विष्णु पौडेललाई अर्थ मन्त्रालय, शंकर पोखरेललाइ प्रदेश राजधानी

आवाज खबर
२९ आश्विन २०७७, बिहीबार ११:१४

काठमाडौं, २९ असोज। लुम्बिनी प्रदेशको राजधानीका विषयमा असहमति जाहेर गरेका नेकपाका महासचिव विष्णु पौडेल मन्त्रीमा नियुक्त भएपछि उनको गुनासो मत्थर भएको आंकलन गरिएको छ। बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेपछि अब उनको राजधानीबारे असहमति मत्थर भएको छ।

यसअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले दाङको भालुबाङमा प्रदेश राजधानी बनाउन दिएको सुझावका आधारमा प्रदेश संसदले भालुबाङलाई राजधानी तोकिसकेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको चाहनाबमोजिम ओली–प्रचण्डले दाङलाई नै राजधानी बनाउन सुझाव दिएका थिए। त्यसयता ओलीले पोख्रेललाई काखी च्यापेर पौडेललाई बेवास्ता गरेको विश्लेषण गरिएको थियो।

त्यस्तो त महासचिव पौडेलले बुटवलबाट प्रदेश राजधानी सारिएको विषयमा आफ्नो असन्तुष्टि नै व्यक्त गरेका थिए। चुनावी दौरानमा बुटवललाई प्रदेश राजधानी बनाउने विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएका पौडेलका लागि प्रदेश राजधानी तोक्ने विषय राजनीतिक भविष्यका लागि जोखिमपूर्ण थियो। त्यही जोखिमबाट बच्न उनले आफ्नो असन्तुष्टि पोखेका थिए।

तर, अर्थमन्त्रीको जिम्मेवारी पाएसँगै उनको असन्तुष्टि साम्य भएको छ। यसलाई कतिपयले पौडेलले राजधानीसँग मन्त्री पद साटेको अर्थमा विश्लेषण गर्न थालेका छन्। यो विश्लेषण पौडेलको संसदीय यात्राका लागि घातक हुनसक्ने देखिएको छ। त्यसो त बालुवाटार काण्डमा विवादित पौडेलका लागि आगामी निर्वाचन सजिलो हुने छैन।

यता प्रदेश राजधानी आफ्नो पोल्टामा पार्न सफल भएका पोख्रेलको राजनीतिक भविष्य जोगिएको छ। निर्वाचन क्षेत्रमा चरम असन्तुष्टिको सामना गरिरहेका पोख्रेलका लागि भालुबाङ राजधानी भएपछि केही राहत मिलेको छ। यसलाई पोख्रेल समर्थकहरु निर्वाचन क्षेत्र सुरक्षित भएको अर्थमा व्याख्या गर्न थालेका छन्।

पूर्वसभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री वर्षमान पुन लगायतका पूर्वमाओवादीका अधिकांश नेता दाङ नै राजधानी हुनुपर्ने पक्षमा थिए। तत्कालीन माओवादीले त औपचारिक रुपमै दाङ राजधानी बनाउने घोषणा गरेको थियो।

प्रचण्डको प्रस्तावमा ओली सहमत भएपछि लुम्बिनी प्रदेशको राजधानी अन्ततः भालुबाङ सार्ने निर्णय गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*