साझा- विवेकशीलसँग हातेमालो गर्न पाऊँ

डा. सूर्यराज आचार्य
२४ भाद्र २०७७, बुधबार १४:२३

मैले गत असार २८ गते साझा पार्टी परित्याग गरेँ । पार्टी परित्याग गर्नुपछाडि विभिन्न अड्कलबाजी भए । तर, मैले पार्टी छाड्नुमा केही सैद्धान्तिक र बाँकी आफ्नै व्यक्तिगत कारण थिए ।

मैले पार्टी परित्याग गरेसँगै विवेकशील नेपाली र साझाबीच फेरि एकताको प्रक्रियाले पनि तीब्रता पायो । यी दुई दलको एकताले पाएको तीब्रतालाई मसँग जोडेर अनेक टीकाटिप्पणी भइरहेका छन्, ममाथि आरोप लगाउन सुरु गरिएको छ ।

त्यसो त ०७५ पुस २७ मा पार्टी फुटेदेखि नै ममाथि यो आरोप लाग्दै आएको थियो । म पार्टीबाट बाहिरिएसँगै विवेकशील र साझाबीच एकताको प्रक्रिया सुरु भएपछि फेरि एकपटक यसमा मलाई जोडेर टीकाटिप्पणी सुरु भएको छ ।

विवेकशीलका केही साथीहरुले म पार्टीमा भएकै कारण पार्टी फुटेको र अहिले म पार्टीमा नभएकै कारण फेरि मिल्ने वातावरण सिर्जना भएको तर्क गर्न थालेका छन् । आफूमाथि लागिरहेका आरोप र लान्छना निराधार र अराजनीतिक भएकाले यो विषयउपर मलाई खण्डन गर्न मन थिएन । यो विषयमा मन नहुँदानहुँदै पनि बोल्दै छु । नत्र मलाई यी आरोपले हाँसोबाहेक केही उठ्दैन ।

पहिलो कुरा, ममाथि लागिरहेका यी आरोप र लान्छना निराधार मात्रै होइनन्, आरोप लगाउनेहरु असफल भएको प्रमाण पनि हो । अब के गर्ने, कसरी अगाडि बढ्ने केही भेउ नपाएर उहाँहरुले मलाई आरोप लगाइरहनुभएको छ । यो उहाँहरु असफल भएको प्रमाण हो । अब ममाथि लागिरहेका आरोपको खण्डन गर्नेतिर केन्द्रित हुन्छु ।

विवेकशील र साझा एकीकरण भएर बनेको विवेकशील साझामा पहिलो दिनबाटै मैले आफ्ना असहमति राख्दै आइरहेको थिएँ । विषेशगरी विवेकशील साझाको कार्यशैली र सिद्धान्तप्रति मेरो असहमति थियो । हामीलाई मानिसहरुले तिमीहरु क्लब हौ, एउटा अभियान मात्रै हौ, एनजिओ हौ इत्यादि भनेर गरिरहेको तर्कमा सत्यता छ ।

हामीले अब राजनीतिक शैली परिवर्तन गर्नुपर्छ । साँच्चै, हामीले गर्ने राजनीति एउटा क्लब र एनजिओ, एउटा सेलेब्रिटी र अभियानले गर्ने जस्तो भयो । हामीले एउटा यस्तो वैकल्पिक शक्ति बन्नु छ, जसले आममानिसका इच्छा–आकांक्षालाई डेलिभर गर्न सकोस् । आममानिसको विश्वास जाग्ने गरी हामीले आफूलाई स्थापित गर्नुपर्छ ।

त्यसैले आफ्नो शैली परिवर्तन गरौँ, काठमाडौंबाट बाहिर निस्किऔँ, कहिलेकाहीँ माइतीघरमा गएर पुराना दल र नेतालाई सराप्न छाडौँ । उनीहरुलाई सराप्न उनीहरुकै पार्टीका कार्यकर्ता काफी छन्, हामीले त आममानिसका इच्छा–आकांक्षा डेलिभर गर्न सक्ने गरी साँच्चिकैको वैकल्पिक बन्नुपर्छ । हामीले अहिलेसम्म शुभचिन्तकलाई झुक्याउने काम मात्रै गरेका छौँ भनेर असहमति राख्दै आइरहेको थिएँ ।

हामीलाई लाग्दै आइरहेका आरोपलाई चिर्न काठमाडौंबाट निस्किएर गाउँ–गाउँ, टोल–टोल, आँगन–आँगनमा पुगौँ । आममानिसका घरदैलोमा पुगेर प्रत्यक्ष रुपमा संवाद गरेर, उनीहरुका समस्या, पिरमर्का, इच्छा इत्यादि बुझेर अगाडि बढौँ र गाउँ–गाउँबाट वैकल्पिक राजनीतिको लहर ल्याऔँ भन्दै आइरहेका थिएँ, आफ्ना सैद्धान्तिक असहमति पोख्दै आइरहेको थिएँ । एग्री टु डिस एग्री राख्दै आइरहेको थिएँ ।

टिभीमा मात्र देखिएर राजनीति गर्न सकिँदैन, पार्टीलाई साँच्चिकै अगाडि लैजाने हो र वैकल्पिक शक्ति बनाउने हो भने हामीसँग स्पष्ट खाका र भिजन हुनुपर्छ । यस्तो अरिपक्व बुझाइ र शैलीबाट माथि जान सक्दैनौँ । हामी अपरिपक्व छौँ भनेर भन्दै आइरहेको थिएँ । हामी वास्तवमै वैकल्पिक हुने बाटोमा छैनौँ । हामी त आत्मरतिमा मात्रै रमाइरहेका छौँ ।

मेरा कुरा विवेकशीलका साथीहरुलाई मन परेनछ । हामीलाई अपरिपक्व भन्ने ? हामीलाई राजनीति गर्नै जानेको छैन भन्ने ? आफूले मात्र सबै कुरा जानेको छु भन्ने भ्रम देखाउने ? भन्दै उहाँहरु रुष्ट हुँदै पार्टीबाट अलग हुनुभयो ।

विवेकशीलका साथीहरुलाई ‘हामी अपरिपक्व छौँ’ भनेको कुरा उनीहरुलाई नै लक्षित गरेर भनिएको हो भन्ने लागेछ । स्मरण रहोस्, मैले यो कुरा उहाँहरु पार्टीबाट छुट्टिनुअघि हुँदा मात्र गरेको थिइनँ, पार्टी छुट्टिइसकेपछि पनि निरन्तर रुपमा गर्दै आइरहेको थिएँ । साझाबाट बहिर्गमन हुन्भन्दा केही दिनअघिसम्म पनि म यो कुरा राखिरहेको थिएँ । अन्तिममा केही सीप नलागेपछि पार्टीबाट बाहिरिएँ ।

म यहाँनेर मुख्य दुई प्रश्न राख्न चाहन्छु । पहिलो, अझ पनि उहाँहरु साँच्चिकै पार्टी मेरै कारणले फुटेको मान्नु हुन्छ ? यदि त्यसो हुन्थ्यो भने उहाँहरु बाहिर गइसकेको पार्टीभित्र म किन सधैँ अटाउन सकिनँ ? मैले किन अन्तिममा आएर आफैँ परित्याग गरेँ त ? उहाँहरु गइसकेपछि त म सधैँ साझामै हुनुपर्ने होइन र ?

मेरो असहमति छुट्टिएर जाने विवेकशील नेपालीप्रति मात्रै रहेछ कि हाम्रो समग्र शैली र पद्धतिप्रति ?

अब दोस्रो प्रश्न, मैले हाम्रो शैली ठीक भएन, हामी परिपक्व भएनौँ भन्नु कसरी गलत भयो । यो प्रश्नले जन्माएको एउटा अर्को प्रश्न झन् महत्वपूर्ण छ । मैले हाम्रो शैली ठीक भएन भन्दा उहाँहरुले मलाई गाली गर्नुभयो, लान्छना लगाउनुभयो, निराधार आरोप लगाउनुभयो । देशमा सुसंस्कृत राजनीति स्थापना गर्छु भनेर स्थापना भएको एउटा पार्टीका सदस्यहरुले यस्तो गर्दा कति उचित हुन्छ, कति हास्यास्पद सुनिन्छ ? उहाँहरु त आलोचनालाई पनि स्वागत गर्ने पार्टी होइन ? मेरो यो प्रश्न दुवै पार्टीलाई हो ।

म साझा पार्टी स्थापना हुँदादेखि नै सँगै थिएँ । अझ भनौँ, एक पार्टी संस्थापक सदस्यसमेत हुँ । साथै, पार्टीको प्रवक्ता पनि । मैले पार्टीलाई माथि पुर्याउनका लागि धेरै त्याग र समय खर्चिएको छु । अनुमान गर्नुस्, पार्टीका लागि यति त्याग र समय खर्चिएको एउटा मान्छे किन बाहिर निस्कियो होला ?

पार्टीमा हुँदा सधैँ वास्तविकता बोलेको छु मैले । कहिल्यै पदको लोभी नभएर सधैँ आफ्नो धर्म निभाएको छु । आफू शिक्षकको भूमिकामा भएको बेला कुनै विद्यार्थीले बाटो बिराइरहेको देख्दा, मैले उसलाई यो बाटो गलत छ भन्नु पाप वा अपराध हो भने हो, मैले अपराध गरेँ । मैले जानेको पनि यही हो । जालझेल, कपट जान्दिनँ, म ।

मैले यसो भन्दा उहाँहरुले मलाई अहंकारी भन्नुहोला, गाली गर्नुहोला मलाई केही फरक पर्दैन । म फेरि पनि भन्छु, विवेकशील नेपाली र साझाले आफ्नो विचार र शैलीलाई परिवर्तन गरेनन् भने यी जतिसुकैपल्ट मिलेर अगाडि बढे पनि त्यसको औचित्य नै हुने छैन । त्यसैले, यी दुईको मिलन जनतालाई ढाट्नु र राजनीतिक बेइमानीबाहेक केही होइन ।

अब पनि त्यहीँ शैली र चिन्तनका साथ अगाडि बढ्छन् भने यो मिलाइको कुनै सार छैन । यो खोक्रो मिलाइ हो । यसले शुभचिन्तकमा क्षणिक उत्साह जगाउनेबाहेक अरु केही गर्नेवाला छैन । मैले उठाएका प्रश्नमाथि दुवै दलले मिल्नु अघि वा मिलिसकेपछि चिन्तन नगर्दासम्म यी दुई दल एक पाइला पनि अगाडि बढ्नै सक्ने छैनन् ।

केही गरी सरकारमा पुगिहाले भने पनि यिनीहरुले जनताका इच्छा र आकांक्षाअनुरुप डेलिभरी गर्न सक्ने छैनन् । अहिलेका दलको भन्दा फरक हविगत हुने छैन, यिनीहरुको पनि । अहिले हाम्रा केही सांसद गण्डकी प्रदेश सभामा हुनुहुन्छ, खै त उहाँहरुले के फरक काम गर्नुभएको छ त ? त्यसैले आफूले आफैँलाई असल भनेर, आफूले आफैँलाई माला लाएर आत्मरतिमा नरमाउनुहोस्, मेरो विनम्र अनुरोध छ, उहाँहरुलाई ।

तपाईंहरुमा जोस छ, इमान छ, निष्ठा छ । तपाईंहरुका यी कुरालाई सधैँ सम्मान गर्छु । तर, फेरि पनि भन्छु राजनीति यति मात्र होइन । हामी राम्रा छौँ, हामीलाई मानिदिनुपर्यो भनेर राजनीति हुँदैन ।

अब तपाईंहरु मिल्नुस् । पूर्व मेचीदेखि पश्चिम महाकालीका गाउँ–गाउँ, बस्ती–बस्ती र आँगन–आँगनमा पुगेर एउटा सशक्त राजनीतिक लहर लिएर आउनुहोस् । मेरो शुभेच्छा छ । म फरकधारको राजनीतिबाट कतै गएको छैन र जादिनँ पनि । कुनै दिन तपाईंहरुले ल्याएको यही लहरो पक्रिएर तपाईंहरुसँग हातेमालो गर्न पाऊँ । मिलेर अगाडि बढ्दै हुनुहुन्छ । धेरै–धेरै शुभेच्छा र बधाई । तपाईंहरुको यो कदमको म स्वागत गर्छु ।

अन्त्यमा, फेरि पनि भन्छु, म हुँदा विवेकशील नेपाली र साझा छुट्टिनु र म नहुँदा फेरि मिल्नुमा गोरु बेचेको जति पनि साइनो छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*