युरोपमा फुटबल सुरु: झनै चम्किए मेस्सी

कोरोना महामारीका कारण युरोपको स्पेनिस ला लिगा फुटबल खेल रोकिएको थियो। हाल संचालनमा आएको पहिलो खेलमा बार्सिलोनाले मालोर्कामाथि ४-० को सहज जित निकालेको छ।
खेल सुरु भएको ६६ सेकेन्डमा नै पहिलो गोल गरेको बार्सिलोनाका लागि लियोनल मेस्सीले इञ्जुरी समयमा अन्तिम गोल गरेका थिए। गोलसहित मेस्सीले दुई गोलमा सहायकको भुमिका पनि निभाए। दोस्रो मिनेटमा नै आर्टुरो भिडालले हेडिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
३७औं मिनेटमा मेसीको हेडिङ पारसमा मार्टिन ब्रेथाइटलेले डी बक्सभित्रबाट बार्सिलोनाका लागि दोस्रो गोल गरे। ७९ मिनेटमा मेस्सीको पासमा नै जोर्डी अल्बाले बार्सीलोनाका लागि तेस्रो गोल गरे। इञ्जुरी समयको तेस्रो मिनेटमा सुआरेजको पासमा मेस्सीले बक्सको मध्यबाट गरेको प्रहारले जाली चुमेपछि बार्सिलोनाले ४-० को जित हात पार्यो।
चोटका कारण गत जनवरीदेखि मैदानबाहिर रहेका लुइस सुआरेज यसै खेलबाट लामो समयपछि मैदान फर्किएका हुन्। यो सिजनमा मेस्सीको यो २०औं लिग गोल हो। जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडभन्दा ५ अंकको अग्रता बनाएको छ।