नेकपा विवाद मिलाउन राष्ट्रपतिको सक्रियता

यान्छीको पनि दौडधूप
आवाज खबर
१ श्रावण २०७७, बिहीबार १२:१३

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एक्लाएक्लै वार्ताले निकास दिन नसकेपछि बिहीबार माधव नेपालसहितको बैठक बस्दैछ ।

बुधबार दुई अध्यक्षको छलफलको अन्त्यतिर पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । उनीहरूसमेतको छलफलले निचोड निकाल्न नसकेपछि आजको बैठकमा नेपालसमेत सहभागी हुन लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

“आज तीन जना नेता बस्दै हुनुहुन्छ । निकास निकाल्नुहोस् भनेर हामीले दबाब दिइरहेका छौं । सबै पक्ष गम्भीर बने निकास परको कुरा होइन,” गजुरेलले बाह्रखरीसँग भने, “राष्ट्रको समस्या, मुलुकबासीको चाहना र अहिलेको वस्तुगत आवश्यकता लाई ध्यानमा राख्ने हो भने निकास निस्कन्छ ।” स्रोतका अनुसार बिहीबारको छलफलमा नेता नेपाललाई राख्न प्रचण्डले नै जोडबल गरेका थिए ।

दुई अध्यक्ष एक्लाएक्लै बस्ने निकास ननिस्कने तर बाहिर सन्देशचाहिँ दुई अध्यक्ष ‘चोचोमोचो’ मिलाउँदैछन् भन्ने गएपछि प्रचण्ड झस्किएका थिए । उनले केही दिनअघि नै संवादमा नेता नेपालाई जोड्न खोजेका थिए तर, ओलिले रुचि देखाएका थिएनन् । बिहीबारको छलफलको लागि बालुवाटारबाट नै बोलावट भएको नेता नेपाल पक्ष बताउँछ ।

“प्रचण्डले यसअघि नै माधव नेपाललाई समेत सहभागी गराउनुपर्छ भनेर जोड दिँदै आउनुभएको थियो । तर, ओलीले खासै रुचि देखाउनुभएको थिएन । बुधबार बालुवाटारबाटै खबर गएको थियो,” नेपाल निकट स्रोत बताउँछ ।

विषय जहाँको तहीँ

बुधबारसम्म ६ पटक ओली प्रचण्ड एक्लाएक्लै वार्तामा बसेका छन् । दुई दिनमात्रै अरू नेता बैठकमा सहभागी थिए । दुई अध्यक्षबीच विषयमा टेकेर विभिन्न विकल्पमाथि छलफल भएको छ । यसबीचमा प्रचण्डले बहुसङ्ख्यक स्थायी कमिटी सदस्यको माग र आवाजलाई ध्यानमा राखेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडिदिन आग्रह गरेका छन् तर ओली पुरानै रटानमा छन् ।

उनले आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष, पार्टी संसदीय दलले प्रधानमन्त्रीमा प्रस्ताव गरेको र संसदले अनुमोदन गरेकाले स्थायी कमिटीले राजीनामा माग्दैमा नदिने अडान दोहोर्‍याउँदै आएका छन् । तर, ओलीलाई तत्कालीन एमाले स्थायी कमिटीले संसदीय दलको नेतामा प्रस्ताव गरेको र त्यही निर्णयमा टेकेर दलले अनुमोदन गरेकाले अहिले पार्टीको निकायलाई अधिकार छैन भन्नुको कुनै अर्थ नरहेको प्रचण्ड–नेपाल पक्षको मत छ ।

प्रचण्डले यसैमा टेकेर प्रधानमन्त्री ओलीलाई स्थायी कमिटीको भावनाअनुसार राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । यहीँनेर गाँठो नफुकेको प्रचण्डनिकट स्रोत बताउँछ । स्रोतका अनुसार ओलीले यसबीचमा विभिन्न विकल्प अघि सारेका छन् । उनले प्रचण्डलाई छिटो महाधिवेशन गरेर एकल अध्यक्ष लिन प्रस्ताव गरेका छन् ।

त्यस्तै नेता नेपाललाई तेस्रो अध्यक्षसमेत प्रस्ताव गर्न भ्याएका छन् । उनले पार्टीको त्रिशङ्कु संरचनाअनुसार सबैको शक्ति सन्तुलन हुनेगरी मन्त्रिपरिषद् पुनःगठन, बेवारिसे बन्न पुगेका यसअघिका निर्णयहरूको इमान्दारीपूर्वक कार्यान्वयन र केन्द्रीय कमिटी (माघ १५–१९)को निर्णयअनुसार तीनै तहमा सरकार सञ्चालन गर्न संयन्त्रको गठन, नेपाल पक्षको चित्त बुझाउन दुई प्रदेशका मुख्यमन्त्री हेरफेरलगायतका आधा दर्जन विकल्प अघि सारेका छन् ।

प्रचण्ड–नेपालसहितको समूहले ओलीबाट सरकार र पार्टी दुवै नचल्ने निष्कर्ष निकालिसकेका छन् । उनीहरूले ओलीलाई दुवै पदमा कायम राखे पार्टी ‘रुट आउट’ हुने खतरा देखेका छन् । ओलीसँगको वार्तामा प्रचण्डले यही निष्कर्ष सुनाउँदै आएका छन् ।

राष्ट्रपति फेरि सक्रिय

पार्टीभित्रको विवाद सघन बनेपछि शीतल निवास सक्रिय भएको छ । स्थायी कमिटी बैठकयता राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई तीनपटक भेटवार्ता गरिसकेकी छन् । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाईसमेत शीतल निवासमा बोलाएर छलफल गरेकी छन् । मिलेर अघि बढ्न सुझाव दिएकी छन् ।

गत शनिबार नेता नेपाललाई छुट्टै बोलाएर छलफल गरेको स्रोतको दाबी छ । शनिबार पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसमेतलाई लिएर शीतल निवास पुगेका नेता नेपाललाई विभिन्न विकल्पसमेत देखाएर मिल्न दबाब नै दिएकी थिइन् । ओली र नेता नेपाल नमिले पार्टी बरबाद हुने भन्दै तिक्तता त्यागेर मिल्न भनेकी थिइन् । तर, राष्ट्रपतिसँगको भेटमा नेता नेपालले विधि, पद्धतिकै पुराना कुरा दोहोर्‍याएको उनी निकट नेता बताउँछन् ।

“राष्ट्रपति भण्डारीले अहिले तेस्रो अध्यक्ष मानेर जान र महाधिवेशनपछि पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादसहित पार्टीको नेतृत्व लिन अनुरोध गरेको बुझेका छौं । तर, नेता नेपालले अहिले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै बन्न नखोजेको र बरु ओलीले विधिको पालना नगरेकाले समस्या निम्तिएको कुरा राख्नुभयो,” स्रोतको दाबी छ ।

बरु नेता नेपालले राष्ट्रपतिलाई ओलीलाई सम्झाउन आग्रह गरेका थिए । अध्यादेश ल्याउने र पार्टी विभाजन गर्नेतिर नलागुन् भन्ने भावनाले नेता नेपालले भनेको कुरा स्रोतले उद्धृत गर्‍यो, “अहिलेको परिस्थितिअनुसार ओली दुवै पदमा बस्न उपयुक्त छैन । प्रधानमन्त्रीजीलाई सम्झाइदिनुहोला ।”

यसबीचमा नेता नेपाललाई महासचिव विष्णु पौडेलसमेतले भेटेका छन् । उनले पनि पार्टी बरबाद हुने भयो, नेताहरू नमिल्दा पार्टी र आन्दोलनलाई क्षति पुग्ने भयो, समन्वकारी भूमिका खेल्नुपर्‍यो भन्दै मिलेर जान आग्रह गरेका थिए । महासचिव पौडेलको हैसियतलाई राम्ररी बुझेका नेता नेपालले धेरै कुरा सुनेको र ठोस जवाफ नदिएको स्रोतको दाबी छ ।

“महासचिव पौडेलसँग बढ्ता भावनात्मक कुरा भयो । पार्टीभित्रको विवाद मिलाउने सन्दर्भमा महासचिव पौडेलले कुरा बुझ्ने मात्रै हो । उहाँका कुरा पनि ओलीले खाने होइन,” स्रोत भन्छ ।

यान्छीको पनि दौडधूप

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सघन बनेपछि पछिल्ला केही हप्ता चिनियाँ राजदूत होउ यान्छीको पनि सक्रियता बढ्यो । उनले राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्ष प्रचण्ड, नेता खनाल र नेपाल सबैसँग शिष्टाचार भेट गरेकी छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश प्रवाह गरेकी छन् ।
गत आइतबार नेता नेपाललाई निवासमा भेट्न पुगेकी यान्छीले आफूले सत्तारूढ दल नेकपा एकताबद्ध होस् भन्ने चाहेको भन्दै कूटनीतिक भाषामार्फत मिल्न सुझाव दिएकी थिइन् ।

“हामी नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध होस् भन्ने चाहन्छौं भन्दै मिलेर जान सुझाव दिएकी थिइन् । शिष्टाचार भेट, कूटनीतिक वार्तालापमा अरू धेरै कुरा त के हुन्छ र ?,” नेता नेपालनिकट स्रोत भन्छ । स्रोतका अनुसार राजदूतमार्फत चीनले प्रधानमन्त्री ओलीलाई शक्ति बाँडफाँड गरेर भए पनि अहिलेको सङ्कट टार्न सुझाव दिएको छ ।

स्थायी कमिटी पुनः एक हप्ता धकेलिन सक्ने

प्रचण्ड–नेपाल समूह ओलीलाई दुवै पदबाट हटाउनुपर्छ भन्नेमा एकमत छन् । स्थायी कमिटीका अधिकांश सदस्यहरूको पनि यही मत रहेकाले यसपटक पछि हट्नुहुँदैन भन्ने नै उनीहरूको निचोड रहेको एक नेता बताउँछन् । एकपछि अर्को विवादित अभिव्यक्ति, सरकारको काम प्रभावकारी नरहेको र पार्टीका निर्णय बेवारिसे बन्न थालेपछि आजित भएका स्थायी कमिटी सदस्यको दृष्टिमा यसपटक परिस्थिति परिपक्व पनि बनेको छ ।

स्थायी कमिटी बैठक पटकपटक धकेलिएपछि बुधबार वैशाख १० गते बैठकको माग गर्दै हस्ताक्षर बुझाउनेमध्ये १७ जनाको अनौपचारिक भेला सिंहदरबारमा बसेको थियो । त्यसको निष्कर्ष पनि ओलीबाट अब पार लाग्दैन, अब विवादित अभिव्यक्ति थेग्न सकिँदैन भन्ने नै रहेको एक नेताले बताए । “अयोध्या प्रकरणपछि भारतसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ । अब यसरी प्रधानमन्त्री झेल्न सकिँदैन भन्ने नै अधिकांशको निष्कर्ष रह्यो,” ती नेताको भनाइ छ ।

तर, प्रचण्ड–नेपाल आँट गरिहाल्ने पक्षमा छैनन् । एक स्थायी कमिटी सदस्यका अनुसार भोलि (साउन २) गतेका लागि तय भएको बैठक पनि धकेलिने सम्भावना छ । प्रचण्ड–नेपाल अझै एक हप्ता पर्ख र हेरको अवस्थामा रहेकाले बैठक सुचारु हुनेमा शङ्का गर्छन् उनी । “बैठक एक हप्ता धकेलिन सक्छ,” ती सदस्य भन्छन् ।
स्रोत:बाह्रखरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*