट्याक्सी–वे, एप्रोन लगायतको काम सम्पन्न भइसकेको छ । टर्मिनल भवन र टावर कन्ट्रोल भवनमा उपकरण जडान गर्न र फिनिसिङको काम र आवश्यक उपकरण जडानको काम बाँकी रहेको आयोजना प्रमुख अधिकारीले बताए ।

अधिकारीका अनुसार वैशाखको पहिलो हप्तामै मौसम, संचार र विमानको दिशा पत्ता लगाउने सम्बन्धी महत्वपूर्ण उपकरण जडान सम्पन्न भैसकेका छन । ती जडान गरिएका उपकरण ठीक भए,नभएको र सही काम गरे,नगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा छ

प्राविधिकमात्र होइन क्लालिब्रेसन फ्लाइटको लागि चाहिने जहाजसमेत बाहिरबाटै ल्याउनुपर्ने हुन्छ अहिले त्यो सम्भव भएन अधिकारीले भने । उक्त जाहज थाइल्याण्डबाट ल्याउनु पर्ने हुन्छ,’उनले भने, ।

आयोजना स्थलमा अहिले पनि नेपाली, भारतीय र चाइनिज गरी एक सय कामदारले काम गरिरहका छन् । अब लाइट जडान, फर्निचर फर्निसिङ, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ। त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा निर्माण गरिएको यो विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ । बिमानस्थल सञ्चालनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका बिमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ ।

दोस्रो टर्मिनल भवन निर्माण नहुँदासम्म अहिलेकै भवनबाट आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलको काम चलाए पनि नयाँ बनेपछि भने अहिलेको भवनलाई आन्तरिक टर्मिनल भवनको रूपमा मात्र प्रयोग गरिने आयोजनाले जनाएको छ।

कुल ७८७ विघा क्षेत्रफलमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो हुने छ । जहाँ तीन किलोमिटर लामो धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ भने बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वारमै निर्माण भइरहेको यो विमानस्थलले लुम्बिनी प्रदेशको मात्र नभई देशकै पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा सरकारको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*