गुटमा हराएको कांग्रेस

रत्नबहादुर कार्की
२० भाद्र २०७७, शनिबार १८:४५

काठमाण्डौ- नेपाली कांग्रेसले २००७ सालको सशस्त्र जनक्रान्तिद्वारा नेपालमा प्रजातन्त्र ल्याएको हो । त्यसैले नेपाली कांग्रेस नेपाली प्रजातन्त्रको जननी पार्टी हो । तर, जननीले नै प्रजातन्त्र (पछि लोकतन्त्र भनिएको) को अपेक्षाकृत रक्षा गर्न नसक्दा लोकतान्त्रिक हक, अधिकार अपहरित हुँदै गएको छ ।

हुँदाहुँदै लोकतन्त्रकै विरुद्धमा अङ्कुराएका कम्युनिस्टहरु अहिले बहुमतका साथ सत्तामा छन् । आधुनिक नेपाललाई पल्लिवत, पुष्पित गरेको ऐतिहासिक पार्टी नेपाली कांग्रेस भने कमजोर प्रतिपक्षीय भूमिकामा खुम्चिन पुगेको छ ।

नेपाली जनतालाई रैतीबाट नागरिक तुल्याउने क्रान्तिका नायक बीपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रवर्तक पनि हुन् । सामन्ती शासनको उन्मूलन गर्ने बीपीले नेपाललाई भारतीय उपनिवेशवादी हस्तक्षेपबाट समेत बचाएका थिए । प्रजातन्त्रकै खातिर राणाकुलमा जन्मेका सुवर्ण शम्शेरसमेत जहानिया शासनको अन्त्यको क्रान्तिमा मियो बन्न पुगे ।

राणा दरबारका काजीका सन्तान गणेशमान सिंह लोकतन्त्रको संघर्षमा सधैँ अगिल्लो पंक्तिमा रहे । विसं १९९७ देखि राजनीतिक नेतृत्व गर्दैआएका सिंह २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर बने । जनताले लौहपुरुष भन्ने गरेका सिंहले आफ्नो नेतृत्वमा आन्दोलन सफल भएपछि प्रधानमन्त्रीको पद अस्वीकार गरेर त्याग र बलिदानको उदाहरण पेस गरे ।

द्रव्यमोहबाट मुक्त कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री निवासबाट छाता र सुराईका साथ बाहिरिएर जीवनभर आफ्नो निष्ठा बचाए । गिरीजाप्रसाद कोइरालाले कांग्रेसका कार्यकर्ता छानीछानी मार्ने लोकतन्त्रविरुद्ध हतियार उठाएका हिंसाचारी विद्रोही माओवादीलाई समेत कुनै प्रतिशोध नराखी शान्ति प्रक्रियामा ल्याए । सुशील कोइरलाले २०७२ सालको संविधान जारी गरेर जननिर्वाचित संविधान सभाद्वारा संविधान बनाउने ६५ वर्ष लामो जनचाहना पूरा गरिदिए ।

नेपाली कांग्रेसका लागि प्रतिकूल वातावरण हुँदाहुँदै पनि स्थानीय, प्रदेश र संघको निर्वाचन गरेर शेरबहादुर देउवाले संविधान कार्यन्वयन गराए । कांग्रेसका कैयौं होनहार योद्धाले प्रजातन्त्रको लागि बलिदान गरे । अनेकौंले सर्वस्वहरणसहित जेलको चिसो छिडीमा जिन्दगी बिताए । त्यसैले राजनीतिक परिवर्तन र नागरिक अधिकारका लागि बलिदानपूर्ण इतिहास बोकेको नेपाली कांग्रेसको तुलनामा अर्को कुनै पार्टी छैन ।

तर, समयसँगै हिँड्न नसक्दा नेपाली कांग्रेसको ऐतिहासिक भूमिकालाई आज किनारा लगाउन खोजिएको छ । सडक र संसद् दुवैबाट घेरिएको कांग्रेसका केन्द्रीय नेताहरुको व्यवहार, लेख, रचना र अन्तर्वार्तासमेतले पनि विपक्षलाई भन्दा आफ्नै पार्टीको सर्वनाश गर्न उद्यत देखिन्छ ।

यस्तो स्वर्णीम इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला गुट, उपगुटका ऐजेरुको मारमा परेको छ । जिल्ला तथा वडासम्मका पनि पदाधिकारीले केन्द्रलाई मात्र दोष पन्छाएर आफ्नो अक्षमतालाई ढाकछोप गर्ने प्रवृत्ति बढेर गएको छ । प्रतिपक्ष देख्दै देख्दिन भन्दै कम्युनिस्ट सरकारले राजनीतिक भिडन्तको निम्तो बारम्बर दिइरहेको छ । तर, कांग्रेस आफैँभित्रको भिडन्तबाट बाहिर निस्किन सकिरहेको छैन । बरु, उल्टै सर्पको मुखमा परेको भ्यागुतोजस्तै आहारको लागि गुट र फुटमा रमाएर बसेको छ ।

नेपाली कांग्रेसको उदार सोचका कारण विसर्जनको डिलमा पुगेको दक्षिणपन्थी शक्तिको जुर्मुराउन खोजेको छ । पूर्वपञ्चहरुलाई कांग्रेस र कम्युनिस्टले बोकेर पालैपालो प्रधानमन्त्री बनाएका थिए । आज पनि तिनै इतिहासले पन्छाएका पात्र र प्रवृत्तिलाई पार्टीमा भित्र्याउन होड देखिएको छ ।

प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिलाको प्रभुत्व हुनेछ र त्यसको विरुद्ध इमानदार कार्यकर्ताले फेरि एकपल्ट आन्दोलन गर्नुपर्नेछ भन्ने नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको भविष्यवाणी अहिले सही प्रमाणित भइरहेको छ । प्रजातन्त्र त आएको छ तर जनताको जीवन स्तरमा अपेक्षाकृत परिवर्तन भएको छैन । इमानदार, दुःख पाएका कार्यकर्ता पछाडि परेका छन् ।

प्रजातन्त्रपछिका नवधनाढ्य तथा चैते कांग्रेस एवं अवसरवादी, बिचौलियाले पार्टीलाई क्रमशः कब्जा गर्दै लगेका छन् । कांग्रेसको शिर झुकाउने तिनै अवसरवादी दलालले फेरि कांग्रेसको गर्धनमा तरवार चलाउँदैनन् भन्ने विश्वास गर्न सकिँदैन । त्यसैले इतिहासको निर्मम समीक्षाविना १४ औं महाधिवेशनले पनि सार्थक परिणाम दिन सक्दैन ।

अब कस्तो कांग्रेस बनाउने ? चौधौं महाधिवेशनको प्रक्रिया नेपाली कांग्रेसले सुरु गरिसकेको छ । यद्यपि कोभिड— १९ ले महाधिवेशन प्रक्रियालाई अवरुद्ध पनि गरेको छ । आगामी फागुन ७—१४ गते महाधिवेशन गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । यसका लागि बाँकी पार्टी समायोजन र क्रियाशील सदस्यता वितरण साउनभित्र गरिसक्नु पर्नेथियो । चार वर्षको कार्यकाल रहेको नेपाली कांग्रेसको विधानअनुसार असामान्य अवस्थामा १ वर्ष पदावधि थप्न पाउने वैधानिक व्यवस्था यही फागुणमा सकिँदैछ । अब संकटकालीन अवस्थामा थप्न सक्ने ६ महिनाबाहेक अरू वैधानिक व्यवस्था छैन । अर्कातिर, नेपाली कांग्रेसको महाधिवेशन कोरोना महामारीमा निर्भर हुँदैगएको छ ।

जेहोस्, १९९७ सालमा गठन भएको प्रजापरिषद्पछिको देशको सबैभन्दा जेठो पार्टीको महाधिवेशनको चासो र चिन्ता सर्वत्र हुनु स्वभाविकै हो । मूलतः महाधिवेशन पार्टीको अद्यावधिक समीक्षा गर्ने र भावी नीति, योजना तथा कार्यक्रम तर्जुम गर्ने थलो पनि हो । एउटा सफल महाधिवेशनको नीति कार्यक्रमले पार्टीलाई दशकौंपछि सम्म जीवित राख्छ । तर, विचार मन्थन छोडेर भागबण्डामा रमाएजस्तो महाधिवेशनले भने सार्थक परिणाम दिन सक्दैन ।

लोकतन्त्रमा पहरेदार मानिने प्रेसले सरकारका कुकृत्यहरू उदांगो पारेको छ । तर, सरकारका अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्ने दायित्वबाट विमुख भएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिकालाई औंल्याउन पनि छोडेको छैन । नेपाली कांग्रेसका नेता भने कम्युनिस्ट सरकारको असंवैधानिक, अलोकतान्त्रिक कार्य तथा अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्नेभन्दा पनि पार्टीका असहमत पक्षको तेजोबध गर्ने कार्यमा समय खेर फालिरहेको छ ।

सभापति असफल तर केन्द्रीय कार्य समिति सफल त हुनसक्दैन । अवश्य पनि जस, अपजसको भार व्यक्तिगतरुपमा सभापतिका भागमा धेरै पर्छ तर केन्द्रीय कार्य समिति पनि समग्रमा पार्टीको असफलताको दोषबाट उन्मुक्त हुँदैन । मौका पाइसकेका नेताको क्षामताको परीक्षण गुट र उपगुटको आधारमा होइन कार्य क्षमताको आधारमा हुनुपर्दछ । त्यसैले नीतिको बहस छोडेर व्यक्तिको प्रतिस्थापनमात्रले सार्थक परिणाम दिन सक्तैन ।

स्वयं वीपीले पनि आफूलाई समय सापेक्ष परिमार्जन गर्नुभएको थियो । जोत्नको लागि एक हल गोरु, दुध खाने एउटा गाई, शिक्षा, स्वास्थ्य र कम्तिमा खान पुग्ने जग्गाको नारा दिने बीपीको तत्कालीन क्रान्तिकारी कार्यक्रमलाई आजको परिवर्तनसँग निरपेक्ष भएर मूल्यंकन गर्न सकिँदैन । कांग्रेसले बीपीलाई त नबिराई सम्झिन्छ तर उनको गतिशील, परिवर्तनकामी आचार र विचारलाई पछ्छ्याउँदैन ।

आर्थिक प्रश्नमा आफूलाई माक्र्सवादी भन्न नहिच्किचाउने बीपीले राष्ट्रियताका सबालमा ‘राजासँग आफ्नो घाँटी जोडिएको’ भन्नसमेत पछि परेनन् । किनभने, तिनताका भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले छिमेकी मास्ने विस्तारवादी नीति लिएकी थिइन् । उन्ले राजा र बीपीलाई मिल्न नदिने रणनीति अख्तियार गरेकी थिइन् । तत्कालीन निरंकुश राजाको शासकीय महत्त्वाकांक्षा प्रकारान्तरले भारतीय प्रधानमन्त्रीको अभिष्टसँग मेल खाँदा मुलुकको राष्ट्रियता नै गुम्ने अवस्थाबाट बीपी अनभिज्ञ थिएनन् ।

असहमतिको स्वीकृति लोकतन्त्रको सार हो । भनिन्छ, लोकतन्त्रमा एउटै पार्टीमा अनेकौं पार्टी हुन्छ । आज त्यस्तै भइरहेको छ । नेपाली कांग्रेस फुटेर दुइटा पार्टी बन्यो तैपनि गुट, उपगुट सकिएन । जतिसुकै साना पार्टी भए पनि नेपालका कम्युनिस्ट पार्टीलाई गुट र फुटबाट कसैले उछिन्न सकेको छैन । भलै नेकपा फुटको संघारमा पुगेर इतिहासको कटु सत्यलाई बदल्न खोज्दै छ ।

अरुणा लामाको गीत सापटी लिएर ‘‘यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’’ भन्ने पुष्पकमल दाहालको मन प्रधानमन्त्री नछोडेसम्म ओलीले टाल्न सक्ने छैनन् । समयलाई हाँक दिँदै परिवर्तनशील युवाको पार्टी भएको दाबी गर्ने विवेकशील साझा पार्टी पनि गुट र फुटबाट बचेन ।

नेपाली कांग्रेसमा स्थापनादेखि नै गुटहरु थिए । बीपी र मातृका दाजुभाइकै गुट थिए । कोइराला परिवारले जतिसुकै एकताको नारा लगाऐ पनि शशांक, शेखर, सुजाता कोइराला आआफ्नै गुट विस्तारमा लागिपरिरहेकै छन् । गुटकै कारण मातृकाप्रसाद कोइराला २००८ सालमा बीपीलाई उछिनेर प्रधानमन्त्री बने । बीपी र सुवर्णका अनुयायीसमेत गुटमा विभाजित भएका थिए । उनीहरुकै उत्तराधिकारी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पनि खुलेरै गुटगत राजनीतिलाई निरन्तरता दिए ।

गुटकै अस्वस्थ प्रतिस्पर्धाले कहिल्यै नमेटिने गरेर छत्तीसे र चौहत्तरेको जन्म भयो । नेपाली कांग्रेसको ओरालो यात्रा त्यहीँबाट सुरु भएको थियो । हुदाहुँदै अन्तर्घातले क्षुब्ध कृष्णप्रसाद भट्टराईले गिरिजाबाबुको गुट फुटाएर शेरबहादुर देउवालाई आफ्नो उत्तराधिकार सुम्पिए । अस्वस्थ गुट र अहंकारको कारण नेपाली कांग्रेसले २०५१ सालमा बहुमत गुमायो । विसं २०५१ को उपनिर्वाचनपछि प्रोत्साहित अन्तर्घातले आज उप्रान्त कांग्रेस थला परिरहेको छ । विपक्षी दलसँगभन्दा आफ्नै पार्टीको अन्तर्घातबाट हार्नुपर्ने अभिशप्त इतिहासको शिकार नेपाली कांग्रेस पटक, पटक भइरहेको छ ।

त्यसैले परम्परादेखि चल्दै आएको गुट अब गुटमा सीमित नभएर गिरोहमा परिणत हुँदै गएको छ । आफ्नै पार्टीको उम्मेदवारलाई हराउने, निषेध गर्ने, असहमत पक्षलाई सिध्याउने अमानवीय सोच र क्रियाकलाप नै गिरोहवादी मानसिकताको उपज हो । पार्टी एउटै कार्यक्रम अलग्गै, खानपिन, बसउठ, बोलचालसमेत नगर्ने प्रवृत्तिले पार्टीलाई धरशायी बनाउँदै लगेको छ । केन्द्रको गुटबन्दी अब वडा तहसम्मै फैलिँदै गएको छ ।

नयाँ साथीहरुको प्रवेशमा समेत गुटगत छायाँ देखिनु अशोभनीय विषय हो । अब कांग्रेसमा भन्दा पहिले गुटप्रति प्रतिबद्ध हुनुपर्ने संस्कृतिले पार्टीलाई कहाँ पुर्याउला ? संस्थागत र सैद्धान्तिक प्रशिक्षणविनाकै प्रवेशीको लावा लस्करले पार्टीलाई कुनै ऊर्जा दिँदैन । भनिन्छ, एउटै सिद्धान्त र विचारको नाता रगतको भन्दा गहिरो हुन्छ । त्यसैले विचारको लागि मानिस मर्न तयार हुन्छ ।

दाहालका कैयौं अपराध छिपेका छैनन् तर माओवादी विचारका लागि हजारौं मानिसलाई मर्न, मार्न तयार गर्नु सानो कुरा थिएन । यसको अलग्गै विश्लेषण गरौँला । अहिले उदेकलाग्दो के छ भने आफ्नै भविष्य सुरक्षित गर्ने महाधिवेशनलाई नेपाली कांग्रेसका साथीहरुले जीवन, मरणको सवाल बनाइरहेका छन् । ‘कहाँ पोखियो दूध भाग’मा भन्ने उक्तिझैं पार्टीभित्रको अधिवेशन हो, जस्ले जितेपनि कांग्रेसले जित्ने हो भन्ने भावना नआएसम्म पार्टीले ऊर्जा हासिल गर्न सक्तैन ।

अधिवेशन जसरी नै कांग्रेसीलाई देशको चुनाव लागेको भए निश्चय नै पार्टीले यो दुर्दिन भोग्नुपर्ने थिएन । टिकट नपाउँदैमा राजनीति सकिएको भन्ने अन्तर्घातीको उजुरी पार्टी कार्यालयमा थुप्रिएका छन् । सबै जिल्लामा जितोस् तर आफ्नै जिल्लामा चाहिँ हारोस् भन्ने् आत्माघाती भावनाले अन्ततः धेरै निर्वाचन क्षेत्र गुमाउनु परेको थियो । पार्टीको हितका लागि एक कदम अघि वा पछि गर्न सबै तयार हुनुपर्ने हो ।

परन्तु, सकिएकै पार्टी पनि आफैँ कब्जा गर्ने आत्मघाती मानसिकताले अहिले काम गरिरहेको देखिन्छ । गुटको नाममा योग्यको गला रेट्ने महाधिवेशनले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने काम त हुने हैन ? प्रश्न जटिल हुँदै गएको छ ।
(लेखक रत्नबहादुर कार्की नेविसंघका पूर्व उपाध्यक्ष तथा रामेछाप बाट प्रदेश सभा प्रत्याशी हुनुहुन्छ)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*