जापानमा बाढीको कारण ७ जनाको मृत्यु (तस्बिर सहित)

१५ जना भन्दा बढी बेपत्ता
आवाज खबर
२१ असार २०७७, आईतवार ११:४९

जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक वर्षासँगै आएको बाढीका कारण ७ जनाको मृत्यु भएको छ। साथै १५ जना भन्दा बढी बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार वर्षासँगै बाढी, पहिरो र डुबानका कारण अरू सयौं व्यक्ति प्रभावित भएका हुन् । कतिपय व्यक्ति घर डुबानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।

करिब ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोतो र कागोसिमा क्षेत्रमा डुबानमा परेर पोखरीजस्तै भएका छन् । डुबानमा परेकालाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । स्थानीय क्योदो न्युजले कम्तीमा १५ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ ।

अधिकारीहरूले खोजी तथा उद्धार जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण यकिन गर्न नसकिएको बताएका छन् । प्रधानमन्त्री सिन्जो आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरूलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताएका छन् ।

स्रोत:क्योदो न्युज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*