बालबालिकाका लागि खोप रोग प्रतिरोध क्षमता वृद्धि

आवाज खवर
८ मंसिर २०७६, आईतवार १३:४८

काठमाडौँ, मङ्सिर ७ गते । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । त्यसैले हरेक अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउनु जरुरी छ भन्ने सुझाव हरेक बालचिकित्सकको हुने गर्छ ।
चिकित्सकका अनुसार रोगबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न खोप दिइन्छ । अधिकांश खोप बाल्यावस्थामै दिइन्छ । कतिपय खोप भने ठूलो भएपछि वा आवश्यक परेमा मात्र दिने गरिन्छ । तर कति खोपबारे थाहा नभएर साधारण रोगले पनि बर्सेनि हजारौँ बालबालिकाको मृत्यु भइरहेको छ ।
“खोप भनेको रोगसँग लड्न सक्ने एक प्रकारको जीवाणु नै हो”, बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधान भन्नुहुन्छ, “बाल्यावस्थामै दिइने खोपले पछिसम्म पनि रोगसँग लड्न मद्दत गर्छ । ” सानो उमेरमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा रोगसँग लड्न खोप अनिवार्य भएको जानकारी उहाँले दिनुभयो ।
पाँच वर्षको उमेरसम्म बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुने प्रस्ट पार्दै डा. प्रधान थप्नुहुन्छ, “विभिन्न सङ्क्रमित रोगले बालबालिकाको जीवन नै खतरामा पार्ने हुँदा त्यसअघि सावधानी अपनाउनु जरुरी छ । ” बच्चा जन्मिएपछि तोकिएको समयमा सबै खोप पूरा मात्रामा लगाउँदा बालबालिकालाई रोगसँग लड्ने शक्ति प्राप्त भई रोग लाग्ने, अपाङ्गता हुने र मृत्यु हुने दरमा कमी आउने उहाँले स्पष्ट गर्नुभयो ।
खोपबारे थाहा नभएका कारण आफ्नी छोरी धेरै बिरामी भएको गुनासो पोख्दै अनिता भासिमाई भन्नुहुन्छ, “सरकारले निःशुल्क उपलब्ध गराएको खोप त दिएँ तर अन्य खोप पनि दिनुपर्छ भनेर थाहा भएन । ”
“छोरीलाई दादुरा आयो तर त्यसको पनि खोप हुँदो रहेछ । फेरि फ्लु भ्याक्सिन दिएमा श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्ने थाहा नै भएन । छोरीलाई यस प्रकारको खोप नदिएका कारण बिरामी भइन्”, उहाँको अनुभव छ । हप्तैजसो श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित भएपछि चिकित्सकको सल्लाहबमोजिम नियमित खोपका साथै भाइरल इन्फ्लुएन्जा र निमोकोकल खोप दिएपछि अहिले धेरै कम भएको भासिमाईले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “खोप लगाउनैपर्छ भन्ने मानसिकता विकास भइसकेको छैन । यसलाई सरकारले जनचेतना अभियानमा लैजान जरुरी छ । ”
“खोप लगाएपछि देखिने सामान्य असरलाई देखाएर अझै खोप नलाउनेको सङ्ख्या धेरै रहेको देखिन्छ”, डा. प्रधानले भन्नुभयो, “खोपले सामान्य असर देखाए पनि त्यसबाट डराउनु पर्दैन । ” कुनै कुनै खोपले ज्वरो आउने, सुन्निने र खोप लगाएको स्थानवरिपरि रातो हुनेजस्ता लक्षण देखाए पनि सबै खोपले त्यस्तो असर नगर्ने उहाँ बताउनुहुन्छ ।

अभिभावक चनाखो हुनैपर्छ
खोप लगाएर बच्चालाई रोगबाट जोगाउनु राम्रो हो । तर, बच्चालाई खोप लगाउनुअघि खोपका बारेमा अभिभावकलाई जानकारी दिनु आवश्यक हुने डा. प्रधानले उल्लेख गर्नुभयो । सरकारले दिने खोप लगाएपछि अरू पनि विभिन्न प्रकारका खोपबारे जानकारी हुँदैन । खोप लगाएर हुने फाइदा र कुनै कुनै खोपले हुने असर र खोप नलगाउँदा हुने समस्याबारे जनचेतना आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभयो । परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतम भन्नुहुन्छ, “खोप भनेको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने हो । त्यसैले बालबालिकाले खोप लगाउनुपर्छ । ”
अभिभावक भासिमाईले भन्नुभयो, “खोपबारे जनचेतना फैलाउन अत्यन्तै आवश्यक छ । हामी सहरमा बस्नेलाई त थाहा हँुदैन, गाउँमा बस्नेलाई कसरी थाहा हुन्छ ?” गाउँमा मात्र नभएर सहरमा पनि खोप लगाएपछि बच्चा बिरामी हुन्छ, रोगसँग लड्न सक्दैन भन्ने मानसिकता पाइन्छ । यही सोचका कारण बच्चालाई खोप केन्द्रसम्म पु¥याउँदैनन् भन्दै डा. प्रधान थप्नुहुन्छ, “त्यसकारण गाउँ–सहर सबैतिर खोपका बारेमा जनचेतना कार्यक्रम पु¥याउनु आवश्यक छ । ”
“अस्पतालमा आउने कतिपय अभिभावकले आफ्नो बच्चालाई खोप नै लगाइदिएका हुँदैनन् । धेरैले लगाउँदा लगाउँदै छोडेको पनि
भेटेका छौँ”, डा. प्रधानले भन्नुभयो, “त्यसैले जनचेतनाको एकदमै आवश्यकता छ । ”

श्वासप्रश्वास रोग ज्यादै
परिवार कल्याण महाशाखाका अनुसार २०७५÷७६ मा १७ लाख बालबालिका श्वासप्रश्वाससम्बन्धी रोगबाट प्रभावित थिए । श्वासप्रश्वासजन्य रोगअन्तर्गत रुघाखोकी, फोक्सोमा सङ्क्रमण, दमलगायत पर्छन् । श्वासप्रश्वासजन्य रोगबाट प्रभावित १७ लाख बालबालिकामध्ये झन्डै एक लाख ५० हजार बालबालिकामा निमोनिया देखिएको थियो । तीमध्ये करिब तीन सयको मृत्यु भएको महाशाखाले जनाएको छ ।
शिशु जन्मेको छ महिनासम्म पूर्ण स्तनपान नगराउने, बालबालिकालाई पूर्ण खोप नलगाउने, सरसफाइमा ध्यान नदिनेलगायतका कारणले बालबालिकामा निमोनियाको समस्या देखिने गरेको शाखाका प्रमुख डा. गौतमले बताउनुभयो ।
एक प्रतिशतले खोपको सुविधा नपाएको, तीन प्रतिशतले आंशिक रूपमा पाएको तथा ७८ प्रतिशतले पूर्ण रूपमा पाएको जानकारी उहाँले दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनअनुसार ५६ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर ३० लाख बालबालिका छन् । शाखाको तथ्याङ्कअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हो ।
सरकारले बालस्वास्थ्यअन्तर्गत पोषण, खोप, नवजात शिशु तथा बालरोग व्यवस्थापनलगायत कार्यक्रमका लागि यस आर्थिक वर्षमा चार अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले निमोनिया भएका बालबालिकाको खोप तथा औषधि उपचार खर्च निःशुल्क भनेको छ ।
सन् २०१७ मा विश्वभरमा आठ लाख बालबालिकाको मृत्यु निमोनियाका कारणले भएको थियो । प्रभावकारी कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरि एक करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान
गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख कृष्णप्रसाद भुसालले खोपको प्रभावकारी सञ्चालन गर्ने देशमा नेपाल पनि एक भएको जानकारी दिँदै राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ११ किसिमका खोप समावेश गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रमलाई प्रभावकारी बनाउन बहुवर्षीय योजना सन् २०१७–२१ कार्यान्वयनमा रहेको पनि जानकारी दिनुभयो ।

नयाँ खोप दिने योजना
डा. गौतमले रोगका आधारमा नयाँ खोप दिने योजना अघि बढाएको जानकारी दिँदै रोटा भाइरसविरुद्ध खोप, टाइफाइड, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) आदि खोप निःशुल्क दिने बताउनुभयो । अहिले सरकारले ११ वटा खोप निःशुल्क उपलब्ध गराएको छ भने थप निःशुल्क दिने योजना अघि बढेको छ । “एक पटक दिएपछि पुनः नदिने भन्ने हँुदैन । त्यसैले रोगको अवस्था बुझेर खोप दिइने छ”, उहाँले बताउनुभयो । “२५ भन्दा बढी खोप छन् तर सबै दिनुपर्छ भन्ने हँुदैन”, उहाँ थप्नुहुन्छ, “विदेशतिर दिइन्छ तर नेपालको अवस्था र क्षमता हेरेर खोपको पहिचान गर्नुपर्ने हुन्छ । ” यलु जोशी-(गोरखा पत्र- अनलाइनबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*