रुपन्देहीमा रहेको प्यारामाउण्ट स्कुलको छात्राबासमा एक विद्यार्थीको मृत्यु

आवाज खबर
११ बैशाख २०७८, शनिबार १८:४२

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्ययनरत एक विद्यार्थीको शनिबार मृत्यु भएको छ। विद्यालयको छात्रावासमा बसेर कक्षा १० मा अध्ययनरत नयाँमिलकै एक विद्यार्थीको शनिबार अकस्मात् मृत्यु भएको विद्यालयले जनाएको छ।

विद्यार्थीका आफन्तले विद्यालयबाट दिउँसो १ बजेतिर ती विद्यार्थी बिरामी भएकोले अस्पताल लगिएको भन्दै परिवारलाई खबर गरेको र आफूहरू अस्पताल पुगेको केही समयमै उनको मृत्यु भएको बताए।

उनलाई शनिबार बिहान उच्च ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको विद्यालयले जनाएको छ।

उनीसँगै छात्रावासमा बसेर अध्ययन गरिरहेका अरू विद्यार्थीमा पनि टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको ती आफन्तले बताए।

विद्यालयले केही विद्यार्थीहरूलाई घर पठाइसकेको छ भने ३० जना जति विद्यार्थी विद्यालयमै रहेको र पिसिआर परीक्षणको लागि पहल भइरहेको बताइएको छ।

एसइई र आइतबारदेखि सुरू हुन लागेको कक्षा आठको परीक्षाको लागि विद्यार्थीहरूले छात्रावासमै बसेर तयारी गरिरहेको विद्यालयले जनाएको छ। त्यस्तै, कक्षा सातसम्मका विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*