क्वारेन्टिनको अवस्था सुधार गर्न डब्ल्यूएचओ नेपाल प्रमुखको सुझाव

आममानिस उत्तिकै जिम्मेवार रहनुपर्ने
आवाज खबर
३२ जेष्ठ २०७७, आईतवार १४:४८

पछिल्ला दिनहरूमा नेपालमा सरकारको कोभिड-१९ परीक्षण प्रणाली गतिलो र प्रभावकारी नभएको लगायतका मुद्दा उठाउँदै देशव्यापी आन्दोलन पनि सुरु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आफ्ना सदस्य राष्ट्रका सरकारहरूले महामारी सामना रणनीतिलाई अझ सशक्त बनाउनुपर्ने बताउँदै आएको छ ।

नेपाल सरकारले पनि डब्ल्यूएचओसँग सम्पर्कमै रहेर आफ्नो कामलाई अगाडि बढाइरहेको छ । उनीहरू मात्र होइन, विज्ञहरूले समेत सरकारले केही दिनअगाडि संशोधन गरेको परीक्षण निर्देशिकाबारे प्रश्न उठाएका छन् । भाइरसलाई अझ फैलन नदिनका लागि आम मानिस पनि उत्तिकै जिम्मेवार रहनुपर्ने बताएका छन् ।

नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. जोस भान्देलारले यसो भन्छन:

नेपालमा संक्रमणको पहिलो घटना जनवरीमै देखियो, तर त्यसपछि दुई महिनासम्म संक्रमण देखिएन । मार्चको अन्त्यतिर दोस्रो घटना बाहिर आयो, अनि त्यसलगत्तै लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि पनि समुदायको स्तरमा संक्रमण खासै फैलिएन । विशेषतः भारतबाट एकदमै धेरै मानिस फर्किए र उनीहरूलाई क्वारेन्टिनमा राखियो । तर तीमध्ये धेरैमा संक्रमण देखियो । आजसम्म जति मानिसमा संक्रमण फैलिएको पुष्टि भएको छ, त्यो सरकारको परीक्षण रणनीतिकै कारण हो ।

नेपालको अवस्था विशिष्ट छ । अन्य देशहरूमा लक्षण देखिने मानिसहरूको परीक्षण गरियो । नेपालमा त्यसो गर्न सम्भव भएन किनकि यहाँ लक्षण भएका मानिस खासै धेरै छैनन् । आजसम्म संक्रमण पुष्टि भएका जति मानिस छन्, प्रायः ती सधैं पूर्ण स्वस्थ देखिन्छन् । त्यसैले सरकारले पनि लक्षण देखिनेहरूलाई भन्दा उच्च जोखिममा रहनेहरूको परीक्षण गर्न थाल्यो । विशेषगरी भारतबाट फर्कनेहरूको परीक्षण बढाइयो, त्यसैले नै उनीहरूमा बढी संक्रमण देखियो । मलाई लाग्छ सरकारको रणनीतिले काम गरेको छ । त्यसैले अझैसम्म समुदायको स्तरमा संक्रमण फैलन पाएको छैन । अब समुदायमा संक्रमण फैलिँदैन भनेको होइन, तर आजसम्म छैन ।

तर छोटो समयमा धेरै मान्छेहरू भित्रनु आफैँमा समस्या भयो । आपसमा दुरी कायम गर्न सकिने गरी उनीहरूलाई क्वारेन्टिनमा राख्न कठिन भयो । क्वारेन्टिनमा सामान्य अवस्था सुनिश्चित गर्न पनि गाह्रो भयो ।

भारतबाट आउने सबैलाई क्वारेन्टिनमा भने राख्नैपर्छ । सबैलाई क्वारेन्टिनमा राखिनुपर्छ र क्वारेन्टिनमा आवश्यक मापदण्डहरूको पालना गरिनुपर्छ ता कि त्यहाँ एकअर्कामा संक्रमण नफैलियोस् । उच्च गुणस्तरको क्वारेन्टिन सुविधा तथा क्वारेन्टिन अवधिमा परीक्षणको संख्या घटाउने रणनीति सँगसँगै जानुपर्छ । ध्यान दिनुपर्ने कुरा के हो भने क्वारेन्टिनमा फरकफरक समूहलाई मिसाउनु हुँदैन । मानौं कि एउटा समूह पहिल्यैदेखि क्वारेन्टिनमा बसिरहेको छ, भोलि नयाँ समूह पनि देशभित्र आयो भने तपाईंले दुवै समूहलाई एकै ठाउँमा क्वारेन्टिनमा राख्न मिल्दैन । यसरी उचित तवरले क्वारेन्टिन व्यवस्थापन गर्ने हो भने लक्षण नहुने व्यक्तिमा दुई हप्तापछि भाइरस हुने सम्भावना एकदमै न्यून हुन्छ ।

क्वारेन्टिनको गुणस्तर कायम गर्न के गर्नुपर्छ?

दुई हप्तासम्म बस्न सकिने अवस्थाको क्वारेन्टिन सुविधा आवश्यक पर्छ । विशेषतः दुई ओछ्यानबीचमा पर्याप्त दुरी हुनुपर्छ भने यताउति हिँड्दा पनि आवश्यक भौतिक दुरी कायम हुने कुरा सुनिश्चित गर्नुपर्छ । क्वारेन्टिन स्थलहरूमा धेरै मान्छे हुने हुनाले पक्कै पनि सबैले मास्क लगाउनुपर्छ । खाना तथा पानीको वितरण, उचित सरसफाइको व्यवस्था, हात धुने सामग्री तथा ठाउँको उलब्धता एवं कोही बिरामी भए तत्काल उपचार गर्न सकिने गरी चिकित्सकीय सुपरीवेक्षण हुनु पनि महत्वपूर्ण छ ।

 

नेपालले अपनाएका राम्रा ३ कुराहरु:

प्रथमतः सरकारले जहाँ जोखिम महसुस गर्‍यो, त्यहाँ छिटै परीक्षण सुरु गर्‍यो । सुरुमा केही समुदायमा परीक्षण गर्‍यो र पछि भारतबाट फर्कने नागरिकमा केन्द्रित भयो । परीक्षण क्षमता पनि बिस्तारै बढाउँदै लग्यो । सुरुसुरुमा परीक्षण क्षमता कमजोर भए पनि समय बित्दै जाँदा यो बढेकै छ ।

दोस्रो कुरा, लकडाउनले पनि रोगको विस्तारलाई रोक्न सहयोग गरेको छ । हो हामी सबैले दुःख पायौं, कोहीकोहीले आफ्नो आय नै गुमायौं र अझ धेरै दुःख पायौं । तर पनि संक्रमण विस्तारको जुन (सुस्त) गति छ, त्यसमा लकडाउनको पनि योगदान छ ।

तेस्रो कुरा, लकडाउनको अवधिमै सरकारले केही तयारी गरेको छ । केही कोभिड-१९ अस्पतालहरू बनेका छन्, स्वास्थ्यकर्मीलाई पीपीई र अन्य सामग्री उपलब्ध गराइएको छ र अस्पतालका कर्मचारीलाई तालिम दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*