कोरोना विरुध्दको खोप लगाउदै हुनुहुन्छ भने यसको बारेमा बुझ्न जरुरि छ….

आवाज खबर
१२ माघ २०७७, सोमबार १६:२५

बुटवल । भारतले संसारकै सबैभन्दा ठूलो खोप अभियान अन्तर्गत आफ्ना छिमेकी मुलुकलाई लाखौं डोज खोप नि:शुल्क उपलब्ध गराएको छ । लुम्बिनी प्रदेशमा बुधबारदेखि सुरु हुने खोप अभियानका भारतले उपलब्ध गराएको करिब ८८ हजार डोज खोप आइपुगेको छ ।

यहाँका कोभिड अस्पतालहरुलाई नै खोप केन्द्र बनाएर संक्रमणको जोखिममा रहेकाहरुलाई सरकारले खोप लगाइदिदैं छ ।

महामारीमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई सामाजिक विकास मन्त्रालयले बताएको छ । कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने सरकारको योजना रहेको छ ।

देशमा व्यापक रुपमा खोप अभियान सञ्चालन भइरहँदा आम नागरिकमा भने खोपलाई लिएर विभिन्न टिका टिप्पणी हुन थालेका छन् । खोप उपलब्ध गराएको भारतले तेस्रो ‘ट्रायल’ बिना नै खोप कार्यक्रम सञ्चालन गरेपछि खोपले ‘साइड इफेक्ट’ गनै सक्ने हो कि भन्ने सन्देह सामाजिक सञ्जालहरुमा पोखिएका छन् ।

के साँच्ची असुरक्षित छ खोप ?

पहिले खोपलाई नै बुझौं ।

भारतको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ । यो बाहेक मोर्डना र फाइजर तथा बायोनटेकले पत्ता लगाएका खोपहरुले बेलायत तथा अमेरिकामा अनुमती पाइसकेका छन् ।

अक्सफर्ड–आस्ट्राजेनेकाको खोप अर्थात् हामीले लगाउने खोप संसारको सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको हो । यो कम्पनीले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ ।

चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसलाई ‘कल्चर’ गरेर कम्पनीले खोप उत्पादन गरेको हो । यसलाई कोभिशील्ड नाम दिइएको छ । सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन।

खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्छन् । एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ ।

त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ । यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ ।

फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि चुनौतीपूर्ण छ।

कोभिशील्ड कति प्रभावकारी छ?

अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ ।

तर अप्रकाशित तथ्याङ्क अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ । त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

सिरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क अगाडि सारेर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ । तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ ।

कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ । तर केही विज्ञले अन्य देशमा गरिएको परीक्षण अनुसार काम नगर्ने सम्भावना कम भएको बताउँछन् ।

कोभ्याक्सिन के हो ?
कोभ्याक्सिन भारतमै विकसित खोप हो । भारत बायोटेक २४ वर्ष पुरानो खोप निर्माता हो जसले १६ प्रकारका खोप निर्माण गर्छ र १२३ देशमा निर्यात गर्छ । नेपालमा भने याे खोप नपठाइएकाे द हिन्दुस्तान टाइम्सले बताएकाे छ ।

यो कोरोनाभाइरसमा आधारित खोप हो जुन निष्क्रिय भएकोले शरीरमा हाल्न मिल्छ । कम्पनीले भारतको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले एक्लाएको कोरोनाभाइरस प्रयोग गर्छ ।

शरीरमा हालेपछि रोग प्रतिरोधी क्षमताले कोरोनाभाइरस चिनेर त्यस विरुद्ध सक्रिय हुन्छ । यसको दुई मात्रा चार साताको फरकमा दिइन्छ र यो पनि २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा राख्न सकिन्छ । कम्पनीले आफूसँग दुई करोड मात्रा कोभ्याक्सिन भएको बताएको छ ।

कोभ्याक्सिनमा किन सन्देह?

कोभ्याक्सिनलाई परीक्षणका चरणहरू नै पूरा नभई अनुमति दिइएपछि यो विवादमा छ । विज्ञहरूले परीक्षणमै रहँदा कसरी लाखौँ व्यक्तिलाई लगाउन आपत्कालीन अनुमति दिन सकिन्छ भनेर प्रश्न उठाएका छन् । तर दुवै उत्पादक र नियामकले यसलाई सुरक्षित भएको बताएका छन् । (बीबीसीको सहयोगमा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*