बुटवलमा सरकार बिरुद्ध प्रदर्शन

स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न माग
आवाज खबर
३० जेष्ठ २०७७, शुक्रबार १६:५८

कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा संक्रमितहरुको उपचारमा सरकार संवेदनशिल नभएको भन्दै रुपन्देहीको बुटवलमा बृहद प्रर्दशन भएको छ ।
बुटवलको पुष्पलाल पार्कबाट शुरु गरिएको प्रदर्शन ट्राफिकचोक हुंदै जेसिज चोकमा पुगेर समापन गरिएको थियो । भने प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदर्शनका सहभागिहरुले कोरोना व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको, संक्रमितको उपचार तथा रोग नियन्त्रणमा संवेदनशील र जवाफदेही भएर अघि बढ्न नसकेको जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेका थिए ।

सहभागिहरुले सरकारलाई कोरोना नियन्त्रणका लागि प्रभावकारी भएर लाग्न सुझाव सहितको नारा समेत लगाएका थिए ।
प्रदर्शन राजनितिक नभई स्वतन्त्र युवाहरुको भनिएपनि बुटवलमा भने नेपाली कांग्रेसको भातृ संगठन तरुणदलका नेता कार्यकर्ता, साझा पार्टि, जनता समाजवादी लगायत अन्य दलहरुका समेत नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

सरकारले कोरोना नियन्त्रणका लागि खरिद गरिएका औषधी तथा उपकरणहरुमा समेत भ्रष्टाचार गरेको आरोप प्रर्दशनकारीहरुको छ ।
उनिहरुले कोरोना नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्व रुपैयाको हिसाव किताव सार्वजनिक गरि त्यसको छानविन समेत गर्न माग गरेका छन् ।

उनिहरुले कोरोना परिक्षणमा आरडिटी विधिबाट गरिएको परिक्षणको विश्वसनियता नभएको भन्दै आरडिटी बन्द गरि पिसिआर विधिबाट मात्रै परिक्षण गर्न माग गरेका थिए । त्यस्तै कोरोना विरुद्धको लडाईमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न समेत उनीहरुले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*