आफ्नै बुवाबाट बलात्कृत किशोरीले बच्चा जन्माइन्

आवाज खबर
१७ चैत्र २०७७, मंगलवार ११:०३

बुटवल, चैत्र १७- गुल्मीमा आफ्नै ५० वर्षिय बुवाबाट बलात्कृत भएकी किशोरीले बच्चा जन्माएकी छन् । गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ८ की १४ वर्षिय किशोरीले आईतवार तम्घास अस्पतालमा छोरा जन्माएकी हुन् ।

विगत एकवर्षदेखि बुवाले डरधम्की देखाएर जबरजस्ती करणी गर्दै आएकी कक्षा ६ मा अध्ययनरत ति किशोरी आफ्नै बाबुबाट गर्भवती भएको गत चैत्र १० गतेमात्र सार्वजनिक भएको थियो । नियमित विद्यालय गईरहने ति किशोरी चैत्र १० गते विद्यालय गएको बेला खुट्टा सुन्निएको देखेपछि शिक्षक र साथीहरुका आफन्तले अस्पताल लगेर परिक्षण गर्दा ३० हप्ता १ दिनको गर्भ पेटमा रहेको चिकित्सकले पुष्टि गरेका थिए ।

गर्भवती भएको पुष्टि भएपछि सोधिखोजी गर्दा आफ्नै बाबुले जबरजस्ती करणी गरी आफुलाई गर्भवती बनाएको किशोरीले बयान दिएपछि प्रहरीले उनका बाबुलाई चैत्र १३ गते पक्राउ गरेको हो । बाग्लुङको निसिखोला ६ बाट १५ वर्षअघि गुल्मीको रेसुङगा ८ बसाईसरी आएका किशोरीका परिवारको आर्थिक अवस्था कमजोर छ ।

वडा नं. ८ का वडाअध्यक्ष भरत भलामीका अनुसार किशोरीकी आमा अर्कैको मेलामा मजदुरी गर्छिन् । बुवाले धामी झांक्री तथा झारफुकको काम गर्छन् । किशोरीले बुवाले आमा र दिदीहरु नभएको मौका पारि विभिन्न डर र धम्की देखाएर आफुमाथी एकवर्ष देखि जबरजस्ती करणी गर्दै आएको प्रहरीसामु बताएकी छन् ।

अहिले सुत्केरी अवस्थाकी किशोरी र उनले जन्मदिएको बच्चा अस्पतालमा छन् भने पिडक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीकी आमाले श्रीमान विरुद्ध छोरीलाई जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले शुक्रवार नै नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले पिडित किशोरीको आमाको उजुरीपछि आरोपित अन्दाजी ५० वर्षिय ति व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी प्रवक्ता पाण्डेका अनुसार पीडितको बयानका आधारमा धेरै कुरा पुष्टि भएको र थप अनुसन्धानका लागि डीएनए परीक्षण गर्न रगत संकलन गरि पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*