नेपालका लागि बिक्री गर्ने रेल तयार : माघ १ मा आउँदै रेल

कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ।
आवाज खवर डट कम
१६ पुष २०७६, बुधबार ११:५९

काठमाडौं : कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउनेछ। जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तर गरिनेछ।

सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले नेपालले माघ १ गते नेपालका लागि भारतबाट नेपालकै रेल आउने जानकारी दिएका हुन्। ‘रेल गुडाएर ल्याउने भएकाले १५ दिन लाग्छ, लगत्तै नेपालमा रेल सुरु हुन्छ’, मन्त्री नेम्वाङले अन्नपूर्णसँग भने, ‘दुईवटा रेल (लोकोमोटिभ) ल्याउँदै छौं।

एउटा माघ १६ मा आइपुग्छ भने अर्को ठीक एक महिनापछि आइपुग्छ।’ नेपालले सञ्चालन गर्न लागेको रेलमा एक लोकोमोटीभ र पाँच डब्बा हुनेछन्। दुवै रेल धनुषा (कुर्था)–जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुनेछ। रेल जीटूजी (दुई सरकारको तहमा) भारतीय कम्पनीसँग किनिएको हो। नेपाल सरकारले सम्झौताअनुरुप २० प्रतिशत रकम दिएको छ। रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ। नयाँ रेल जयनगर–जनकपुर–वैजालमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसको दूरी ५१ किलोमिटर छ। मन्त्रिपरिषद्ले २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। २०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतावासबीच रेल खरिद सम्झौता भएको थियो। नेपालले खरिद गर्ने कार पाँच डिब्बाको हुनेछ। असोज २ गते रेलवे ऐन, २०७६ को विधेयक मस्यौदालाई संघीय संसद्को बैठकमा पेस गर्न स्वीकृति दिइएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ३४ किलोमिटर रेलमार्ग विस्तार भइसकेको छ। बाँकी कुर्था–विजलापुर १७ किमि पनि भारतकै सहयोगमा विस्तार भइरहेको छ। असारको बर्खामा जनकपुर–जयनगरको रेलवे ट्र्याकको करिब पाँच किलोमिटर क्षेत्रफल डुबानमा परेको थियो। नेपाल भारत सिमा क्षेत्रमा पर्ने धनुषाको इनरुवातर्फ एक सय मिटर लिक पूर्ण रूपमा बाढीले क्षतिग्रस्थ भएको थियो। रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब आठ करोड रुपैयाँको क्षति पुगेको छ। आधिकारिक रूपमा रेलमार्ग नेपाली पक्षलाई हस्तान्तरण नभएकाले क्षतिग्रस्थ रेलमार्ग भारतबाटै पुनर्निर्माण भइरहेको छ। रेल सञ्चालनपूर्व नै पुनर्निर्माणको कार्य सकिने विभागको दाबी छ।

रेलमार्गमा आठवटा स्टेसन रहनेछ। भारतको जयनगर, नेपालको इनरुवा, खजुरी, वैदेही, परवाह, जनकपुर र कुर्थामा स्टेसन रहनेछ। तर, अहिलेसम्म रेल सञ्चालनको मोडालिटीको भने टुंगो लागेको छैन। विभागका अधिकारीका अनुसार रेल सञ्चालन गर्न नेपालसँग दक्ष प्राविधिक जनशक्ति अभाव छ। कोंकण रेलवेले विभागलाई पठाएको कागजातमा नेपाल रेलवेका लागि आवश्यक परे प्राविधिक जनशक्ति र मर्मतमा सहयोग गर्ने उल्लेख छ। यो सहयोग दुई वर्षसम्म रहने मन्त्री नेम्बाङले जानकारी दिए।रेल सञ्चालन गर्न खरिद प्रक्रिया अघि बढाएर रेल भित्रिने समय नजिकै रहँदा पनि यसलाई नियमन गर्ने व्यवस्था रेलवे ऐन कार्यान्वयनमा आउन सकेको छैन। विभागले अघिल्लो वर्ष माघमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेलवे ऐनको मस्यौदा तयार गरी पठाएको थियो। यसको आठ महिनापछि असोज २ गते रेलवे ऐन, २०७६ को विधेयक मस्यौदालाई संघीय संसद्को बैठकमा पेस गर्न स्वीकृति दिइएको छ। महानिर्देशक मिश्रका अनुसार एक साताभित्र रेलवे ऐनको विधेयक मस्यौदा संसद्मा पेस हुनेछ।

संसद्बाट पारित भएपछि मात्र रेलवे ऐन कार्यान्वयनमा आउँछ। रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यका अनुसार रेल भिœयाउनुअघि कानुनी पक्ष टुंग्याउनुपर्ने हुन्छ। ‘रेल आउने लगभग तय भइसकेको छ। कानुनकै अभावले रेल गुड्नबाट रोकिनु हुँदैन’, आचार्यले भने, ‘रेल कानुन छिट्टै पारित गर्नुपर्छ।’ संसद्बाट ढिलो हुने अवस्था भएमा अध्यादेश ल्याएर भए पनि कानुन पारित गर्नुपर्ने उनको भनाइ छ।

रेल सञ्चालनका लागि रेलवे ऐनले मात्र पुग्दैन। यसका लागि संगठन संरचना र कर्मचारी विनियमावली पनि कार्यान्वयनमा आउनुपर्छ। रेल चालकसँगै प्राविधिक इन्जिनियरको पनि अभाव छ। दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने हुन्छ भने गैरप्राविधिक जनशक्ति र अद्र्धजनशक्ति स्वदेशकै प्रयोग गर्नुपर्ने जानकार बताउँछन्। विदेशी कामदारबाट काम लिनुपर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ। विदेशी कामदारको तलब तथा सेवा सुविधा पनि नेपालीको भन्दा महँगो हुन्छ। लामो समयसम्म महँगो सुविधा दिएर विदेशीबाट काम लिँदा राज्यमाथि आर्थिक भार पनि बढ्ने देखिन्छ। स्वदेशी जनशक्तिको पनि दक्षता बढ्ने गरी आवश्यकताका आधारमा विदेशीबाट काम लिनुपर्ने आचार्यको भनाइ छ। ‘रेल चालक, प्राविधिक इन्जिनियर, मेकानिक्स विदेशबाट लिने र प्रशासनका कर्मचारी, टिकट काट्ने, सहचालक नेपाली नै हुनुपर्ने व्यवस्था मिलाउनुपर्छ’, उनको भनाइ छ।

महानिर्देशक बलराम मिश्रका अनुसार सम्भवतः फागुनको दोस्रो साताबाट रेल सञ्चालन हुनेछ। रेल सञ्चालन गर्नुअघि रेल्वे ऐन संसद्बाट पास गर्नुपर्ने भएकाले एक महिना थप लाग्ने उनको भनाइ छ। रेल सञ्चालनअघि कति संख्यामा स्वदेशी तथा विदेशी कर्मचारी भर्नाको व्यवस्था गर्ने उनको भनाइ छ। ‘संगठन संरचना र कर्मचारी विनियमावलीको मस्यौदा तयार गरी मन्त्रालयमा पेस गरिसकिएको छ’, उनले भने, ‘ऐन पास हुनेबित्तिकै मन्त्रालयले मन्त्रिपरिषद्बाट संगठन संरचना र कर्मचारी विनियमावली पास गराउनेछ।’

यस्तो हुनेछ रेल

नेपालले कोंकणसँग खरिद गर्ने दुई रेल डिजेल इलेक्ट्रीफाइड मल्टिपल युनिट (डेमु) विद्युत् तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिन्छ। रेलमा पाँचवटा डिब्बा हुनेछन्। अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ। रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीका निम्ति उपयुक्त हुने विभागको दाबी छ। पाँच डिब्बा मध्येमा एक÷एक ड्राइभिङ पावर कार, ड्राइभिङ ट्रेलर कार, एसी ट्रेलर कोच र दुईवटा टेलर कोच एसी र नन् एसीको हुनेछ। यो रेलमा १६ सय हर्सपावरको इन्जिन हुनेछ।

भारतको चेन्नाइस्थित इन्टिग्रल कोच फ्याक्ट्रीमा नेपालका लागि भनेर पहिलोपटक उत्पादन गरिएको हो। यो रेलको अधिकतमा गति १ सय १० किमि प्रतिघण्टा छ। यसको बडी स्टेनलेस स्टिलबाट निर्मित छ। उठेर यात्रा गर्ने यात्रुका लागि ह्यांगरको पनि व्यवस्था छ। एउटा डिब्बामा करिब ६ सय यात्रीले यात्रा गर्न सक्नेछन्।

    अन्नपूर्ण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*