रुपन्देहीमा अक्सिजन अभाव भएपछी प्रहरीको उद्योगमै निगरानी

आवाज खबर
२५ बैशाख २०७८, शनिबार १५:५८

बुटवल- अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि रूपन्देहीका अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्न सुरु गरेको छ । जिल्ला कोभिड प्रकोप व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले रूपन्देहीमा रहेका तीन वटा अक्सिजन ग्यास उद्योगमा प्रहरीको निगरानी राख्ने निर्णय गरेको हो ।

अस्पतालमा अहिले अक्सिजनको पर्याप्तता छैन । उद्योगबाट उत्पादन हुने अक्सिजन अन्यत्र खपत हुनबाट रोक्न सुरक्षा घेरामा राखिएको हो । उद्योगको उत्पादन निरन्तर गर्न र सो ग्यासलाई अस्पतालमा मात्रै पठाउने योजना प्रशासनको रहेको छ ।

तीन उद्योगबाट दैनिक ११ सय सिलिण्डर ग्याँस उत्पादन हुने गरेको छ । सो ग्याँसले रूपन्देहीका अस्पताललाई समेत पुग्दैन । ग्यास उत्पादनलाई निरन्तरता दिन र त्यसको व्यवस्थित वितरण गर्न उद्योगमा सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ ।

रूपन्देहीमा साना ठुला गरी अक्सिजन ग्यास खपत गर्ने करिब एक दर्जन अस्पतालहरू छन् । ति मध्ये सरकारी दुई र निजी तीन गरी हाल पाँच वटा अस्पताल जसले कोरोनाका बिरामीहरूको उपचार गर्दै आएका छन् । ति अस्पतालहरूले बढी अक्सिजन ग्यास खपत गरेका छन् ।

अन्य सामान्य समयमा करिब १०० सिलिण्डर ग्यास भए पुग्ने युनिभर्षल मेडिकल कलेजलाई अहिले दैनिक ५०० सिलिण्डर ग्यास आवस्यक छ । । उसले भेन्टिलेटर, आइसीयु, एचडीयु गरी १०० बेड सञ्चालन गरेको छ । कलेजले ४० डिलक्स र २० एचडीयु बेड गरी थप ६० बेड थप गर्नका लागि थप ३०० सिलिण्डर अक्सिजन ग्यास माग गरेको छ । त्यो अवस्था पूरा भएमा मेडिकल कलेजले मात्र दैनिक ८०० सिलिण्डर ग्यास खपत गर्दछ ।

यस अस्पतालमा संक्रमितको उपचारका लागि एक सय बेड छुट्टाइएको छ । उपचारका लागि बिरामी भरिएका छन् । बिरामी चाप बढ्दै गएपछि अस्पतालमा अक्सिजनको चरम अभावबाट गुज्रिरहेको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावले समस्या सिर्जना हुन थालेको जनाएको छ ।

युसीएमएसमा सामान्य अवस्थामा दैनिक करिब १ सय २५ वटा अक्सिजन सिलिण्डर खपत भइरहको अवस्थामा अन्य बिरामी र कोरोना संक्रमितको चाप बढेपछि प्रत्येक दिन पाँच सय सिलिण्डर खपत भइरहेको जनसम्पर्क अधिकृत सुशिल गुरूङले बताए । उनले अक्सिजन सिलिण्डर प्राप्तीमा निकै असहजता उत्पन्न भएको र बिरामीको चापलाई थेग्न थप ६० बेडको एजडीयु सञ्चालनको तयारी गरिएपनि सञ्चालनमा ल्याउन नसकिएको गुनासो पोखे ।

अस्पतालले दैनिक करिब आठ सय अक्सिजन सिलिण्डरको सहज आपूर्तिका लागि सहयोगको आग्रह गर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ । भैरहवास्थित भिम अस्पताल २५ बेडको थियो । बुधबार बिरामीको संख्या बढेर गल्लीमै उपचार हुन थालेसंगै भिम अस्पतालले बेड संख्या बढाएर ५६ वटा पुराएको छ । भिम अस्पताललाई अहिले १ सय ४० सिलिण्डर अक्सिजन चाहिन्छ ।

११ सय सिलिण्डर उत्पादन रहेको रूपन्देहीमा भैरहवाका दुई अस्पताल मेडिकल कलेजले ८०० र भिम अस्पतालले १ सय ४० गरी ९ सय ४० सिलिण्डर अक्सिजन दैनिक भैरहवामा माग छ । बुटवलका अस्पतालमा दैनिक सात सयको हाराहारीमा सिलिण्डर खपत भइरहेको छ । यो आपूर्ति हुन नसक्दा समस्या भइरहेको छ ।

यसैबीच रूपन्देही प्रशासनले अक्सिजन खपत गर्नेसहित अन्य उद्योगहरू बैशाख ३० गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । रूपन्देही जिल्लामा खाद्यान्न र अत्यावश्यक बाहेकका सबै उद्योग अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीले निर्देशन जारी गरेको हो ।

बिहीबार जिल्ला कोभिड प्रकोप व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आदेश जारी गर्दै खाद्यान्न तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग बाहेक अन्य सबै प्रकृतिका उद्योग अर्को निर्णय नभएसम्म का लागि बन्द गर्ने र त्यस्ता उद्योगबाट उत्पादित बस्तुहरू ढुवानीमा समेत रोक लगाउने निर्णय भएको छ ।

त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरूमा अत्यावश्यक तथा मानवीय सेवाका लागि भन्दै १÷१ जनाले सेवा प्रवाह गर्न मिल्ने प्राविधिक जनशक्तीबाट व्यवस्था गर्ने गरी बैशाख ३० गतेसम्म सबै सेवाहरू बन्द गर्ने निर्देशन छ । त्यसैगरी पूर्वाधार एवम् निर्माणसम्बन्धमा निर्माण स्थलमै क्वारेन्टाइन (बाहिर आवत जावत नगर्ने सुनिश्चित प्रबन्ध भएको) बाहेक सबै विकास निर्माण कार्य अर्को निर्णय नहुँदासम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

हरियो तरकारी एवम् कृषि उपजहरू उत्पादक र उपभोक्ता बीच कृषि एम्बुलेन्समार्फत उपलब्ध गराउन सम्बन्धित स्थानीयतहलले व्यवस्था मिलाउनु पर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गरेमा, मूल्यवृद्धी गरेमा, जम्माखोरी गरेमा, लुकाउने वा सहज आपूर्तिमा अवरोध गरेमा सो कार्य गर्ने उपर कानून बमोजिम कारबाही हुने जनाएको छ ।

कार्यालयले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि रूपन्देहीमा बैशाख १६ गतेदेखि ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रजिअ तामाङले निषेधाज्ञाको पूर्णरूपमा पालना गरेका जिल्लाबासी दाजुभाइ, दिदिबहिनी, राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवि, उद्योगी, व्यवसायी एवं सञ्चारकर्मीहरू प्रति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*