मैले छोरो कसरी बचाउने ?

अस्पतालको लापर्वाही, सरकारको ढिलासुस्ती
आवाज खवर डट कम
१४ पुष २०७६, सोमबार १४:०४

२०७६ साल असोज २४ गते पहिलो पटक बुवा बनेँ । त्यो दिन खुशीको सीमा थिएन । श्रीमती गीताले धुम्बाराहीमा रहेको हेम्स अस्पतालमा छोरालाई जन्म दिइन् । बुवा बनेकोमा म जति खुशी थिएँ, त्योभन्दा बढी खुशी थिइन्, श्रीमती गीता । घरपरिवार आफन्त सबै खुशी भए ।

तर त्यो खुशी अहिले हामीबाट हराएको छ । आँखामा आँसु छन् । १३ दिनसम्म छोरा ठिक थियो । १३ दिनमा न्वारन गरेर छोराको नाम शिवांश राखियो ।

१४ औं दिन राति छोराको पेट फुले जस्तो देखियो । हामी काठमाण्डौको सुकेधारामा बस्थ्यौँ । भाेलिपल्ट बिहानै ५ बजे कान्ति बाल अस्पताल गयौँ । त्यहाँ भर्ना गर्ने एनआईसीयू पाइएन ।

अस्पतालमा जसको ‘सोर्सफोर्स’ भयो, उसैले बेड पाउँदा रहेछन् । बेडको लागि अस्पतालसँग जति अनुरोध गर्दा वास्ता गरिएन । त्यहाँ बेड नपाँउदा छोराको पेट झन् बढ्दै गयो । छोरालाई काखमा राखेर शिक्षण अस्पताल लाग्यौँ ।

त्यहाँ पनि सहजै बेड पाउन गाह्रो भयो । हात जोडेर गुहार मग्दा बल्लतल्ल एनआईसीयू बेड पाइयो र  छोरालाई भर्ना गरियो । त्यो अस्पतालमा भर्ना त गरियो तर के भयो के गर्नुपर्छ भन्ने कुरा भनिएन । डाक्टरहरुले ठिक हुन्छ भन्दै गए ।

एक महिनापछि अस्पतालले यहाँ उपचार सम्भव नभएको भन्दै रिफर गर्‍यो । शिक्षण अस्पतालमा उपचार सम्भव नभएको भन्दा छाँगाबाट खसेजस्तो भएँ ।
छोराको अवस्था झन् झन् बिग्रिँदै गएको थियो । अस्पतालले थप उपचारको व्यवस्था गर्न भन्यो ।

यदि रेफर नै गर्नु थियो भने अस्पतालमा राखेको दुई/चार दिनमै किन भनिएन ? किन अस्पतालले एक महिनासम्म त्यत्तिकै राख्यो ? एक महिना अस्पताल राखेर अन्ततः रेफर गर्दा मेरो छोराको यो हालत हुँदैन थियो कि ?

उपचारमा लापर्वाही गरेको भन्दै बेलाबेला अस्पतालमा आन्दोलन भएको देखेको थिएँ । वास्तवमा सत्य रहेछ । निकै लापर्वाही हुँदो रहेछ अस्पतालमा । बिरामी भन्दा पैसा र पावर हेर्दा रहेछन् । दुई महिनाको अवधिमा मैले पनि यस्तै भोगेँ । यस्ताे अवस्थामा छोरालाई घरमा लिएर बस्न सकिनँ । श्रीमती र म बिरामी छोरा बोकेर भारतको चेन्नई पुग्याैँ । अहिले हामी चेन्नईमा छौँ ।

यता आएपछि थाहा भयो कि मेरो छोराको कलेजो प्रत्यारोपण गर्नुपर्ने रहेछ । बाहिरी संसारमा आएको दुई महिना नपुग्दै यस्तो अवस्थामा छोरा पुग्दा हामीलाई कस्तो दुःख भइरहेको छ, त्यो तपाईंले कल्पना पनि गर्न सक्नु हुँदैन ।

समयमा आएको भए औषधिले राम्रो बनाउन सकिन्थ्यो । अहिले कि त कलेजो प्रत्यारोपण गर्नुपर्‍यो नत्र बचाउन सकिँदैन भनेर डाक्टरले भनेपछि आँखै अगाडि कलेजोबिना छोरा मरेको हेर्न सक्ने सामर्थ्य ममा छैन । मेरो छोरा मेरो कलेजोको टुक्रा हो । मैले आफैं कलेजो दिने निर्णय गरेँ ।

यसका लागि अस्पतालले ४० लाख भारुभन्दा बढी रकम लाग्ने बतायो । छोरालाई बचाउने आशामा हुन्छ त भनेँ तर यति रकम मैले कहाँबाट ल्याऔँ ?

मेरो घर सुदूरपश्चिमको बैतडी हो । घरजग्गा बेचेर पैसा जम्मा गरौं भने पनि गाउँमा, त्यो पनि पाखा जग्गा कसले किन्छ ? आफन्त इष्टमित्र सबैलाई गुहारेँ । सकेजति सहयोग उनीहरुले पनि गरे ।

पैसाबिना मेरो छोरा नबाँचेकोमा म आफैंलाई धिक्कार लाग्नेछ । अरु म के भन्न सक्छु, मलाई यो दुःखको बेला तपाईँहरुको सानो सहयोगले राहत पुग्ने थियो । ‘मेरो छोरो बाँच्यो भने म तपाईँले लगाएको गुन त्यत्तिकै खेर फाल्ने छैन । अहिले मलाई दुःख पर्दा लगाएको ऋणको पैँचों तिराैँला, मलाई सहयोग गर्नुहोस्’, मैले भनेँ ।

भारतमा कलेजो प्रत्यारोपण गर्न पैसाले मात्रै नहुँदो रहेछ । नेपाल सरकार र भारत सरकारको पनि अनुमति चाहिने रहेछ । कागजात प्रक्रिया जुटाउँदा निकै समस्या भोग्नु पर्‍यो  ।

अस्पतालले ढिला भयो भनिरहेको बेला मैले नेपालबाट सहजरुपमा कागजात पाउन सकिनँ । सबैभन्दा पहिले वडा जानुपर्ने, त्यसपछि जिल्ला प्रशासन, मेडिकल बोर्ड, स्वास्थ्य मन्त्रालय, वीर अस्पताल, परराष्ट्र मन्त्रालय अनि दिल्लीमा रहेको दूतावास गरी सबै ठाउँमा जानुपर्ने रहेछ ।

नेपाली काममा हुने ढिलासुस्तीले झन् सास्ती भोग्नु पर्‍याे । पहिले अस्पतालको लापर्वाही त्यसपछि सरकारको ढिलासुस्तीले मैले यो परिस्थितिको सामना गर्नु परिरहेको छ ।

नेपालमा बल्लतल्ल कागजात बनाइसकेपछि यताको सरकारले ६ घण्टामा आफ्नो सबै प्रक्रिया पूरा गर्‍यो । भारत सरकारले ६ घण्टामा काम पूरा गर्दा नेपाल सरकारले किन गर्न सक्दैन ? मान्छेको जीवन ठूलो कि कागजी प्रक्रिया ? यो विषय मेरो मनमा अहिले पेचिलो भएर उब्जिरहेको छ ।

मेरो सानो छोरा जो दुई महिनाको छ, २ दशमलव २ किलो तौल छ । अहिले कलेजो प्रत्यारोपण गरेर अस्पतालको शैयामा छट्पटाइरहेको छ । म पनि ४५ दिनको बेडरेस्टमा छु ।

नेपालको संविधानमा हरेक नागरिकले सम्मानपूर्वक र स्वस्थ भएर बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको छ । तर विभिन्न बाधा, अड्चन र कागजी प्रक्रियाहरुले गरिब नेपालीले अकालमै ज्यान गुमाउने निश्चित जस्तै छ । एक करोडको हाराहारीमा खर्च लाग्ने ठाउँमा उपचार खर्चको जोहो कसरी गर्ने ?

यस्तो अवस्था समेत सरकार निरीह जस्तै बसिरहन्छ । नागरिकको अभिभावक राज्य हो । तर समस्या परेका बेला राज्यबाट सहयोग नपाउँदा राज्यको नागरिक नभएको महसुस हुँदो रहेछ ।

गम्भीर खालका बिरामीहरुका लागि नेपाल सरकारले सहयोग गर्छ भन्ने सुनेको थिएँ । कलेजो प्रत्यारोपणमा नेपाल सरकारले गर्ने आर्थिक सहयोग के रहेछ ? यो विषयमा पनि सम्बन्धित निकायबाट जानकारी पाए आभारी हुने थिएँ ।

त्रिवि शिक्षण अस्पतालको लापर्वाहीले नै यस्तो समस्या आएको हो । समयमा रेफर गरिदिएको भए राम्रो हुन सक्थ्यो भनेकाले मेरो मनमा धेरै पीडा थपिएको छ । दोस्रोे कुरा नेपाल सरकारको प्रत्यारोपणको कागजी प्रक्रियामा पनि मेरो चित्त दुखेको छ

उज्यालो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*