परम्परागत पोसाकको क्रेज बढ्दै

आवाज खवर
८ मंसिर २०७६, आईतवार १४:२५

मौलिक पहिरन हाकु पटासी, आङ्गी पाङ्देन, बख्खु दोचा, गुन्युचोलो, दौरासुरुवाल लगाउँदा लाज मान्ने युवापुस्ता अहिले यस्ता पहिरनले आफू ‘फेसनेबल’ भएको अनुभव गर्ने गरेका छन् ।
युवा पुस्तामाझ ह्यान्डलुम, ह्यान्डिक्राफ्ट तथा मेड इन नेपाल कन्सेप्टको माग बढेको फेसन डिजाइनरहरूको अनुभव छ । जसमा थरिथरि ढाका, जुट, अल्लो, सिसौ, जुट, हाकु पटासी, हेम, गाँजाजस्ता नेपाली उत्पादनबाट तयार पारिएका पहिरनप्रति आकर्षित हुनेहरूको सङ््ख्या बढेको छ ।
ढाका, भातगाउँले टोपी पनि युवामाझ निकै रुचाइएको छ । उनीहरू यसले मौलिकता देखिनुका साथै फेसनेबल देखिने पनि विश्वास गर्छन् । अङ्ग्रेजी एक तारिखमा सबैले नयाँ वर्ष मनाउँदा नेपालीले राष्ट्रिय टोपी दिवस मनाएको कारण पनि नेपाली टोपीप्रति युवा पुस्ताको मन तानेको अभिनेता विल्सनविक्रम राई बताउनुहुन्छ । उहाँले पनि कुनै पनि कार्यक्रमका लागि मौलिक पहिरन नै छान्ने गरेको बताउनुभयो ।
औपचारिक कार्यक्रम अथवा भोजभतेर अहिले मौलिक पहिरनको पुनरावृत्ति भएको फेसन छ । डिजाइनर आयशा गौतम भन्नुहुन्छ, “केही समययता मौलिक पहिरनको लुगा सिलाउन धेरै आउने गरेका छन् ।” उहाँले सांस्कृतिक जागरणसँगै मौलिक पहिरनमा युवापुस्ता लोभिन थालेको बताउनुभयो ।
आधुनिक समाजमा यस किसिमको रूपान्तरण स्वाभाविक हुने उहाँको बुझाइ छ । युवाको चेतनास्तर बढेको छ, डिजाइनर गौतम भन्नुहुन्छ, त्यसैले आफूलाईमोडर्न देखाउन कोट पाइन्ट होइन, मौलिक पहिरन रोज्छन् ।
मिस नेपाल निकिता चाण्डक जिन्स टिसर्टभन्दा आफ्नो मौलिक पहिरनमा बढी ट्रेन्डी महसुस गर्ने बताउनुभयो । मारवाडी समुदायको भएका कारण आफ्नो मौलिक पहिरनप्रति हुरुक्कै हुने गरेको उहाँले बताउनुभयो । उहाँले दीपावली, डाण्डीय पर्वमा आफ्नो जातीय पहिरनमा सजिने गरेको पनि जानकारी दिनुभयो ।
यस्तै कालो पृष्ठभूमिमा रातो किनाराको हाकु पटासी, चौबन्दी चोली, पछ्यौरा, कल्की र बाजुको पहिरनमा सजिएर नायिका अशिष्मा नकर्मी थुप्रैपटक ¥याम्पशोमा उत्रिसक्नुभयो । गाईजात्रा, इन्द्रजात्रा, बिस्केट जात्रा, सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ जस्ता विशेष उत्सवहरूमा नकर्मी हाकु पटासी लगाउन रुचाउनुहुन्छ । चाडपर्वदेखि फेसन शोसम्ममा जातीय पहिरन छाउन थालेको छ ।
युवा तागाबा र युवती मेख्ली लगाएर लिम्बू समुदायहरू आफ्नो मौलिक पहिरन लगाउने फेसन डिजाइनर धीरज लिम्बू बताउँछन् । यस्ता पहिरनहरू हातैले तानमा बुनेर लगाउने गरिन्छ । शेर्पा पहिरन सदावहार मानिन्छ । यो औपचारिक मात्र होइन, सदावहार रूपमा पनि प्रयोग गरिन्छ ।
ल्होसारदेखि बिहे भोजसम्मका अवसरमा शेर्पा युवक–युवती आफ्नै मौलिक पहिरनमा सजिएको भेटिन्छन् । विभिन्न जातजातिमा प्रचलित मौलिक पहिरनले उक्त जाति बसोबास गर्ने भूगोल, हावापानी, संस्कृतिको पनि प्रतिनिधित्व गर्ने गरेको पाइन्छ ।
प्रायः हिमाली क्षेत्रमा बसोबास गर्नेले भेडाको ऊनबाट बन्ने बख्खु, दोचा,
टोपी लगाउने गर्छन् । पहाडी भेगकाले भोटो, सुरुवाल लगाउँछन् । त्यसैगरी तराईमा कुर्ता पाइजामा, लेहेङ्गा लगाउने गरिन्छ । यस्ता पहिरनहरू मौसम अनुकूल, स्वास्थ्यमैत्री हुने फेसन डिजाइनरहरू बताउँछन् । धेरैजसो जातजातिले हातैले बुनेर आफ्नो पहिरन तयार गर्ने परम्परा छ, फेसन डिजाइनर लिम्बू भन्नुहुन्छ, त्यसैले यो स्वास्थ्यको हिसाबले पनि उपयुक्त मानिन्छ । –यलु जोशी(गोरखा पत्र- अनलाइनबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*