भारतले सीमामा बार लगाउदै थियो, स्थानीयको विरोधपछि रोकियो

आवाज खबर
२१ पुष २०७७, मंगलवार ०८:११

इलाम — स्थानीयको विरोधपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सूर्योदय नगरपालिकाको पशुपतिनगरस्थित हिले क्षेत्रमा बार लगाउने काम रोकेको छ । गत शनिबार हिलेमा एसएसबीले एकतर्फी रूपमा नेपालतर्फको सीमामा बाँसको बार लगाउन थालेको थियो ।

स्थानीयको तीव्र विरोधपछि आइन्दा सीमा क्षेत्रमा एकपक्षीय रूपमा कुनै पनि कार्य नगर्ने प्रतिबद्धता जनाउँदै एसएसबी पछि हटेको छ ।

नेपाल–भारत सीमाको वैज्ञानिक सीमांकन नहुँदा इलाम खण्डअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा बर्सेनि यस्ता समस्या आइरहन्छन् । यसबाहेक झापाको गौरीगन्जदेखि इलाम रोङ गाउँको सीमावर्ती पाटापुरसम्मको १ सय ४४ किलोमिटर र इलामको सन्दकपुरदेखि पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजंघा हिमालसम्मको सीमा क्षेत्रमा पनि दुवै पक्षबीच विवाद हुने गरेको छ ।

सीमा समस्यालाई वैज्ञानिक ढंगले समाधान नगरिए जहिल्यै जनताले सास्ती भोग्नुपर्ने अवस्था रहने पशुपतिनगरका मिलन क्षत्रीले बताए ।

‘स्थानीयले प्रतिकार नगर्ने हो भने एसएसबी धेरै वर आइसक्थ्यो,’ उनले भने, ‘नेपाली भूमि सम्झेर बिनाहतियार निरन्तर लडिरहेका छौं ।’ स्थानीयको प्रतिवादकै कारण पूर्वी सीमामा एसएसबी पछि हट्ने गरेको जनप्रतिनिधिहरूसमेत बताउँछन् ।

‘जबसम्म उनीहरूले गुगल म्याप लिएर हिँड्छन्, तबसम्म समस्या जस्ताको तस्तै रहन्छ,’ सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले भने, ‘दिगो समस्या समाधानको उपाय खोज्नुको विकल्प छैन ।’

यसअघि सन्दकपुरसहित विभिन्न क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण थालिए पनि भारतीय पक्षले सीमा यकिन नभएको भन्दै पटक–पटक अवरोध गर्दै आएको छ । एसएसबीको धेरै अवरोध हुने क्षेत्रमा पर्छन् सन्दकपुर र माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका । यी पालिकाका सीमावर्ती क्षेत्रमा तोकिएका पूर्वाधार विकासका काम लामो समयदेखि अधुरै छन् ।

२०५८ मा पनि हिले क्षेत्रमा भारतीय पक्षले रातारात नेपालीका सातवटा घरलाई आफ्नोमा पार्ने गरी पिल्लर सारेको थियो । त्यतिबेला स्थानीय र सञ्चारमाध्यमको दबाबका कारण एसएसबी पछि हटेको थियो ।

२०६५ मा अन्तुको गुफापातल क्षेत्रमा क्याम्पको क्षेत्र यकिन गर्ने भन्दै नेपाली भूमिमा भारतीय पक्षले बारबेर सुरु गर्‍यो । तीव्र विरोधपछि त्यहाँ पनि एसएसबी पछि सरेको थियो । यस्तै समस्या पशुपतिनगरको फाटक, पुलखोला, मानेभन्ज्याङ, छब्बिसे, गैरीबास, सन्दकपुरलगायत क्षेत्रमा कायमै छ । फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालतर्फको भू–भागमा छ ।

नेपाली पक्ष भने वैज्ञानिक सीमांकन गर्ने भन्दै मिति पर्खेर बसेको छ । तर एसएसबीले भने पटक–पटक नेपाली भूमि कब्जाको प्रयास गर्ने अनि स्थानीयले विरोध गरेर फर्काउँदै आएका छन् । सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने क्रम निरन्तर छ ।

इलामको सीमा क्षेत्रमा मात्र ५ वटा बीओपी स्थापना भइसकेका छन् । तर हाल उपलब्ध जनशक्ति र कमजोर पूर्वाधारका कारण सशस्त्रले मात्र सीमा सुरक्षा गर्न कठिन रहेको पशुपतिनगरस्थित बीओपीका प्रहरी निरीक्षक नवीन खतिवडा बताउँछन् । ‘मनिटरिङ, रिपोर्टिङ र पेट्रोलिङको काम बीओपीले गर्ने हो,’ उनले भने, ‘यो समस्याको स्थायी समाधानका लागि जोइन्ट सर्भेयर टिमले वैज्ञानिक ढंगले सीमांकन गर्नु नै हो ।’

पछिल्लो सर्वेक्षणअनुसार इलाममा कतिपय सीमास्तम्भ हराएका छन् भने कतिपय सुधार गर्नुपर्ने अवस्थामा छन् । जिल्लामा ३७ सीमा स्तम्भ छैनन् । मुख्य (जंगे) पिल्लर १७ वटा हुनुपर्नेमा १६, सहायक पिल्लर ८३ वटा हुनुपर्नेमा ७२ र सानो पिल्लर ४६ वटा हुनुपर्नेमा २१ वटा मात्रै छन् । सीमा पिल्लर नै कतिपय ठाउँमा गायब भएका कारण पनि समस्या बल्झने गरेको जानकारहरू बताउँछन् । स्रोत-कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*