कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दै, निषेधाज्ञा खुकुलो पार्न सुझाव

आवाज खबर
२३ भाद्र २०७७, मंगलवार १८:२६

काठमाडौं, भदौ २३ : पछिल्ला केही दिनयता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो। कोरोना निको हुनेको संख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ संक्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन्। आजसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ५ प्रतिशत डिस्चार्ज भएका छन्। सोमबार मुलुकभर ९७९ नयाँ संक्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए। यस्तै आइतबार पनि सक्रिय संक्रमित (९८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए।

हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। जसमध्ये ६ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन्।

काठमाडौं उपत्यकाका मेयरद्वारा निषेधाज्ञा खुकुलो पार्न सुझाव

काठमाडौं उपत्यकाका मेयरहरुको बैठकले काठमाडौं, लतिपुर र भक्तपुरसहित उपत्यकाभित्रको निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन्। मंगलबार उपत्यकाका मेयरहरुको फोरमको राष्ट्रिय सभा गृहमा बसेको बैठकले उपत्यकाको निषेज्ञाज्ञा खुकुलो बनाउन सुझाव दिएको हो।

सार्वजनिक यातायात बाहेक अन्य साधानलाई जोर/बिजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएको गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए। सवारी साधान जोरबिजोर चलाएपनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने सुझाव दिएको छ।

दैनिक ज्यालादारी गर्ने र साना व्यवसाय गर्नेलाई निषेधाज्ञाले गम्भीर असर गरेपछि खुकुलो बनाउने सुझाव दिएको महर्जनले बताए।

उपत्यकाभित्र प्रवेश गर्ने नाकामा नेपाली सेना परिचालन गर्नुपर्ने सुझाव दिइएको छ। ‘हामीले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छौं’ महर्जनले भने, ‘काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले त्यससम्बन्धी निर्णय आज बेलुका वा भोलिसम्म गर्नुहुन्छ।’ निषेधाज्ञा खुकुलो बनाएपछि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आम सर्वसाधरणलाई महर्जनले आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*