‘कोरोना भगाउने कार्ड’ को विषयमा नेताहरु नै बुझ्दैनन्, जनताले के सिक्छन?

ठूलो विज्ञापन गर्न सफल
मुक्ति सुबेदी
१३ असार २०७७, शनिबार १३:३७

‘कोरोना भगाउने कार्ड’ किनेर संसदहरु प्रतिनिधि सभाहल छिरे। कोरोना भन्दा पनि कुनै पनि भाइरसलाई आउन नदिने भनेपछि कार्ड किनेर लगाएको उनीहरुले स्वीकार गरे। प्रधानमन्त्रिले बेसार खाएपछि कोरोना नलाग्ने बताइरहदा अहिले भने कोरोना भगाउने जन्तरको कुरा चर्चामा आइरहेको छ। क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको, पीसीआर परीक्षणमा कमी ल्याइएको भनेर सरकारको आलोचना भइरहेका बेला सत्तारुढ दलका सांसदहरू भने भाइरस रिमुभिङ कार्ड भिरेर हिँडिरहेका छन् ।

यस विषयमा आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन भने नेताहरु यस्तो भ्रमको पछि लाग्दा सामाजिक संजालमा आक्रोशित देखिन्छन। उनले एउटा फेसबुक स्टाटासमा लेखेका छन्, यस्ता कार्डले कोरोना भगाउने भए किन संसारै भर लकडाउन गर्नु पर्थ्यो? किन अरबौं खर्च गरेर कोरोनाको औषधी बनाउने प्रयास गर्नुका साथै कोरोना लाई फैलिन नदिन अनेकौं उपायहरु अपनाउनु पर्थ्यो? कोरोना भगाउने यति सजिलो र सस्तो उपाय भएको भए किन अहिले सम्म ९७ लाख मान्छेहरु संक्रमित हुनुपर्थ्यो र किन झन्डै ५ लाख मानिसहरुले ज्यान गुमाउनु पर्थ्यो?

उनि थप्छन, नेपालको संसद भवनकै अगाढी सांसदहरुले नै यी कार्डहरु किन्नु र त्यसैलाई बिश्वास गरेर छातीमा जन्तर भिरे जस्तै भिरेर हिड्नु भनेको दुर्भाग्यपूर्ण कुरा हो र देशको लागि यो राम्रो संकेत होइन | यसले हाम्रो देश हाँक्ने धेरै नै नेताहरुलाई ज्ञान, विज्ञान, प्रविधिको बारेमा र कोरोना रोगको बारेमा शुन्य ज्ञान नै रहेछ भन्ने कुरा प्रष्ट संग देखाउंछ | नेपालमा विज्ञान र प्रविधिको बिकास नहुनुको प्रमुख कारण पनि यहि भएको प्रष्ट पारेका छन्। एउटा व्यापारीले दिउँसै रात पारेर ब्यापार गरेको अबस्था हो यो र त्यो पापी व्यापारीलाई हाम्रा नेताहरुले साथ दिएको दु:खद घटना पनि हो। नेता ज्यूहरु, कृपया अलिकति भए पनि बुद्धी लगाउनु होस्! अझैपनि विश्वास लाग्छ भने कोरोना कार्ड भिरे हुन्छ तर मास्क लगाउने, हात धुने, टाढा बस्ने जस्ता काम चाहिँ गर्न नछोड्नुस, फेरि साथीले लैजाला।

कोरोना कार्ड अथवा जन्तरको विषयमा स्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डेको यसो भन्छन:

जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घाटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो | यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ | जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो | यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ | त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ | हंगकंगका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले भनेका छन् यो पुरै भ्रम हो, यसले स्वाशप्रश्वास जन्य भाइरस बाट सुरक्षा गर्दैन |

यसको अध्ययन गर्दा के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन | नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ | क्लोरिन डाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ | यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन | यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ | यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महशुष हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ | जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ |

कोभिड १९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य बस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन | चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो बिज्ञापन गर्न सफल भएको छ | संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन | यो कार्ड धेरै जनाले लगाएर बन्द कोठाभित्र बैठक गर्दा यसको घनत्व उच्च भएर बैठकमा सहभागी अधिकांश व्यक्तिलाई असर गर्न सक्ने सम्भावना धेरै हुन्छ | तसर्थ बैज्ञानिक पुष्टि र अनुसन्धान विना यसको प्रयोग नगरौं |

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*