यूएस ओपन टेनिस : ओसाकालाई सकस

आवाज खबर
१३ भाद्र २०७६, शुक्रबार १३:५६

न्युयोर्क : साबिक विजेता नाओमी ओसाकाले ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको दोस्रो चरणमा पुग्न ठूलै संघर्ष गर्नु परेको छ। महिला एकलतर्फको पहिलो चरणको खेलमा २० वर्षीय रूसी खेलाडी अन्ना ब्लिनकोभालाई हराउन ओसाकाले निकै पसिना बगाउनु पर्‍यो। पहिलो सेटको नतिजालाई ६—४ ले आफ्नो पक्षमा पारेकी २१ वर्षीया जापानी खेलाडी ओसाका दोस्रो सेटमा भने पराजित भइन्।
निकै प्रतिस्पर्धात्मक रहेको दोस्रो सेटमा ओसाका तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी ब्लिनकोभासँग ६—७ (५) अंकले पछाडि परिन्। तर, तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ओसाकाले आफ्नी प्रतिद्वन्द्वीलाई ६—२ अंकले पछाडि पारेकी थिइन्। अघिल्लो वर्षको यूएस ओपनको फाइनलमा ओसाकाले चर्चित अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउँदै उपाधि हात पारेकी थिइन्।
पहिलो वरीयतामा आसीन ओसाकाले यो वर्ष अर्को ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि पनि जितिसकेकी छन्। अन्य दुई ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन र फ्रेन्च ओपनमा भने उनी तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन्। विम्बल्डन च्याम्पियन सिमोना हालेप पनि कठिन जितपछि दोस्रो चरणमा पुगेकी छन्। २७ वर्षीय रोमानियन खेलाडी हालेपले पहिलो चरणको खेलमा अमेरिकी प्रतिद्वन्द्वी निकोल गिब्सलाई ६—३, ३—६, ६—२ अंकले पराजित गरिन्।
हालेप हालसम्म यूएस ओपनको सेमिफाइनलभन्दा अगाडि बढ्न सकेकी छैनन्। उनी सन् २०१५ मा यूएस ओपनको सेमिफाइनलमा पराजित भएकी थिइन्। उनले विम्बल्डन र फ्रेन्च ओपनको उपाधि भने एक÷एक पटक जितेकी छन्। अघिल्लो वर्ष उनी अस्ट्रेलियन ओपनको फाइनलसम्म पुगेकी थिइन्।
यसैगरी १५ वर्षीया अमेरिकी खेलाडी कोको गफ पनि प्रतियोगिताको दोस्रो चरणमा पुगेकी छन्। उनले पहिलो चरणको खेलमा रूसी खेलाडी अनास्तासिया पोटापोभालाई ३—६, ६—२, ६—४ ले पराजित गरिन्। ‘मेरा लागि यो निकै अपत्यारिलो नतिजा हो’, खेलमा जित हात पारेपछि गफले भनेकी छन्।
चेक गणतन्त्रकी अनुभवी खेलाडी पेत्रा भितोभा पनि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकी छन्। २९ वर्षीया भितोभाले पहिलो चरणको खेलमा आफ्नै देशकी डेनिसा एलर्तोभालाई ६—२, ६—४ को सोझो सेटमा पाखा लगाइन्। छैटौं वरीयतामा आसीन भितोभा दुई पटककी विम्बल्डन च्याम्पियन खेलाडी पनि हुन्।
पूर्वविजेता अमेरिकी खेलाडी सलोन स्टेफन्स भने पहिलो चरणमै पराजित भएकी छन्। २६ वर्षीय स्टेफन्सले सन् २०१७ मा यूएस ओपनको उपाधि जितेकी थिइन्। उनलाई छनोट चरण पार गरेर आएकी २० वर्षीया रूसी खेलाडी अन्ना कालिन्सकायाले ६—३, ६—४ को सोझो सेटमा पराजित गरेकी हुन्। पूर्वनम्बर एक खेलाडी भिक्टोरिया अजारेन्का पनि पहिलो चरणमै पराजित भइन्। बेलारुसकी ३० वर्षीया खेलाडी अजारेन्कालाई उनकै देशकी आर्यना सबालेन्काले ३—६, ६—३, ६—४ अंकले हराइन्।
यसैगरी पुरुष एकलतर्फ अनुभवी ब्रिटिस खेलाडी एन्टी मुरे सजिलै तेस्रो चरणमा पुगे। उनले दोस्रो चरणको खेलमा स्लोभाकियाका नोबर्ट गोम्बसलाई हराए। ३२ वर्षीय मुरेले तेस्रो चरणको खेलमा पनि सजिलो प्रतिद्वन्द्वी पाएका छन्। तेस्रो चरणमा उनले इटालीका माटेयो भियोलासँग प्रतिस्पर्धा गर्नेछन्। भियोला २४०औं विश्व वरीयताका खेलाडी हुन्। मुरेले हालसम्म दुई पटक विम्बल्डन र एक पटक यूएस ओपनको उपाधि जितेका छन्। उनले सन् २०१२ मा यूएस ओपन जितेका थिए।
दोस्रो वरीयताका स्पेनिस खेलाडी राफेल नाडाल भने दोस्रो चरणमा पुगेका छन्। ३३ वर्षीय नाडालले पहिलो चरणको खेलमा अस्ट्रेलियाका जोन मिलम्यानलाई ६—२, ६—२, ६—२ ले हराए। नाडाल १८ पटकका ग्रान्डस्लाम च्याम्पियन खेलाडी हुन्। उनले यसअघि तीन पटक यूएस ओपनको उपाधि जितिसकेका छन्। अस्ट्रेलियाका निक किर्गियस, फ्रान्सका गेल मोनफिल्स र जर्मनीका एलेक्जेन्डर जेरेभ पनि दोस्रो चरणमा पुग्न सफल भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*