गरिबलाइ दशैंको रौनक न त पहिले थियो, न अहिले छ !

आवाज खबर
६ कार्तिक २०७७, बिहीबार ०९:१७

मकवानपुर- पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ निवासी उहाँ आ“खा कम देख्नुहुन्छ, हातगोडा सुकेर चाउरी परेका छन् । हातभरि घाउ नै घाउ छन् ।घाउ कुनै रोग लागेर होइन । सिलाबरे तार जाली बोकेर घरसम्म ल्याउँदा र त्यही जालीलाई कुच्याएर सानो बनाउँदा उहाँको हातभर चोटैचोट लागेको हो ।

यो उहाँको नियति नै बनेको छ । ७७ वर्षीय चसबहादुर भ्लोनले जीवनको यो उमेरसम्म पनि कहिल्यै सुखको सास फेर्न पाउनुभएको छैन ।

वडादशैंमा हुनेहरुका लागि किनमेल सुरु भइसकेको छ । भ्लोनलाई भने दशैंको कुनै माहोल लागेको छैन । छरछिमेकी दशैंको जोहो गर्नतिर लागेका छन् । घरमा परिवार जम्मा भएका छन् । तर, भ्लोनको घरमा दशैंको लागि केही सोचिएकै छैन ।

‘बिरामी पत्नीलाई औषधी त किनेर खुवाउन सकिएको छैन । दशैं कसरी मनाउनु र खै, आउँछ, जान्छ’, उहाँले भन्नुभयो–पैसा भएन भने दुःख पाइने रहेछ ।

दुःख गरेर २ जनाको प्राण धानिरहेका चसबहादुर आफु पनि कहिले बिरामी हुन्छु कि भन्ने डर लागेको बताउनुहुन्छ । भ्लोन दम्पती सुखको दिन आउला कि भन्ने पर्खाइमा सन्तानलाई सम्झँदै बस्ने गरेका छन् । घरका दम्पती दुवै बृद्धावस्थाका ।

हेरविचार गर्ने, स्याहारसुसार गर्ने त कुरै छैन, कमाएर दुई छाक जोहो गरिदिने सन्तान साथमा नहुँदा भ्लोन दम्पतीको अबस्था दयनीय छ । २ छोरा र ३ छोरीका बुबा चसबहादुर बुढेसकालमा सहारा दिने कोही नभएपछि जीवन धान्नका लागि फालिएको तार जाली टुक्र्याएर कवाडीकोे भाउमा बेच्ने गर्नुभएको छ ।

स्थानीय तारजाली उद्योगबाट खेरजाने जालीहरु बटुलेर उहाँ घरसम्म ल्याउनुहुन्छ ।काठ र जस्तापाताले बेरेर बनाइएको घरको सानो सा“घुरो पिंढीमा बसेर ढुंगामा जाली राख्दै हथौडाले कुच्याउँदै छुट्याएर राख्नुहुन्छ उहाँ ।

टुक्रा पारेर तयारी अबस्थामा रहेको तार थोरै मुल्यमा बेच्नुहुन्छ । यो कामले उहाँलाई ज्यान पाल्न मुस्किल त अवश्य पनि भएको छ, त्यसमाथि पत्नीको उपचारका लागि के गर्ने र कसो गर्ने भन्ने पिरले कहिले रातमा निद्रा लाग्ने नगरेको सुनाउँदै भ्लोन भक्कानिनुभयो ।

उहाँकी ७८ वर्षीया पत्नी ठुलीमाया भ्लोन केही वर्षदेखि ओच्छ्यान पर्नुभएको छ । सुगर र प्रेसरले ग्रस्त ठुलीमाया बसेर खाना पकाउनमात्र सक्नुहुन्छ । ठुलीमाया भन्नुहुन्छ–छोरा, बुहारी, नातीनातिना सबै छन् । चितवनतिरै बस्ने गरेका छन् । आमाबुबा छन् भनेर कहिल्यै सम्झेर घर फर्कंदैनन् ।

‘पतिले यो काम गरेर हप्तामा २/३ सय कमाउनुहुन्छ । यसैले प्राण धानिरहेका छौं । थाहा छैन पति पनि बिरामी भए भने हाम्रो के हालत होला । सन्तानको धनी भएर पनि माया पाउन सकिएन,’ उहाँको गुनासो छ । नेपाल समाचारपत्रमा खबर प्रकाशित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*