५ प्रतिशत ब्याज छुट गर्न माग गर्दै व्यवसायी द्वारा ज्ञापन पत्र

(स्याङ्जा)- कोरोना भाइरसका कारण गरिएको लकडाउनबाट व्यापार व्यवसायको क्षेत्रमा नराम्रो असर परेको भन्दै व्यवसायको लागि लिइएको ऋणमा लकडाउनको समय अवधिभर पाँच प्रतिशत ब्याज छुट दिन स्याङ्जाका व्यवसायीहरुले माग गरेका छन् ।
शनिवार स्याङ्जा जिल्लाका उद्योग वाणिज्य संघहरुले सयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै मुलुकका करिब ९० प्रतिशत व्यवसायीहरुले बैंक कर्जाबाट आ–आफ्नो उद्योग तथा व्यापार व्यवसायहरु सञ्चालन गरिरहेको र बिगत ३ महिनादेखिको बन्दाबन्दीका कारण आर्थिक गतिविधिहरु शून्यप्राय स्थितिमा रहेको हुँदा लकडाउन अवधिभरको बैकको सावाँ, ब्याज र किस्ता रकम तिर्न सक्ने स्थितिमा नभएको बताएका छन् । समयलाई शून्य समय मानी लकडाउन अवधिभरको सावाँ, ब्याज र किस्तालाई अन्तिम किस्तापछि अवधि लम्बिने गरी व्यवस्था गर्न तथा लकडाउन अवधिभरको ब्याज रकममा ५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त श्रेष्ठ , वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल र चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणिप्रसाद खनालले सयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञाप्तिमा जिल्ला भित्रका बैंक तथा वित्तीय संस्था र वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले व्यवसायीहरुलाई बारम्बार ताकेता, फोन एवम् घरदैलो गरी आतङ्कित बनाउने गरेकोले सो कार्य तुरुन्त रोक्न जिल्ला प्रशासन कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल सरकारलाई आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनु अघि स्याङ्जा जिल्ला भित्रका व्यवसायी हरु मिलेर असारको ५ र ६ गते वालीङमा बैठक बसेको र उक्त बैठकले ज्ञापन पत्र बुझाउने निर्णय गरेको गल्याङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालले बताउनुभयो।
नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमा निजी क्षेत्रलाई समेत नियन्त्रण गर्ने गरी संशोधन गर्न लागेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै निजी क्षेत्रलाई आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, खाद्य तथा गुण नियन्त्रण लगायतका विभिन्न सरकारी नियमनकारी निकायहरुले अनुगमन तथा नियन्त्रण गरिरहेको सन्दर्भमा व्यवसायीहरुलाई आतंकित बनाउने र निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने किसिमको कदमको बिरोध गर्दै फिर्ता लिनका लागि माग गरिएको छ ।
जिल्लाभित्रका उद्योगी व्यवसायीहरुको पहलमा आन्तरिक राजश्व कार्यालयको करदाता सेवा कार्यालय स्याङ्जा जिल्लामा स्थापना गर्ने निर्णय भएता पनि कार्यालय स्थापनाको प्रक्रिया शुरु नभईसकेको हुँदा शिघ्र कार्यालय सञ्चालनको व्यवस्था मिलाउन र नेपालकै पूरानो राजमार्गको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा रहेको पुल जीर्ण भएका कारण ठूला मालवाहक सवारीसाधन सञ्चालन नहुँदा जिल्लाभित्र वस्तुको दुवानी एवम् उद्योग व्यवसायको विस्तार र मूल्यमा समेत प्रभाव परेको हुँदा छिटो भन्दा छिटो पूर्ण क्षमताको पुल निर्माण गर्न समेत उक्त विज्ञाप्तिमार्फत माग गरिएको छ ।