संसद् हमलाको २४ घण्टापछि सार्वजनिक भए ट्रम्प

फेसबुकले लियो कडा नीति
आवाज खबर
२४ पुष २०७७, शुक्रबार ०९:२९

अमेरिकी संसद् भवनमा भएको हिंसाको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक भिडियो ट्वीट गरेर आफ्ना समर्थकको हिंसामाथि निन्दा गर्दै आफूले व्यवस्थित सत्ता हस्तान्तरण चाहेको बताएका छन् ।

उनले भने, ‘म अमेरिकी संसद् भवनमा भएको हिंसाबाट भाषणको सुरुवात गर्न चाहन्छु । अन्य अमेरिकी जस्तै म पनि अमेरिकी संसद् भवनमा भएको हिंसा र अराजकताले क्रोधमा छु । मैले भवनको सुरक्षा र घुसपैठ गर्नेहरुलाई निकाल्नका लागि नेशनल गार्ड र ल एन्फोर्समेन्ट फोर्सलाई तत्काल तैनाथ गराएको थिएँ ।’

यद्यपि, थुप्रै समाचार एजेन्सीले सुरक्षाबलको तैनाथी माइक पेन्सले गराएको र ट्रम्प यसको विरोधमा भएको बताएका छन् ।

उनले अमेरिका सधैं एक कानून–व्यवस्था भएको देशको रुपमा परिचित हुनु आवश्यक भएको बताएका छन् । उनका अनुसार संसद् भवनमा हिंसा गर्ने घुसपैठीहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र पारेका छन् ।

राष्ट्रपति ट्रम्पले भने, ‘जो मानिसहरु हिंसा र तोडफोडमा संलग्न थिए उनीहरुले हाम्रो देशको प्रतिनिधित्व गर्दैनन् र जसले कानून तोडेका छन् उनीहरुले यसको मूल्य चुकाउनुपर्छ ।’

सत्ता हस्तान्तरणका लागि राजीः

राष्ट्रपति ट्रम्पले भिडियोमा आफू व्यवस्थित सत्ता हस्तान्तरणका लागि प्रतिबद्ध भएको बताएका छन् ।

उनले नयाँ प्रशासन २० जनवरीदेखि आउने र सुचारु, सुव्यवस्थित र निर्वाध सत्ता हस्तान्तरणको बचन दिएका छन् ।

अमेरिकी संसद् भवनको हमला पछि राष्ट्रपति ट्वीटरमा फर्किएका छन् जबकी फेसबुकमा उनको अकाउन्ट दुई हप्ताका लागि सस्पेन्ड छ । यसबाहेक इन्स्टाग्राममा पनि उनको अकाउन्ट सस्पेन्ड छ ।

ट्रम्पले सोसल मिडियामार्फत् आफ्ना समर्थकलाई अमेरिकी चुनाव परिणाम नमान्न अपिल गरिरहेका थिए । संसद् भवनमाथि हमलाका लागि आफ्ना समर्थकलाई भड्काएको भन्दै उनको अत्यधिक आलोचना भइरहेको छ । उनलाई सत्ताच्यूत गर्न पनि थुप्रैले माग गरिरहेका छन् ।

ट्रम्पले चुनाव भर्खरै समाप्त भएकोले मानिसहरुको भावना अत्यधिक गहिरो भएको तर मनोभावलाई शान्त गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘हामीले अमेरिकाको जनजीवनको हिसाबले चल्नुपर्छ ।’

उनले भने, ‘मेरो चुनावी अभियानले निकै जोडतोडका साथ चुनावी परिणामका लागि हरेका कानूनको सहारा लियो । मेरो लक्ष्य इमान्दार मतपत्रलाई सुनिश्चित गर्नु मात्रै थियो । यस्तो गरेर अमेरिकी लोकतन्त्रको रक्षाका लागि लड्नु थियो । मेरो सधैं यही मान्यता रहँदै आएको छ कि हामीले सबै मतदाताको पहिचान र वैधानिकताको अनुसनधानका लागि हाम्रो चुनावी कानूनमा परिवर्तन आवश्यकता छ । यसो गरेर भविष्यका सबै चुनावमा विश्वास र साहस सुनिश्चित गर्न चाहन्छु ।’

ट्रम्पले अब संसदले परिणामका लागि प्रमाण पत्र जारी गरिसकेको र २० जनवरीमा नयाँ प्रशासन आउने बताएका छन् ।

उनले भिडियोको अन्त्यमा आफ्ना समर्थकलाई पनि सन्देश दिए ।

उनले भने, ‘मलाई थाहा छ, तपाईंहरु निराश हुनुहुन्छ तर म तपाईंहरुलाई भन्न चाहन्छु कि हाम्रो अविश्वसनीय यात्रा भर्खर अहिले सुरु भएको छ ।’
ट्रम्पविरुद्ध फेसबुकले लियो कडा नीति :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट अनिश्चित समयका लागि ब्लक गरिएको छ। भ्वाइलेन्स् नीतिको हद पार गरेको आरोप लगाउँदै हिजोमात्र उनको एकाउन्ट पेज २४ घण्टाका लागि लक गरेको फेसबुकले जनाएको थियो।

त्यसको केही समयपछि फेसबुकका सिइओ मार्क जुकरबर्गले एक वक्तव्य जारी गर्दै ट्रम्पको एकाउन्ट पेजलाई शक्ति हस्तान्तरण नगरेसम्म एक्सेस नदिने जनाएका हुन्। जनवरी २० मा ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदैछन्। सोही समयसम्म कम्तीमा दुई हप्ता ट्रम्पले फेसबुक र इन्स्टामा कुनै पोस्ट गर्न सक्नेछैनन्।

बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*