मौलिकता गुमाउँदै तीज

आवाज खबर
१३ भाद्र २०७६, शुक्रबार १३:३२

बाटोघाटोमा मैतालुहरूको राताम्मे लस्कर, गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घरघरमा पाक्ने अनदीको लट्टे, खीर, तामा–टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाचगान गर्दै खाइने दर ! त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा ! यही हो हाम्रो तीजको मौलिकता। नेपाली महिलाको सर्वाधिक आस्थाको यो पर्व अहिले केही सम्भ्रान्त र नवधनाढ्य मध्यमवर्गीय महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको देखिन्छ।
मौलिक संस्कृतिलाई विकृृत बनाउने कथित आधुनिकता, तीजसम्बन्धी धार्मिक मान्यताको अपव्याख्या अनि सांस्कृतिक विविधता नष्ट पार्दै एकल संस्कृति स्थापनार्थ लागिपरेको विश्वव्यापी अदृश्य शक्तिका कारण हाम्रा सांस्कृतिक पर्वहरू वितृष्णाको विषय बन्दै जानु चिन्ताको विषय हो। किनभने, जबसम्म संस्कृति जीवित रहन्छ तबसम्म राष्ट्रको पहिचान पनि रहिरहन्छ।
तीज सामाजिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्त्वपूर्ण पर्व हो। पारिवारिक सद्भाव र प्रेमको यो पर्वले चेली र माइतीबीचको अगाध मायाको प्रस्तुति त गर्छ नै, साथमा पतिपत्नीबीचको प्रेम, त्याग र समर्पणको प्रतिविम्बन पनि गरेको हुन्छ। केही सम्पन्न वर्ग र सहरी क्षेत्रलाई छाड्ने हो भने हाम्रो बाँकी भौगोलिक, सामाजिक र आर्थिक परिवेशका महिला अझै पनि मीठो खान र राम्रो लाउन अनि आराम र मनोरञ्जनका लागि चाडपर्व नै कुर्नुपर्ने बाध्यताबाट मुक्त हुन सकेको देखिँदैन। तीजमा आफ्नो गच्छेअनुसार सिँगारिएर माइत जानु, दिदीबहिनी–साथीसंगीहरूसँग बसेर दुःखसुखका कुरा गर्नु, केही दिन भए पनि घरको बुहार्तनबाट मुक्त भएर स्वतन्त्रताको अनुभूति गर्नु, माइतीले पकाएर दिएको दर खाएर रमाइलो गरी रात बिताएपछि मनोविकारबाट मुक्त हुँदै व्रत बस्नु, देवालयको परिक्रमा अनि आफ्नो परिवारको कल्याणको कामनाका साथ भगवान् शिवको पूजा–अर्चना गर्नु उनीहरूका लागि वर्ष दिनदेखिको पर्खाइको विषय हुन्छ।
यसलाई अझ वैज्ञानिक किसिमले हेर्ने हो भने, हामीकहाँ अधिकांश विपन्न वर्गहरू वर्ष दिनसम्म मीठो र पोसिलो खान सक्ने अवस्थामा देखिँदैनन्। त्यसैले वर्ष दिनका केही चाडपर्वमा पोसिला परिकार खाएर शरीर स्वस्थ राख्नुपर्ने हुन्छ। उहिलेको कुरा गर्ने हो भने त परिवारमा महिला नै दोस्रो दर्जामा रहेको अवस्थामा बुहारीहरूको स्थानको सहजै आकलन गर्न सकिन्छ। सानैमा बिहे गरेर टाढा–टाढा पुग्नु, माइतीसँग सम्पर्कको कुनै माध्यम नहुनु, आफ्ना पिर, व्यथा पोख्ने माध्यम नहुनु, नयाँ लुगा लगाउन चाडपर्व नै आउनुपर्ने आदि परिवेशबाट तिनै छोरीबुहारीका हितमा, तिनै विपन्न महिलाका पक्षमा तीजजस्तो पर्वको आरम्भ गरिएको हुनसक्छ।
तत्कालीन समयको पितृसत्तात्मक सामाजिक संरचना तथा त्यसबाट निर्मित सांस्कृतिक मूल्यअनुरूप महिलाले मीठो–चोखो खान, राम्रो लाउन, माइत जाने, मनोरञ्जन गर्ने छुट पाउनका लागि पितृसत्तात्मक मूल्यलाई सहजरूपमा शिरोधार्य नगरी हुँदैन्थ्यो। त्यसैले उनीहरूले पतिको दीघार्युका लागि भन्दै निराहार व्रत बस्नुपर्ने प्रावधान पनि बनेको हुन सक्छ। अर्कोतिर तत्कालीन समाजमा पुरुषहरू घरबाहिर तथा आयआर्जनका कार्यमा लाग्ने अनि घरभित्रको तथा परिवारको दायित्व महिलामा हुने हुँदा पनि व्रत–अनुष्ठानद्वारा पति तथा परिवारको कल्याणको कामना गर्ने दायित्व पनि महिलाकै बन्न पुग्यो। त्यसले अझै निरन्तरता पाइरहेकै छ।

वर्तमानमा महिला घरभित्र सीमित नरहेर विभिन्न कार्यक्षेत्रमा संलग्न देखिन्छन्। तर पनि उनीहरू पारिवारिक दायित्वबाट पृथक् रहन सकेको अवस्था देखिँदैन। आआफ्ना मौलिक परम्परा तथा रीतिरिवाजलाई जीवन्त बनाइराख्ने थप दायित्वसमेत उनीहरूले नै पूरा गर्दै आएको देखिन्छ। हाल तीजको व्रतपूजासम्बन्धी मान्यताको अपव्याख्या गर्दै विवाहित महिलाले पतिको दीघार्युको कामना गर्दै र अविवाहितले असल पति पाउन तीजको व्रत बस्नुलाई पितृसत्तात्मक दासत्वको अनुमोदन हो भन्ने गरेको पनि पाइन्छ। किनभने, हाम्रो समाजमा न विवाहित पुरुष पत्नीका लागि व्रत बस्छन् न त अविवाहित पुरुष असल पत्नीका लागि व्रत बस्छन् ! यो यथार्थ नारी र पुरुषबीचको सहअस्तित्व नस्वीकारिएको अवस्थाको हो।
पौराणिक सन्दर्भमा पार्वतीले महादेव पति पाउनका लागि अन्नजलसमेत परित्याग गरेर कठोर तपस्या गरेको र सोही तपस्याको फलस्वरूप महादेवसँग पार्वतीको विवाह भएकाले सोही व्रतलाई महिला वर्गले पतिप्रतिको प्रेम र निष्ठाका रूपमा निरन्तरता दिँदै आएको मानिन्छ। तीजको व्रतलाई पितृसत्तात्मक दासत्व भन्नेहरू पौराणिक प्रसंगको सही व्याख्यासम्म पुग्नुपर्ने देखिन्छ। किनभने हिन्दु सनातन परम्परामा शिव र शक्तिको सम्मिलित रूप नै पूर्ण ईश्वरीय तŒव मानिन्छ र अर्धनारीश्वर यसको प्रतिरूप हो।
जहाँसम्म शिव–पार्वतीको विवाहको प्रसंग छ, त्यसपूर्व महादेव र सतीदेवीको कथा झनै महत्त्वपूर्ण छ। शिव र सती दाम्पत्य प्रेम र त्यागका प्रतिमूर्ति मानिन्छन्। आफ्ना पतिको अनावश्यक निन्दा र अपमान सहन नसकेर उनको आत्मसम्मानका लागि आत्मदाह गरेकी सतीको वियोगमा विक्षिप्त बनेर उनको शव बोकेर वर्षौंसम्म भौंतारिइरहेका महादेवको पत्नीप्रेम अनुकरणीय छैन र ? तिनै सतीको पुनर्जन्म पार्वती भएको हुँदा उनले पनि पुनः शिवलाई नै पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको कथाप्रसंग अमर प्रेमको दस्ताबेज होइन र ? शिव–पार्वतीको विवाहपश्चात् शिवले उनलाई आफ्नो शक्ति मान्दै ‘शक्तिबिना शिव केवल शव हो’ भनेका प्रसंगबाट नारीको स्थान र आत्मसम्मान प्रतिविम्बित भएको छैन र ?
संस्कृतिलाई विकृति बनाउने पक्षप्रति सचेत भएर तीजजस्तो मौलिक पहिचान बोकेको पर्वलाई देखावटी र आर्थिक हैसियत प्रदर्शनको माध्यम नभई पारिवारिक सद्भाव तथा आत्मीयताको पर्वका रूपमा निरन्तरता दिइनु पर्छ।
शिवले कहिल्यै पार्वतीलाई चरणकी दासीका रूपमा हेरेको पाइँदैन भने पार्वतीले शिवको चरणामृत पान गरेको प्रसंग पनि कतै भेटिँदैन। नारी–पुरुषको आपसी परिपूरकता र सहअस्तित्वका रूपमा शिव–पार्वतीलाई मानिन्छ। त्यसैले तीजमा शिवको पूजा गर्नु, उनीजस्तै पतिको कामना गर्नुलाई अन्यथा मान्न सकिँदैन। किनकि, हरेक पतिले शिवले जस्तै पत्नीको आत्मसम्मानको ख्याल राख्ने हो र हरेक नारीलाई सम्मानजनक दृष्टिले हेर्ने हो भने नारी उत्पीडन स्वतः समाप्त भएर जान्छ।
सामन्ती युगदेखि पुरुषसत्ताले निर्माण गरेको नारीद्वेषी संस्कृतिको पृष्ठपोषण गर्नेहरूले गर्ने गरेको गलत व्याख्याका आधारमा हिन्दु परम्परालाई दासत्वको प्रतीक मान्ने एकातिर छन् भने अर्कोतिर त्यही दासत्वलाई आत्मसम्मान ठान्दै जबर्जस्ती पतिको पाउ तानेर पखाल्दै पानी पिएर आपूmलाई पतिभक्त आदर्श नारी घोषित गर्नेहरू छन्। यिनै दुई पक्षको चेपुवामा परेर आज हाम्रो संस्कृति लोपोन्मुख बन्दै छ। चाडपर्वलाई सामन्ती संस्कारको उपज मान्ने कथित क्रान्तिकारीहरूले यो यथार्थ बुझ्न सकेनन् कि त्यस्ता पर्वहरू बुर्जुवा वर्गका लागि नभएर विपन्न वर्गकै हित र क्षणिक भए पनि खुसी र रमाइलोका लागि हुन्। बुर्जुवाहरूका लागि त मीठोमसिनो खान र रमाइलो गर्नका लागि चाडपर्व कुर्नु पर्दैन।
मलाई सम्झना छ, म सानी छँदा गाउँमा मजदुरी गर्नेहरूले वर्षभरि काम गरेको मजदुरीमध्ये केही तीजका लागि र केही दसैंतिहारका लागि भनेर जम्मा गरिराख्थे। अझैपनि नयाँ फरिया लाउन तीज पर्खिनुपर्ने र भात खान दसैं कुर्नुपर्ने बाध्यताबाट हाम्रा दुर्गमका वासिन्दा मुक्त हुन सकेका छैनन्। यसबाट पनि छर्लंग हुन्छ चाडबाडको महत्त्व।
रातो रङ सौभाग्यको प्रतीक त हो नै, यसलाई शक्तिको प्रतीकका रूपमा पनि लिइन्छ। तीजमा विशेषगरी विवाहित महिलाले रातो पहिरन तथा चुरापोतेमा सजिनु हाम्रो मौलिक परम्परा हो। तर अचेल यसलाई महँगा कपडा र अनेक गरगहना प्रदर्शनको प्रतिस्पर्धा गर्ने माध्यम बनाइँदै छ, जसका कारण नहुनेले ऋण खोजेर या अर्काको मागेर भए पनि लगाउने प्रचलन पनि बढ्दो छ। बुहारीका माइतीबाट घरपक्षका सबैलाई दरका रूपमा कपडा, मेवमिष्टान्न लैजानैपर्ने नवधनाढ्य संस्कृति पनि तीजका नाममा विकृति नै बनिरहेको देखिन्छ। यसले एक पक्षको खुसीका लागि अर्को पक्षले पीडा भोग्नुपर्ने बाध्यकारी अवस्थालाई देखाउँछ।
यसैगरी तीजको अघिल्लो रात व्रत बस्ने महिलाले दर खाने प्रचलन पनि विकृत हुँदै गएर महिना दिन अघिदेखि पालो गरीगरी र पैसा उठाई–उठाई दर खाने परम्परामा परिणत भइसकेको छ। दर खाने यस्तो परम्परा सम्भ्रान्त वर्गका लागि मनोरञ्जन र रेस्टुरेन्ट तथा पार्टीप्यालेसका लागि आर्थिक उपार्जनका दृष्टिले महत्त्वपूर्ण त होला नै, तर यसले तीजको मौलिकता भने घटाउँदै गएको छ। गाउँघर, चौतारी मठमन्दिर आदिमा घन्कने तीजका मौलिक गीतहरूको आफ्नै महत्त्व हुनुका साथै यसले कसैलाई कुनै वाधा पुर्‍याएको हुँदैन।
हिजोआज तीजको एउटा एल्बम निकालेर वर्षभरिको आम्दानी गर्ने व्यवसायी कलाकारका उत्तेजक तीजे गीतले मौलिक संस्कृतिमा विकृति भिœयाइरहेका छन्। सहरको साँघुरो परिवेशमा एउटा घरमा महिनौंदेखि घन्किने यस्ता गीतले अर्को घरमा वाधा पुर्‍याइरहेका हुन्छन्। वल्लो कोठामा बज्ने गीतले पल्लो कोठाको विद्यार्थीको पढाइमा वाधा पुर्‍याइरहेको हुन्छ। यसबाट पनि तीजको गरिमा घट्दै गएको देखिन्छ। त्यसैले संस्कृतिलाई विकृति बनाउने यस्ता पक्षप्रति सचेत भएर तीजजस्तो मौलिक पहिचान बोकेको पर्वलाई देखावटी र आर्थिक हैसियत प्रदर्शनको माध्यम नभई पारिवारिक सद्भाव तथा आत्मीयताको पर्वका रूपमा निरन्तरता दिइनु पर्छ। पवित्र आशयका साथ आरम्भ भएको तीजजस्तो पर्वलाई अल्पज्ञान तथा आधुनिकताको पूर्वाग्रही चस्मा लगाएर व्याख्या गर्दै यसमाथि प्रहार गर्नुभन्दा यसको गहिराइसम्म पुगेर विश्वव्यापीकरणले स्थापित गर्न चाहेको एकल संस्कृतिबाट हाम्रो सांस्कृतिक विविधतालाई जोगाउन आवश्यक देखिन्छ।

source: annapurnapost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*