कोरोना सङ्क्रमितको अनुभव: आफ्नो रक्षा आफै गरौँ, सरकारको दुरगामी योजना छैन

जनतालाई घरभित्र थुन्दैमा कोरोना नियन्त्रण हुन्छ र?
आवाज खबर
१२ भाद्र २०७७, शुक्रबार १८:१२

काठमाण्डौ – छ महिना अघिसम्म नेपालीलाई लागेको थियो, नेपालमा कोरोना आउँदैन । आए पनि धेरै दिन टिक्दैन । नेपालीको रोग प्रतिरोधी क्षमताको सामु कोरोना भाइरसको केही लाग्दैन । अरुले मात्रै हो र ? डाक्टरहरु पनि यसो भन्थे । तर सबैको अनुमान र विश्लेषण फेल खायो । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने गरी अहिले कोरोनाको ग्राफ दिनदिनै उकालो चढ्दैछ ।

कोरोनाको जोखिम घट्नुको सट्टा बढ्दै गएको यो बेला के गर्ने त ? कोरोनासँग लुक्ने कि मुकाबिला गरेर अगाडि बढ्ने ? एकथरी भन्छन्, अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ । लुकेर होइन, जुधेर अगाडि बढ्नुपर्छ । कोरोना भनेको रुघाखोकी जस्तै हो, यसबाट बच्दै आफ्नो दैनिकी चलाउनुपर्छ । तर अर्काथरी भन्छन्, कोरानाबाट बच्न सकेसम्म घरभित्रै बस्नु नै राम्रो हुन्छ । सामान्य दैनिकीमा फर्कन हतार गर्नु हुँदैन, पहिले स्वास्थ्य अनिमात्र अरु कुरा ।

विज्ञहरुकै कुराबाट बुझिन्छ, कोरोना भाइरसको स्वभाव प्रष्ट छैन, त्यसैले विज्ञहरु पनि अस्पष्ट छन् । कोरोनाबारे विज्ञहरुले नै धेरै कुरा बुझ्न बाँकी छ, त्यसैले नागरिकले धेरै बुझ्ने कुरै भएन । कोरोनासँग जुध्न ठोस योजना बनाएर अघि बढ्नुपर्ने सरकार न त पहिले प्रष्ट थियो, न अहिले छ । बरु सङ्क्रमण बढ्दै जाँदा सरकारको अस्पष्टता र अलमल झन् झन् थपिँदैछ ।

घरभित्र थुन्दैमा खै त भएको ?

कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले एक सय २० दिन देश लकडाउन गर्‍याे । सुरुमा सात दिनको लागि लकडाउन घोषणा गर्दा धेरैले ठाने एक हप्ता घरभित्र बसेपछि कोरोना भाग्छ, त्यसपछि अवस्था पहिले जस्तै हुन्छ । त्यसैले सुरु सुरुमा सबैले लकडाउनको मज्जा लिए । तर सुरुमा एक हप्ताको लागि लागेको लकडाउन अर्को एक हप्ता, १० दिन, १५ दिन हुँदै एक सय २० दिनसम्म लम्बियो । त्यसपछि सबैलाई उकुसमुकुस भयो ।

सधैँ घरभित्रै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो । सरकारले पनि कोरोना सङ्क्रमण कम हुन थाल्यो भनेर लकडाउन खोल्यो । तर आर्थिक क्रियाकलाप चलायमान बनाउन भन्दै लकडाउन हटाएको सरकारले फेरि निषेधाज्ञा लगाएको छ । रोकथाम र नियन्त्रणका प्रभावकारी उपाय अपनाउँदै कोरोनासँग जुध्नभन्दा सबैलाई घरभित्र थुन्न नै सजिलो हुने भएकाले सरकार यही नीतिअनुसार अगाडि बढेको छ । अहिले काठमाण्डौ उपत्यकासहित ५० जिल्लामा निषेधाज्ञा लागेको छ ।

सरकारको काम र तयारी हेर्दा लाग्छ, मान्छे घरभित्र बसेपछि कोरोना आफै भाग्छ । लकडाउन र निषेधाज्ञाको बेलामा सरकारले कोरोनाको रोकथाम र नियन्त्रणको लागि खासै काम गरेन । निषेधाज्ञाका कारण अनावश्यक हिँडडुल त रोकियो तर परीक्षण नहुँदा जोखिम उस्तै छ ।

सङ्क्रमित व्यक्तिलाई घर र समुदायमा छोडेर रोग नियन्त्रण हुँदैन । जोखिमयुक्त क्षेत्र, स्थानीय किराना पसल तथा अत्यावश्यक सेवा दिने कार्यालयमा परीक्षण बढाएर जोखिम कम गर्न सकिन्छ । तर निषेधाज्ञाको समयमा समूहगत परीक्षण नै भएको छैन ।

सङ्क्रमितको पहिचानसँगै आइसोलेशन निर्माण, अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन लगायत अत्यावश्यक काममा पनि सरकारको ध्यान गएको छैन । न लकडाउन र निषेधाज्ञाले कोरोनाको जोखिम घटेको छ, न त कोरोनाकै बीच जनजीवन चलायमान बनाउने अवस्था छ । कोरोनाबाट लुकेर र भागेर पनि सकिँदैन, कोरोनासँग जुध्न पनि गाह्रो छ भन्ने अहिलेको अवस्थाले देखाएको छ ।

एक्लिँदा मानसिक रोग, जमघट हुँदा कोरोना

कोरोनाबाट बच्न साबुनपानीले हात धुनुपर्छ, बाहिर निस्कँदा मास्क लगाउनुपर्छ र अरुबाट टाढा बस्नुपर्छ भन्ने कुरा अब सबैलाई थाहा भइसक्यो । त्यसो त हात धुने र मास्क लगाउने बानीले कोरोना मात्रै होइन अरु रोग पनि घटाएको हुनुपर्छ । तर जमघटबाट टाढा र भौतिक दुरी कायम गर्नुपर्ने बाध्यताले धेरैलाई मानसिक समस्या पनि थपेको छ । कोरोना सङ्क्रमणबाट बच्न क्वरेण्टीन र आइसोलेशनमा एक्लै बस्दा उदास र निराश हुनेहरु बढेका छन् । लकडाउन र निषेधाज्ञाले एक्लोपना बढाएको छ ।

परिवार, आफन्त र साथीभाइसँगको जमघटले एक्लोपना हटाउन मद्दत पुग्छ । हौसला र आत्मबल बढ्छ । तर कोरोनाका कारण भेटघाट र जमघट हराउँदा धेरै मानिस एक्लोपनको सिकार हुँदैछ । अझ बुढाबुढी मात्रै भएका घरमा ठूलो समस्या छ । घरबाट टाढा रहेका परिवारका सदस्य कोरोनाको डर र निषेधाज्ञाका कारण पहिलेजस्तो बुढा बाआमालाई भेट्न जान सकेका छैनन् । अरु आफन्त र इष्टमित्र त झन् जाने कुरै भएन । धेरै दिनदेखि एक्लै हुँदा वृद्धवृद्धामा निराशा र मानसिक स्वास्थको समस्या बढेको छ ।

स्कुल, कलेज जान नपाउँदा बालबालिका र किशोरकिशोरीलाई पनि उस्तै समस्या छ । काम गुमाएकाहरुमा त झन् बढी डिप्रेसन छ । कतिपयले आत्महत्या गरेका छन् ।

बेलाबेला आउने चाडपर्व र काजकर्मले पारिवारिक जमघट बढाउन तथा एक्लोपना हटाउन मद्दत पुग्थ्यो । तर कोरोना र रोकथामका नाममा भएको लकडाउन र निषेधाज्ञाले त्यो सबै असम्भव जस्तै बनाइ दियो । चैतदेखि अहिलेसम्मका धेरै काजकर्म, चाडपर्व, जात्रामात्रा र मेलापात रोकिए । नजिकिँदै गरेको ठूलो चाड दशैँ र तिहार पनि खल्लो हुने पक्का छ । जमघट हुँदा कोरोनाको डर, धेरै दिनसम्म जमघट र भलाकुसारी नहुँदा मानसिक बेचैनीले हाम्रा दिनहरु थिचिन थालेका छन् ।

सङ्क्रमितलाई कस्तो व्यवहार गर्ने भन्ने अन्योल

सङ्क्रमितबाट टाढा हुने कि नजिक ? यसमा पनि धेरै जना अलमलमा छन् । नजिक हुने कुरै भएन, सर्न सक्छ । तर टाढा हुन पनि मिलेन, किनकि यो बेला सङ्क्रमितलाई परिवार, आफन्त र छरछिमेकीको आड र भरोसा चाहिन्छ । तर सङ्क्रमितको नजिक हुन अझै धेरै डराउँछन् ।

कतिपय ठाउँमा त भेदभाव र दुर्व्यवहार पनि भइरहेको छ । स्वास्थ्य मन्त्रालय सङ्क्रमितलाई भेदभाव नगरौं पनि भन्छ अनि जो कोही पनि सङ्क्रमित हुन सक्छन्, होस गर्नुहोस् पनि भन्छ । अर्थात् जो कोहीलाई पनि सङ्क्रमितको नजरले हेर्नुपर्छ । हुन पनि हो, आफ्नै घरका मान्छे, सँगै काम गर्ने सहकर्मी र बाटोमा भेट हुने जो कोही पनि सङ्क्रमित हु्न सक्छन् । सजग हुनुपर्छ । तर सजग कतिसम्म हुने भन्ने धेरैलाई अलमल छ । कसैले वास्तै गरेका छैनन्, कोही चाहिनेभन्दा धेरै तर्सिएका छन् ।

सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न भनेको छ । अस्पतालमा राख्ने ठाउँको अभाव छ । त्यसमाथि घरमा बस्दा मनोबल बढ्ने सरकारको भनाइ छ । तर काठमाण्डौ लगायतका शहरमा एउटा कोठामा भाडामा लिएर बसेको मान्छे कसरी होम आइसोलेशनमा बस्नु ?

होम आइसोलेशनमा बस्न नचाहनेका लागि व्यवस्था गर्ने सरकारले जनाएको छ । तर काठमाण्डौमा आइसोलेशन नै बनेको छैन । आइसोलेशन मात्रै होइन, गम्भीर बिरामीलाई उपचारको लागि आईसीयू र भेन्टिलेटर पनि पुग्दाे मात्रामा छैन । सङ्क्रमित बढ्दै जाँदा यी सबै अत्यावश्यक पूर्वाधार कसरी जुटाउने भन्नेमा सरकार अहिलेसम्म पनि अलमलमै छ ।

सबै अस्पतालमा कोरोना पुग्ने डर, कोरोना बाहेकका बिरामी कहाँ जाने ?

कोरोनासँग लुकेर र भागेर पनि जिन्दगी नचल्ने । जुधेर अघि बढ्न पनि आँट नआउने ।

देशभरका सबै अस्पताल अब कोरोनाले भरिने डर बढेको छ । पहिले निजी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना देखियो भने सरकारी अस्पतालको आइसोलेशनमा पठाउने गरिन्थ्यो । अहिले निजीले पनि २० प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारमा छुट्याउनुपर्ने भएको छ ।

सरकारको यो निर्णयका कारण जहाँ जहाँ अस्पताल, त्यहाँ त्यहाँ कोरोनाका बिरामी पुग्ने कुरा सुनिश्चित नै छ । यस्तो बेला अरु रोगका बिरामीले उपचारको लागि अस्पताल जाने कि नजाने भन्ने अलमल भएको छ ।

सरकार र भाइरसको भर छैन, आफ्नो रक्षा आफै गरौँ

एकातिर कोरोना भाइरसको प्रकृति र स्वभावका कारण सकेसम्म घरभित्र र एक्लै बस्नुपर्ने बाध्यता छ । अर्कोतिर सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि प्रभावकारी काम गर्न सकेको छैन । फलस्वरुप नेपालमा कोरोनाबाट निको हुने दर सार्कमै सबैभन्दा कम देखिएको छ । बचाउन सकिने उमेर समूह पनि जोखिमको खतरामा छ ।

सङ्क्रमित र उनीहरुका परिवार त चिन्तामा छन् नै । कोरोनाबाट बच्न भरमग्दुर प्रयास गरिरहेकाहरु पनि अलमलमा छन् ।

एकातिर रोगको डर, अर्कोतिर भोकको । कोरोनासँग लुकेर र भागेर पनि जिन्दगी नचल्ने । जुधेर अघि बढ्न पनि आँट नआउने । भरथेग र आँट दिनुपर्ने सरकार अलमलमा छ ।

यस्तो बेला के गर्ने त ? कोरोना सङ्क्रमितले अनुभवका साथ भन्न थालेका छन् – कोरोनाविरुद्ध सरकारको दुरगामी सोच र योजना छैन, आफ्नो रक्षा आफै गरौँ ।

मिलन तिमिल्सिना- उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*