जापानबाट राजन पौडेल भन्छन्: नेतृत्व युवाले लिएर बुढा नेताहरुलाई देवघाट तिर लखेटौ

फाटेको कट्टु लगाएर काठमाण्डु छिरेका हरुको महल कसरि बन्यो?
मुक्ति सुबेदी
३१ बैशाख २०७७, बुधबार १२:५१

विगत १६ बर्ष देखि जापानमा रोजगारी गरिरहेका राजन पौडेल नेकपामा आस्था राख्ने गर्दछन। देशमा घट्ने केहि घटनाहरु र सरकारका व्यवहारले आफुलाई पटक्कै चित्त नबुझेर कहिले काही सामाजिक संजालमा प्रतिक्रिया हरु दिने गर्दछन। हाल देश नै कोरोनाले आक्रान्त परेको बेलामा नेता र सरकारको कामप्रति आक्रोस पोख्दै देशको समसामयीक विषयमा आफ्नो विचार राखेका छन्।

नेतृत्व युवाले लिएर बुढा नेताहरुलाई देवघाट तिर लखेटौ:

नेता हरु पद र शक्तिको पछि लागेर जनताका समस्यालाई नजर अन्दाज गर्न नसकेका हुन्। अप्ठ्यारो परिस्थितिमा सम्पुर्ण शक्ति एककृत भएर लाग्नुपर्नेमा आपसी खिचातानी मै अल्झिरहेका छन्। तर यसरि पदको लागि कति झोत्ती खेल्छौ? अब त पुगेन र ?
धेरै लुटेऊ, धेरै कमायौ । आफ्ना छोरा-छोरी, दाजु-भाइ, दिदी-बैनी, जुवाई-जेठान, शासु-शसुरा, भतिज-भतिजी लगायत सबै आ-आफ्ना नातागोताहरुलाई सात पुस्ता सम्म पुग्ने पनि जोडिदियौ, साइन पनि गर्न नजान्ने गिद्धहरुलाई उच्च पदहरुमा भरिभराऊ गरेऊ। आफ्ना छोराछोरी लाई जनता लुटेको पैसाले बिदेशमा पढाई गरीब गुरुवाका छोराछोरीलाई बुर्जुवा शिक्षा आवाश्यक छैन भन्दै कथित युद्धमा होमेर मारेउ । देशलाई जुकाले चुस्दा झै चुसेर सकेऊ । बिशाल नेपाल लाई टुक्राइ टुक्राइ बेचेऊ । अलिकति बाँकी रहेको पनि सिध्याउन इण्डिया सँग मिलेर राजा मारेऊ । जन आन्दोलनको नाटक गरी मिलेर बसेको समुदायलाई जात-जातीमा वर्गिकरण गर्यौ, देशमा आतंक मचाएर बिकेन्द्रिकरणको नाटक गरी इण्डियाको एउटा स्टेट भन्दा पनि सानो देशलाई ७ भागमा टुक्रायौ । प्रदेश सरकार भनेको तिमीहरुको टुक्रा टुक्रा पारी इण्डियालाई सुम्पने गिध्दे रणनिती मात्र हो । बरू एकैचोटी सबै देऊ हामी पनि बेलैमा ‘ हमारा बिशाल इण्डिया’ भनौँला । नेपाली भन्न पनि लाज लागेका हामी नेपालीलाई बिदेशीले हेर्ने नजर त बरू राम्रो होला ! किन नाँटक गर्छौ? लुटाइ र लुछाचुढीमा देशमा धेरै काण्डै-काण्ड मच्चायौ। जोक र टुक्का अनि अर्थहिन भाषणले देश विकाश हुने भए त नेपाल अहिले संसारकै नम्बर १ विकसित र शक्तीशाली देश भैसकेको हुन्थ्यो ।

तिमिहरुको फोस्रा भाषण जनताले ऐना हेरेको जस्तो हेरिरहेका छन। जनताले राजा, राणा , पञ्चायत, काँग्रेश, कम्युनिष्ट, समाजबादी, तथा के के बादी सबै हेरिसकेँ । अब जनताले हेर्न बाँकी भनेको जनता कै स्वतन्त्र पार्टी (जनता पार्टी) नै हो । सबै पार्टीका कर्मठ युवाहरु मिलेर नयाँ पार्टी ( जनता पार्टी ) दर्ता गरी चुनाबमा गएर मगजमा राष्ट्रघात मात्र भरिएका फुले बुढाहरुलाई देबघाट तिर नलखेटी नहुने बेला आएको छ ।
तिमीहरुमा अलिकति पनि राष्ट्रप्रति झिनो माया छ भने देश बचाऊँनको लागि समानुपातिक रुपमामा सेकेण्ड जेनेरेशन लाई सत्ता हस्तान्तरण गर । तिमीहरु अहिले सम्म लुटेको पैसाले एउटा-एउटा संसारकै बिलासी महल बनाएर सुरा-सुन्दरी नचाउँदै झ्यालमा बसेर ह्विस्कीको चुस्की लगाउँदै हेरीरह ! ट्रायल मात्र हेर्न चाहन्छौ भने पनि १ हप्ता मात्र हामी युवालाई सत्ता दिएर हेर, च्यालेन्ज दिएर भन्छु कि तिमीहरुले ४० बर्षमा गर्न नसकेको काम हामी ४ दिनमा गरेर देखाउने छौ। हिम्मत छ?

नेपाल बिदेशी गुप्तचरहरुको अखडा:

हाम्रो देशका १०० मा २० प्रतिशत नेताहरु एकदम राष्ट्रवादी, देशभक्त नेता पनि हुनुहुन्छ तर ८० प्रतिशत हाम्रो देश नेपालका राजनितिक नेताहरु भने विदेशी नोकरशाही दलालहरु नै हुन। जसको कारणले गर्दा हाम्रो देश नेपाल भित्र भित्रै Danger Zone को रुपमा परिणत भैसकेको छ । काठमाण्डौमा RAW, CIA, MSS, CSIS, ASIS, ISI, SIS, SVR, BND का गुप्तचर एजेन्ट हरु सामान्य जनता समक्ष पनि छ्यापछ्याप्ती भेटिने गरि खुलेआम डुलिरहेका छन। हरेक देशले आफुले चाहेको देशमा गोप्य प्रतिनिधी राख्न पाउने अधिकार अन्तराष्ट्रिय निती-नियममा समेत समावेश छ। तर पनि खटिएको देशमा बसेर के कति सम्म एक्टिभिटी गर्न पाउने भन्ने हद र नियमावलि पनि छ । केही गुप्तचर संस्थाहरुले हाम्रो देशमा हद काटेर गरेको गतिबिधीले नेपालको भविष्य धरापमा देखिएको छ । 1962 मा स्थापना भएको हाम्रो देशको National Investigation Department-NID (राष्ट्रिय अनुसन्धान बिभाग) ले चासो राखेको पाइदैन । यस बिषयमा राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश प्रसाद अधिकारि ज्यूलाई कानमा तेल हालेर घाम तापेर नबस्नुस भन्ने सुझाब दिन चाहन्छु ।

यी अन्तराष्ट्रिय गुप्तचर संस्थाहरु अहिले नेपालमा सक्रिय छन । यसमा पनि CIA, RAW, MSS, ISI को चलखल र सक्रियताले सिमा काटेको छ । नेपालको सरकार बदल्ने र राजनितीक नेताहरु किन्ने चलखेलमा पनि यीनिहरु निकै सक्रिय छन। १९५९ सम्म दिल्लीबाट नेपाल हेरिरहेको अमेरिकाले सन १९५९ अगस्ट ६ तारीखका दिन काठमाण्डौंमा राजदुताबास खोली आफ्नो हैकमवाद चलाउन शुरु गर्यो । प्रजातन्त्र पछि पहिलो आम निर्वाचनमा कम्युनिज्मले सत्ता हात पार्न सक्ने डरले नेपालमा कम्यूनिष्ट बिरोधी प्रजातन्त्रबादी शक्ती बनाउन को लागि नेपाली काँग्रेशका गिरिजा प्रसाद कोइराला सँग भित्री साँठगाठ र गठबन्धन गरी प्रजातन्त्र पछिको पहिलो आम निर्वाचनमा नेपाली काँग्रेशलाई २० लाख डलर चुनावि खर्च दिएको त CIA कै विज्ञप्तीमा स्पष्ट छ । यो गर्नु उनीहरुले काँग्रेशलाई माया गरेको भन्दा पनि कम्यूनिज्मलाई कमजोर बनाउने उद्धेश्य थियो । यो कुराको चुहावट भएपछि चाइनाको MSS ले आफ्ना प्रतिनिधी चेन वेन जंग लाई नेपाल पठायो र नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का मनमोहन अधिकारी सँग सोल्टी होटलमा भेटघाट गरायो । MSS ले पनि नेकपा (एमाले) लाई ठूलो धनराशी टक्रयाएको थियो भन्ने हल्ला बाहिर आएकै हो । नेपालको सरकार बदल्ने देखि देशको शान्तीलाई खलबलाई स्वार्थ लुटने काम विदेशी गुप्तचर संस्था बाटै हुन्छ । अनि एक देशले अर्को देशलाई धम्की दिन र आफ्नो काबुमा राख्ने कामको कर्मथलोको बेस क्याम्प पनि नेपाललाई नै बनाइन्छ । अमेरिकाले चाइना लाई कन्ट्रोल गर्ने, भारतले पाकिस्तानलाई सिध्याउने रणनिती अनि पाकिस्तानले भारतलाई आक्रमण गर्ने योजना तर्जुमा सबै नेपालमै बसेर हुन्छ । अमेरिकी बिस्तारबाद अनि भारतको अतिक्रमण पोलिसीका चलखेलले नेपालमा अशान्ती मच्चाएर नेपालमा उनीहरुको बेसक्याम्प नै बसाल्ने प्रयासहरु त नेपालमा भएका कथित आन्दोलनहरु बाट सबैले बुझिरहेकै कुरा हो । अनि न्युकिलियर हतियार बेची आफ्नो GDP बलियो बनाईरहेको इजराइल का जासुसहरुले पनि कुन कुन देशमा मिसाइल तथा हतियार बेच्ने भन्ने रणनिती पनि नेपालमै बसेर गरेको पाइन्छ । त्यस्तै इश्लामिक लडाकुहरुको तालिम केन्द्र पनि ISI को निर्देशनमा नेपालका सुदुर पश्चिम जिल्लाहरुका घना जंगलहरुमै हुने गरेका छन । अमेरिकी विस्तारवादको नयाँ रुप Millennium Challenge Corporation (MCC) र अमेरिकी हैकमवाद बाट राम्रो पाठ सिकेका रशिया, क्यानाडा र अष्ट्रेलियाले पनि नेपालमा आ-आफ्ना एजेन्टहरु बिबिध INGos को रुपमा पठाइरहेको छ । INGO भनेको हात्तीको देखाउने दाँत मात्र हो, हात्तीले चपाउने दाँत सधै लुकाउने गरे झै INGO हरुले पनि आफ्नो स्वार्थ त सधै लुकाइरहेका हुन्छन । सन १९१० पछि बिश्वमा अन्तराष्ट्रीय गैरसरकारी संस्थाहरु सक्रिय हुन थाले । नेपालमा पनि उपकार, सहयोग, जनचेतना र विकाशका नाममा खोलिएका गैरसरकारी सँघ संस्थाहरु धेरै छन तर सबैको आ-आफ्नै स्वार्थ छ । निस्वार्थ रुपमा खोलिएका संघ संस्था नेपालमा एउटा पनि छैनन । जुन कुरा मैले आफै कार्यरत सँस्थाहरु (नेपाल देखि जापान सम्म) बाट राम्ररी गहन का साथ भित्रैदेखि सपष्ट बुझ्ने मौका पाएको छु । गरीब देशलाई धनी देशले दिने सहयोग भनेको सहयोग होइन, नितान्त उनीहरुको स्वार्थ मात्र हो । अनि राजनितीक खेल र त्यो देशलाई ध्वस्त बनाउने रणनिती मात्र हो । जुन कुरा त सुडान, लेबनान, इथियोपिया, हाइटी, इण्डोनेशिया, अफगानस्थान, इराक, टर्की लगायतका देशहरुबाट स्पस्ट बुझ्न सकिन्छ । गुप्तचर पठाउने खेल भारतले त कपाल काटने भैया, तरकारी, फलफुल तथा मिठाई बेच्ने भैयाहरु देखि खाली बोतल उठाउने भैयाहरुको रुपमा नाटकिय ढंगले पुर्व मेचि देखि पश्चिम महाकाली सम्म बजार नै बसालेको छ ।

हाम्रो देशका सबै राजनिती पार्टीका देश हाक्ने नेताहरुको यतातिर कहिले ध्यान जाने हो ? पोलिसी मेकिङ अनि INGO मा काम गरिरहेका उच्च पदस्थवालाहरुले बुझिरहेका हुन्छन तर उनीहरु पनि बुझी बुझी बुझ पचाएर मोटो रकम लिएर राष्ट्रघातमा संलग्न छन।
सरकार का केही जानाकार र पढेलेखेका नेताजी हरु लाई सबै थाहा छ कि, विदेशीले हामीलाई कसरी ठगीरहेका छन र हाम्रो देशलाई उनीहरुले के को लागि प्रयोग गरिरहेका छन भनेर। तर उहाँहरु नै राजनिती लिडरको खोल ओडेर भित्री धन्दा अर्कै गरि, विदेशीको दलाल नोकरशाही भएर मोटो रकम विदेशी बैंकमा थुपारीरहेका छन र देशलाई झुण्ड झुण्ड गरी कालापानी, लिपुलेक र टनकपुर बनाई सुम्पिरहेका छन । उनीहरुलाई देश जे सुकै होस , आफ्नो खातामा करोडौ, खरबौ जम्मा भए पुग्यो । नेपाल सकिए पनि आफु र आफ्नो परीवार लाई ७ पुस्ता सम्म विदेशमा बसेर चयन गर्न पुग्ने जोडेकै छन, देश र जनताको के मतलब ? कांग्रेस, नेकपा, राप्रपा, मधेसी, समाजवादी, साझा पार्टी लगायत नेपालमा दर्ता भएका ठूला राजनिती पार्टीमा राष्ट्रघाती, पश्चिमा दलालहरु धेरै छन । सोझा साझा जनता र केही नबुझ्ने भेडे कार्यकर्ताले गर्दा उनीहरुको भित्री रुप छोपिरहेकै छ । विदेशीको इशारामा कहिले जनजातीको नारा लगाएर देशमा आतंक फैलाएका छन त कहिले मधेश र पहाड को भेदभावका मुद्दा बनाएर आतंक मच्चाएका छन । कहिले राजनैतिक क्रान्ती त कहिले विखण्डन अनि विकाशको नाममा राष्ट्रघाती MCC कदममा हस्ताक्षर । विकाशका ठूला मुक्तक, टुक्का, भाषण त सबै पार्टीका महाराजहरुले खोकेकै हुन तर हुने केही होइन। जनताले केही गर्न खोज्यो भने शुरुमै कति करोड कमिशन आउँछ भनी सोध्छन, र घुसखोरको बार्गेनिंग शुरु गर्छन। यो कुरा मेरो आफ्नै नेपालमा भएका परियोजनाको अनुभव हो । जसको Audio recording समेत मसँग सुरक्षित छ । यस्ता लम्पट हरुले देश बनाउँछन भनेर मलाई एक रती पनि बिश्वास लाग्दैन। साँच्चै नै राष्ट्रभक्त लिडर, नेताहरु नभएका होइनन तर उनीहरुलाई त त्यो काम गर्ने पद र कुर्सीमा पुग्नै दिँदैनन । ४ जात ३६ बर्णको मिलेर बसेको समुदायलाई राज्य राज्य मा बिभाजन गरी स्वार्थ लुटने अनि राज्य राज्यमा बिखण्डन गरी पृथ्वी नारायण शाहले दुखले जोडेको बिशाल नेपाललाई टुक्रा टुक्रा पारी भारतलाई सुम्पिनु नै राजनितिक बादशाहहरुको खेल हो । होइन भने इण्डियाको एउटा प्रान्त जति नि क्षेत्रफल नभएको सानो देश नेपाललाई टुक्रयाउन आवाश्यक थिएन । विकाश गर्न राज्य नै चाहिने भए नेपाल भन्दा ठूलो देश जापान एउटा पनि राज्य नहुँदा पनि यति धेरै समानत: विकाश हुने थिएन होला !!! नेपाललाई राज्य राज्यमा टुक्रयाउनु भनेको बिकाशको नाममा देशको ढुकुटी मा सिमित ब्यक्तीले रजाई गर्नु अनि देशको अर्थतन्त्र रित्याउनु र सधैँ जनतालाई गरीबीको रेखामुनी राखीरहेर केही सिमित मसियाहरुले राज गरिरहने कुकृती मात्र हो ।

फाटेको कट्टु लगाएर काठमाण्डु छिरेका हरुको महल कसरि बन्यो?

बिदेशमा बसेर राष्ट्रबाद को कुरा गर्छस भन्ने कुख्यात झोलेहरु पनि छन, यो त हाम्रो चाहना होइन, बाध्यता हो । स्वदेशमा काम गर्ने वातावरण बनाइदिन्छौ भने, लाखौ बिदेशिएका युवा भोलि नै फर्कन चाहन्छन र देशको मुहार फेर्न चाहन्छन । मैले नेपालका राजनितिक पार्टीका केही नेताहरुलाई कलेज लाईफ बाटै राम्ररी नियालिरहेको छु । उनीहरुको कामधाम र परिश्रम बिनाको प्रगतीले म अचम्म पर्छु । लहराले बाँधेको चप्पल, फाटेको कट्टु र फाटेको स्वीटर लगाई टपरीमा मकैको ठेला पोको पारी काठमाण्डौ छिरेका अनि न लेखपढ, त न जागीरे नै, न आम्दानीको श्रोत न त हाम्रो घरको हलीको जति नै सिप, यस्ता नेताहरु को हाल महल, गाडी र परिवारको चुर्तीफुर्ती देख्दा अनि उनका कार्यकर्ताहरुको समेत काठमाण्डौमा घर, गाडी देख्दा हेरेको हेर्यै हुन्छु। कसरी आयो ? कहाँ बाट आयो ? केही न केही का स्वाँठहरुलाई महल खडा गर्ने पैसा कहाँबाट आयो । न त जागीर न त कुनै पेशा नै। यो सबै राजनितीको नाममा विदेशी दलाल, माफिया र डनहरु सँगको उठबस अनि नेपाली राजनितीको खोल ओडेर देश बेचेको ब्ल्याकमनी को प्रमाण हो। जागीरको सिलसिलामा भोगेका यी कुराहरु सबैको प्रमाण सुरक्षित भएकोले यो लेख्ने हिम्मत गरेको हुँ । परेको बेलामा १,१ को प्रमाण पेश गर्नेछु। जय देश (नेपाल) जय जनता!

{राजन पौडेल हाल जापानस्थित जाइका परियोजनाको प्रोजेक्ट अर्डिनेटर (प्यासिफिक कन्सलटेन्ट)को रुपमा काम गरिरहेका छन् }

One thought on “जापानबाट राजन पौडेल भन्छन्: नेतृत्व युवाले लिएर बुढा नेताहरुलाई देवघाट तिर लखेटौ

  1. लोकनाथ says:

    राम्रो लेख

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*