हिउँदे अधिवेशनबाट प्रदेश ५ को नाम र स्थायी राजधानी टुङ्गाईने : नेकपा सचेतक भूमिश्वर ढकाल

माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी
आवाज खबर डटकम
२९ पुष २०७६, मंगलवार १३:१६

  

 

 

बुटवल –नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशनबाट टुङ्गाईने बताएका छन् । उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५ औं अधिवेशनमा प्रस्तुत हुन्छ । सोही प्रतिवेदन अनुसारप्रदेश ५ को नाम र स्थायी राजधानी घोषणघोषण गरिनेछ ।’

सचेतक ढकालले प्रदेश सभाको यो बिषयलाई पार्टीलाई ह्विप नलाग्ने बताउँदै प्रदेश सभाकै एकताबाटै राजधानी तय गर्ने बताए । उनले प्रदेशका १२ वटै जिल्लाका जनतालाई अपनत्व गर्ने किसिमले राजधानी तय गर्ने जीकिर गरे । रिर्पोटर्स क्लब ५ नं. प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै ढकालले प्रदेश सभाबाट गठित समितिले १२ वटै जिल्लामा राजनीतिक दल, समाजसेवी, बुद्धिजीविहरुसंग राय–सुझाव लिएको बताउँदै संकलन भएको सुझावलाई हेरेर प्रदेशको नाम र राजधानीको टुङ्गो गर्ने बताए । उनले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा प्रदेशले थेग्ने संचरना बनाउन धेरै आर्थिक लाग्ने बताउँदै बनेको संरचनालाई नबिगार्न आग्रह गरिन् । उनले सरकारले राजधानी तय गर्न पहिले विज्ञ समिति बनाएर पठाएको र फेरी अर्को समिति पठाएर ढिलो हुन पुगेको बताइन् । उनले स्थायी राजधानी र नामाकरणको बिषयमा समय थपिनु नहुनेमा जोड दिइन् ।

कार्यक्रममा समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेले गौतम बुद्धको भूमि लुम्बिनीलाई नै प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधार सम्पन्न रहेको स्थायी राजधानी बुटवललाई स्थायी राजधानी बताउनुपर्नेमा जोड दिए । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*