प्रदेश ३ को नाम र राजधानीकाे प्रस्ताव प्रदेशसभामा आज पेश हुने

आवाज खवर डट कम
२६ पुष २०७६, शनिबार १२:२३

मकवानपुर – प्रदेश ३ को राजधानी र नामका विषयमा प्रदेशसभामा शनिबार प्रस्ताव पेश हुने भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सुचना निकालेर शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गर्न समय दिइएको जानकारी दिनुभयो ।

शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारेकाे प्रस्ताव पेश गरेर र आइतबार प्रस्तावमाथि मतदान गर्ने तयारी रहेको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको, प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ ।

संसदमा प्रस्ताव दर्ता गराउँदा वागमती र हेटौंडाको एकमात्र प्रस्ताव दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले बताउनुभयो । अरु दलले अरु प्रस्ताव गरेको खण्डमा मतदान हुनेछ । प्रस्ताव पारित हुन प्रदेशसभाको दुईतिहाइ बहुमत आवश्यक पर्छ ।

यसैबीच समाजवादी पार्टीले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा हुन नहुने भन्दै काठमाण्डाैको शान्तिवाटिकामा शनिबार विरोध प्रदर्शन गर्ने भएको छ ।

उज्यालो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*