हिराकाजीको प्रश्न – छोराले कलेजो दिन्छ ?
१३ भाद्र २०७६, शुक्रबार १४:०६

दुई वर्षअघि बुवाको मुख हेर्ने दिन थियो । सरिता महर्जनले केक ल्याइन् र हिराकाजीका अघिल्तिर राखिदिइन् ।
केकमा लेखिएको थियो, ‘न्यू लाइफ’ । अनि परिवारका सदस्यले ठूलो स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टु यू ड्याडी ।’

बाबाको जीवनबाट खोसिएको खुशीलाई फिर्ता ल्याउने यो अर्को प्रयास थियो सरिताको ।
एक वर्ष बित्यो । फेरि बुवाको मुख हेर्ने दिन आयो । सरिताले उसै गरी केक लिएर राखिदिइन् ।
त्यसमा लेखिएको थियो, ‘सेकेन्ड इयर’ ।
तर, यसपटक सरिताले ‘थर्ड इअर’ (तेस्रो वर्ष) लेखेको केक अर्डर गरिनन् । आमाको निधनको शोकमा छिन् सरिता र बहिनी सरिला । हिराकाजीले पत्नी गुमाएका छन् । मञ्जुको निधन भएको वर्ष दिन पनि बितेको छैन ।
सरिताले केक पो काटि्दनन्, तर बुवाको हेरचाह गरिरहेकी छिन् । हिजो पनि हेरेकी हुन्, भोलि पनि हेर्छिन् नै । आखिर, दुई वर्षअगाडि आफ्नो कलेजो काटेर बुवालाई दिने आँट नदेखाएको भए हिराकाजी शायदै सरितासँग हुन्थे ।
लगनटोलको लेखान्त
अहिले लगनटोल, ललितपुरस्थित घरमा सरिता, उनकी बहिनी र हिराकाजी छन् ।
सरिताभन्दा पहिला दुई छोरी थिए, जसको अहिले बिहे भइसक्यो । हिराकाजीका अनुसार छोरा पाउने आशमा जन्मिएका थिए सरिता र सरिला । तर, अहिले गर्वसँग भन्छन्, ‘यिनीहरुले हाम्रा लागि जे गरेका छन्, त्यो छोराले पनि गर्दैन । त्यसैले यिनीहरु मेरा छोराहरु नै हुन् ।’

हुन पनि अहिले (कलेजो प्रत्यारोपण गरेको) ‘तेस्रो वर्ष’का हिराकाजी हट्टा-कट्टा छन् । कपाल छोटो बनाउँछन् । दाह्री सेभिङ गरेर नाक मुनी गुजुप्प जुंगा राख्छन् । जुंगा र कपालको रङ उस्तै देखिन्छ-कपालमा हिउँ छिर्किएजस्तो ।
हिराकाजी घरको भुइँतलामा मःमः बनाउँछन् । घरअगाडिको खाली ठाउँमा टेवल राखेर बेच्छन् ।
यही ठाउँमा ६२ वर्षअगाडि जन्मिएका थिए हिराकाजी ।
नेवार परिवारमा जन्मिएका उनका लागि मदिरा नौलो भएन । पास्नी गर्दा नै उनको जिब्रोले स्वाद पाएको थियो, तर युवा हुँदासम्म हुँदा खास पिएका थिएनन् । नेवारी खाजा पसल खोलेपछि अलिअलि पिउन थाले । अलिअलि गर्दागर्दा मदिराको लतमा डुब्न थाले । नेवारी लबजमा हिराकाजी सुनाउँछन्, ‘दिनभर काम गर्‍यो । थाक्छ, शरीर दुक्छ । खायो, घुप्लुक्क सुत्यो ।’
परिवार चलिरहेकै थियो । तर एक्कासी छ वर्ष पहिले मञ्जुलाई हृदयघात भयो । धन्न उनी अस्पतालमै थिइन्, तत्काल उपचार पाइन् । ११ दिनसम्म भेन्टिलेटरमा बसिन् र निको भएर फर्किइन् । र, पनि उनको स्वास्थ्यले सुविस्ता पाएन । रोग थपिँदै गयो । र, मिर्गौलाले काम गर्न छाड्यो ।
उता मञ्जुको मिर्गौला फेल भयो, यता बाबुकाजीको चिन्ता र मदिराको मात्रा ह्वात्तै बढ्यो । मञ्जुको हप्तामा दुईपटक डायलोसिस गर्नुपथ्र्यो, सरिताले त्यो सबै चाँजोपाँचो मिलाएकी थिएन् । त्यहीबेला ०७२ सालमा भूकम्प आयो, घर चर्कायो । हिराकाजीले खानाको सट्टा पनि मिदरा नै पिउन थाले ।
त्यसपछि भने सरिताको जीवनमै भूकम्प आयो । उनी सम्झन्छिन्, ‘ड्याड बिरामी हुनुभयो । टिचिङ हस्पिटलमा लग्यौं । डाक्टरहरुले भने, उहाँको लिभर ड्यामेज भइसकेको छ । यहाँ हुँदैन, बाहिर गएर ट्रान्सप्लान्ट गर्न करोडले पनि पुग्दैन ।’
परिवारको आर्थिक हैसियतभन्दा बाहिर थियो यो उपचार । चिकित्सकले विकल्प दिए, औषधि दिएर सकेसम्म बचाउने । उनले डाक्टरसँग भनिन्, ‘औषधि दिनुस् । अप्रेशन गर्न सक्दैनौं, बरु उहाँको रक्सीको मात्र घटाउँछौं ।’
उता मञ्जुलाई पनि रोगले च्याप्दै लग्यो । निदान अस्पताल लगेर हप्तामा तीनपटक डायलोसिस गर्न थालिएको थियो । तैपनि दुखाई खप्न नसकेर चिच्याउँदै भन्थिन्, ‘ऐया…. सक्दिनँ । बरु विष देओ मलाई ।’
त्यतिबेला सरिताको बुटिक पसल थियो । त्यसको कमाइले बुवा-आमाको उपचार खर्च पुग्न छोड्यो । किनकि महिनैपिच्छे हस्पिटल धाउनुपर्ने भएपछि हिराकाजीले नेवारी खाजा घर चलाउन छाडिसकेका थिए । अब सरिताले बिहानको जागिर शुरु गरिन् । ‘एउटा महिना ड्याड बिरामी हुनुहुन्थ्यो । र, अर्को महिना ममी । जसोतसो मिलाएकै थिएँ’ सरिता अत्तालिएको स्वरमा भन्छिन्, ‘एउटा यस्तो समय आइपर्‍यो कि ड्याड र ममी एकैपटक बिरामी पर्नुभयो । त्यहीबेला बहिनी पनि बिरामी परिन् ।’
त्यतिबेला हो, सरितालाई अब सक्दिनँ कि भन्ने लागेको । उनलाई लाग्थ्यो, भगवानले मसँग किन यति कठोर परीक्षा लिँदैछ ? त्यसबेला उनलाई साथीहरुले साथ दिए । ‘चार पाँच वर्ष त गरिसक्यो, हिम्मत नहार’ भन्थे ।
तर, मानिसहरु हिराकाजी र मञ्जुलाई भनिरहन्थे, ‘देखिस्, छोरा नभएपछि कस्तो हुँदोरहेछ ।’ यसले रोगले थलिएका उनीहरुलाई झन् विचलित बनायो ।
हुन त हिराकाजी र मञ्जुको पहिलो सन्तान छोरा नै थियो । उनी भन्छन्, ‘तर, भाग्यमै रहेनछ । एउटा हातले दिएजस्तो र अर्को हातले लगेजस्तो भयो ।’
कलेजो, अर्थात माया !
मेरो त मर्ने हिसाब भइसकेको थियो । तर, छोरीले बचाएरै छोड्छु, नत्र हामी पनि मर्छौँ भन्दै जबरजस्ती गरिन् । मैले नमानेर सुखै भएन-हिराकाजी
सरिता बुटिकमा व्यस्त थिइन् । आमाले आत्तिदै फोन गरिन्, ‘नानी यहाँ आइजा । बाबालाई गाह्रो पर्‍यो ।’ सरिता हान्निएर घर पुगिन् । हिराकाजी अर्धचेत अवस्थामा थिए । सुरमा त उनलाई लाग्यो, रक्सीले होला ।
‘ड्याड्, ड्याड…’ भनेर बोलाइरहिन्, तर हिराकाजीले केही नबोलेपछि सरिताको मन डरायो । दिदी, बहिनी मिलेर पितालाई तीन तलामाथिबाट मुस्किलले भूइँतलामा ल्याए र पुल्चोकस्थित अस्पतालमा पुर्‍याए ।
भेन्टिलेटरमा राखियो । केही परीक्षणहरु गरेपछि डाक्टरले सरितालाई भने, ‘अब तिम्रो बुबालाई बचाउन गाह्रो छ । उहाँको कलेजो सक्किसकेको छ । एउटै विकल्प प्रत्यारोपण हो, त्यसको अप्रेशन मात्र २० लाख खर्च लाग्छ ।’
अब के गर्ने ? सरितालाई बुवाविनाको जीवन कल्पनै गर्न सकिनन्, एकदमै डर लाग्यो । कलेजो प्रत्यारोपणबारे भिडियोहरु हेरिन् । र, निर्णय गरिन्, ‘ममसँग त ब्लड ग्रुप मिलेन । ड्याडसँग त पक्कै मिल्छ । म आफैं कलेजो दिएर बचाउँछु ।’
यो खबर बुवालाई सुनाउनुपूर्व सरिताले डाक्टरसँग परामर्श गरिन् । प्रत्यारोपण गर्न मिल्ने भयो । अनि बुवालाई सुनाइन् ।
हिराकाजी भन्छन्, ‘मेरो त मर्ने हिसाब भइसकेको थियो । तर, छोरीले बचाएरै छोड्छु, नत्र हामी पनि मर्छौँ भन्दै जबरजस्ती गरिन् । मैले नमानेर सुखै भएन ।’
सरिताको निर्णयमा हिराकाजीले सहमति जनाए । तर, आमाले इन्कार गरिन्, ‘बिहे गरेर अरुको घर जानुपर्ने मान्छे, कहाँ कलेजो दिने ?’ मामा घरतिरबाट पनि उनल साथ पाइनन् । ‘मलाई कसैले सपोर्ट गरेन । न घर न मामा घरकाले’, सरिता सम्झँदैछिन्, ‘बरु मेरो साथीहरुले हिम्मत दिए, सहयोग गरे ।’
त्यसबेलासम्म सरिताले बाँच्ने आश जागेर बावुको अनुहारमा केही खुशी देख्न थालिसकेकी थिइन् । त्यसपछि अड्डी कसिन्, ‘ड्याडलाई बचाएरै छाड्छु ।’
दुई महिनापछि अप्रेशन भयो । २२ असार ०७४ मा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा हिराकाजीको कलेजो झिकेर फ्याँकियो । सरिताको ४५ प्रतिशत कलेजो राखियो । चिकित्सकहरुका अनुसार ६० प्रतिशत कलेजो दिनुपर्ने हो । तर, सरिताको कलेजोमा बढी नशा भएकाले त्योभन्दा बढी झिक्न मिलेन ।
त्यागको अनुपम दृष्टान्त
अपरेशनपछि सरितालाई अत्यधिक दुखाइले सतायो । उनी चिच्याउथिन् । त्यो देखेर दिदीहरु रुन्थे । तर, बुवालाई बचाउने आँट गरेकी उनले त्यो सबै सहिन् । सरिता खुशी हुँदै भन्छिन्, ‘होस आउनेवित्तिकै ह्वीलचियर गुडाउँदै ड्याडलाई हेर्न पुगेको थिएँ, तर उहाँलाई होस आएकै रहेनछ ।’
अप्रेशनको चौथो दिन ।
डाक्टरले सरितालाई फेरि सोधे, ‘बुवालाई भेट्ने हो ?’ उनले हाँस्दै टाउको हल्लाइन् । सरिताको स्वर ठूलो बन्यो, ‘हामीलाई देख्ने वित्तिकै उहाँ युरिन पाइप समाउँदै हिँडेर भन्नुभयो, ल हेर त म ठीक भइसकेँ ।’

बुवाको त्यो फुर्ती देखेर सरिताका आँखाबाट बरबर आँशु खसे । त्यो खुशीको आँशु थियो । ह्वीलचियरमा रहेकी उनीले पछाडि फर्काएर आँशु पुछिन् । सरिता भन्छिन्, ‘ड्याडलाई देखेर म पनि हिँड्ने प्रयास गरेँ, तर मलाई पेट समाउँदै कुप्रो परेर पाइला सार्न पनि झण्डै १० दिन लाग्यो ।’
नयाँ जीवनको थालनी
अपरेशनको केही समय उनीहरु भक्तपुर र केही समय कीर्तिपुर भाडाको घरमा बसे (घरको माथिल्लो तलामा बस्ने र साँघुरो भर्‍याङमा ओहोर-दोहोर गर्न अप्ठ्यारो भएकाले) । हिराकाजी पूरै निको भए र घर फर्किए ।
छोरीलाई हेर्ने मान्छेहरुको विचारमा परिवर्तन आएको छ । बुवालाई गर्ने व्यवहारमा परिवर्तन आएको छ । पहिला जति हेप्थे, अहिले त्यति नै गर्व गर्छन्-सरिता
औषधिको डोज पनि घट्दै गयो । मासिक ५०/६० हजारको उपचार खर्च १० हजारमा झरिसकेको थियो । महिनामा एकपटक फलोअपका लागि हस्पिटल गए पुग्थ्यो । प्रत्यारोपण गरिएको कलेजो पलाउन शुरु भइसकेको थियो ।
हिराकाजीलाई छोरीले दिएको नयाँ जीवनबाट मञ्जुले पनि स्वस्थ हुने आश देख्न थालेकी थिइन् । किनकि सरिताले आमाको मिर्गौला प्रत्यारोपण गर्ने तयारी थालिसकेकी थिइन् । डोनर पनि भेटियो । सबै कागजपत्र तयार भयो । आमा अस्पताल भर्ना भइन् । दुई महिनापछि मिर्गौला प्रत्यारोपण गर्ने दिन टुंगो लाग्यो । तर, हस्पिटल पुगेका हप्ता दिनमै उनी रहिनन् ।
हिराकाजीले फेरि मःमः पसल शुरु गरेको तीन महिना मात्र भएको थियो । पत्नी वियोगले उनी विचलित बन्न थाले । मःमः पसल दुई महिनासम्म बन्द भयो । आँशुले हिराकाजीका आँखा भरिएका छन् । ‘विस्तारै सम्हालिँदैछु, मर्ने त मरेर गइहाली । छोरीले बचाएकी छे, उनीहरुका लागि भए पनि बाँच्नुपर्छ ।’
पत्नीवियोगबाट लड्खडाउँदै दुई महिना भयो हिराकाजीले फेरि मःमः पसल शुरु गरेको । यही मःमः पसलको कमाइले परिवारको आधा खर्च धान्छ । छोरी सरिता फेरि बुटिकमा व्यस्त हुन थालेकी छन् ।
आजभोलि हिराकाजीलाई छोरा नभएको भनेर खिसिट्युरी गर्नेहरु गुमनाम भएका छन् । बरु बिरामी भएकाहरु भेट्न आउँछन् र उपचार गरे हुने रहेछ भन्दै जान्छन् ।
सरिता भन्छिन्, ‘छोरीलाई हेर्ने मान्छेहरुको विचारमा परिवर्तन आएको छ । बुवालाई गर्ने व्यवहारमा परिवर्तन आएको छ । पहिला जति हेप्थे, अहिले त्यति नै गर्व गर्छन् ।’

source onlinekhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*