पूर्वाधार विकास प्राथमिकता

आवाज खबर
१३ भाद्र २०७६, शुक्रबार १३:२७

पाँचखाल नगर विकासका लागि डीपीआरमार्फत विभिन्न योजना तयार गरिरहेका छौं। दुई वटा रिङरोडको अवधारणाअनुसार ट्र्याक खोल्ने काम भइरहेको छ। अनेकोट–कोसी सडकखण्डमा ग्राभेल तथा पिच गर्ने काम धमाधम भइरहेको छ।
औद्योगिक ग्राम र कृषि क्षेत्रमा लब ग्रिन नेपालसँग साझेदारी गरी जाइकाको फन्डिङबाट अगुवा कृषक तालिम दिइरहेको काभ्रे पाँचखाल नगरपालिका प्रमुख महेश खरेल बताउँछन्। यसै सन्दर्भमा गरेको कुराकानी :
विकास निर्माण कसरी अगाडि बढिरहेको छ ?
विकास निर्माण क्रममा कृषि क्षेत्रमा लब ग्रिन नेपालसँग साझेदारी गरी जाइकाको फन्डिङबाट अगुवा कृषक तालिमको व्यवस्था गरेका छौं। विषादी न्यूनीकरणका लागि तालिम प्रभावकारी हुनेछ। डीपीआरमार्फत विभिन्न योजना तयार गरिरहेका छौं। दुई वटा रिङरोडको अवधारणाअनुसार ट्र्याक खोल्ने काम भइरहेको छ। अनेकोट–कोसी सडकखण्डमा ग्राभेल तथा पिच गर्ने कार्य भइरहेको छ। औद्योगिक ग्रामका लागि अघि बढिरहेका छौंं।
त्यस्तै, सिँचाइका लागि झिगु खोलामा र तामघाट क्षेत्रमा दुईवटा बाँध बाँध्ने काम गरेका छौं। दुमकार्टेमा रिचार्जेबल पोखरी १२ लाख लिटर पानी रिचार्ज हुने र सिँचाइ गर्न सहयोग पुग्ने पोखरी निर्माण गरिसकेका छौं। खानेपानी समस्या समाधान गर्न बृहत् सुनकोसी योजनालाई अगाडि बढाएका छौं। त्यसका लागि एडीबीसँग सम्झौता गर्दै छौं। पलाञ्चोक भान्छे पोखरीमा पार्क निर्माण गरेका छौं।
काम गर्ने सिलसिलामा कत्तिको बाधा–अड्चन आए ?
यसमा आफूलाई भाग्यमानी सम्झन्छु। हाम्रो बहुमत नभए पनि हामीले सर्वसम्मत निर्णय गरेका छौं। व्यक्तिगत र पार्टीको स्वार्थभन्दा पनि समग्र पाँचखालको हितका लागि सबैसँग हातेमालो गरी अगाडि बढेका छौं जसले गर्दा काम गर्न सहज भएको छ।
जनताले प्रत्यक्ष महसुस गर्ने खालका काम के–के भएका छन् ?
सहज रूपमा काम गर्न ‘इन्फरमेसन टेक्नोलोजी’सँग जोडिएका छौं। टोकन सिस्टम सञ्चालन गरेका छौं। विद्युतीकरण गरिरहेका छौं। प्रत्येक वडालाई अनलाइनसँग जोडेर सेन्ट्रलर सिस्टममा गएका छौं।
खानेपानी टेन्डर खुल्दै छ, पाँचखालको तरकारीमा विषादी छरिन्छ भन्ने भ्रम चिर्ने कोसिस गर्दै छौँ। जुन जनताको प्रत्यक्ष सरोकारका विषय हुन्। राष्ट्रिय रूपमा स्याम्पलिङ हुँदा आलुमा ३०–३५ सम्म भएकोलाई खानयोग्य मानिएकामा पाँचखालमा १३ प्रतिशत मात्र भेटिएकाले यहाँको आलु अर्गानिकसरह प्रमाणित भइसकेको छ।
‘पाँचखाल नगर कृषि सहर’ नाराअनुसार योजना ल्याउनुभएको छ ?
कृषक जहिले पनि गरिबको गरिब। जो कृषिमा लागेर विदेश पलायन हुनुभएको छ उहाँहरूलाई कृषिप्रति नै वितृष्णा जागेको महसुस गरेका छौं। बालबच्चालाई पढाउन पनि नपुग्ने, दसैं–तिहारमा गर्जाे टार्न नसकिने, बिहे व्रतबन्धमा साहुबाट ऋण लिनुपर्ने स्थिति छ।
माटो परीक्षण गरी के रोप्यो भने किसानलाई सबैभन्दा बढी आम्दानी हुन्छ भन्ने कुरा परीक्षण गर्दै छौं। कृषकको समूह बनाएर ट्र्याक्टर वितरण गरिरहेका छौं। कृषि शाखाबाट प्लास्टिकका पोखरी तथा ३० लाख रुपैयाँ बराबरको माहुरीका घारसमेत उपलब्ध गराउने भएका छौं। जसले ‘पाँचखाल नगर कृषि सहर’ नारा सार्थक बनाउन सहयोग पुग्नेछ।
निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पूरा भए ?
यहाँको प्रमुख समस्या खानेपानी हो जसका लागि सम्झौता गर्दै छौं। सडकलगायत विकासका अन्य पूर्वाधार भने निर्माण भइरहेका छन्। दुई वर्षको अवधिमा सबै प्रतिबद्धता पूरा हुन सकेको छैन। हामी त्यसमा निरन्तर लागिरहेका छौं।
खानेपानी आयोजनाले सबै वडा समेटेको छैन नि ?
हो, बृहत् खानेपानी आयोजनाले जम्मा १० वटा वडा मात्र समेटिन्छ। त्यसमा छुटेको १ नं. वडामा हामीले भिन्नै खानेपानी योजना तर्जुमा गरेका छौं। दुई वटा वडाका लागि हाइटले गर्दा पलाञ्चोक डाँडामा इन्टेक हुन्छ। ग्राबिटीबाट हामी पानी डिस्ट्रिब्युट गर्छाैं। पलाञ्चोकबाट खावासम्म पानी आइनपुग्दा तीनपिप्लेबाट माथिल्लो भेगमा त्यसले सर्भ गर्दैन।
त्यसले गर्दा ६ नं. को केही भेग र ५ नं. का लागि हामीले डिप बोरिङ गरेका छौं। ५ र ६ का लागि केन्द्रीय सरकारसँग ५ करोड रुपैयाँ खानेपानीका लागि योजना स्वीकृत भइसकेको छ। १ नं. वडाका लागि हामीले ६० लाख बजेट छुट्याएका छौं। यस वर्ष हामी १ नं. वडालाई पूरै खानेपानीको सञ्जालमा जोड्छौं र २ नं. को माथिल्लो भेगलाई पनि जोड्छौं।
नगरको बजेट विनियोजनको अवस्था कस्तो छ ?
वडागत बजेटमा गत वर्ष ६० लाख वितरण गरेका थियौं, यस वर्ष ७० लाख पु¥याएका छौं। वडाका जनताबाट टुक्रे योजनाको माग र ७० लाखबाट धेरै ठुल्ठूला योजना नबन्ने भएकाले १५ लाखभन्दा माथिका योजना अनिवार्य टेन्डर गर्नुपर्ने र पाँचखाल नगरपालिका पूरै ई–टेन्डरमा गएको छ। पारदर्शितासाथ अघि बढाइएको छ। त्यसभन्दा माथिलाई ई–टेन्डर गर्नुपर्ने हुन्छ।
अहिलेसम्म कति वटा विधेयक ऐन ल्याउनुभयो ?
हामीले भर्खरै मात्र पनि वातावरणीय ऐन पास गरेका छौं। जनताको स्वास्थ्यलाई ध्यानमा राखेर धुवाँजन्य उद्योग, इँटाभट्टा र प्लाई उद्योगसम्बन्धी ऐन ल्याएका छौं। नगरले किसान र जनताको हितमा ऐन ल्याउन जोड दिएको छ। त्यसैगरी, सुशासनसम्बन्धी ३०÷३५ वटा ऐन पास गरिसकेका छौं र अरू छलफलका क्रममा छन्। त्यो पनि विस्तारै पास गर्दै जानेछौं।
ऐतिहासिक पलाञ्चोक भगवती संरक्षणका लागि के गर्दै हुनुहुन्छ ?
पलाञ्चोक भगवतीको मन्दिर पुनर्निर्माण सकिएको छ। पुनर्निर्माणका क्रममा पुरातात्विक हिसाबले भएको छ कि छैन भनी पाँचखाल नगरले ‘क्लोज मनिटर’ गरेको छ। अहिले डेढ करोड बजेट छुट्ट्याएका छौं। हिन्दू धर्मको आस्थाको केन्द्र पलाञ्चोक भगवतीलाई धार्मिक पर्यटकीय स्थलका रूपमा अगाडि बढाउनेछौं।
नगरवासीलाई थप केही भन्न चाहनुहुन्छ कि ?
म नगर विकास गर्ने लक्ष्यसाथ आएको छु। राजधानीको नजिक भएर पनि हामी पछाडि परिरहेका छौं। हामी सबै जना हातेमालो गरी अगाडि बढ्यौं भने भ्रष्टाचार निर्मूल पार्नुका साथै जस्तोसुकै कठिन कार्य पनि सजिलै सम्पन्न गर्न सक्छौं। सम्पूर्ण नगरवासीलाई यसतर्फ केन्द्रित गर्न चाहन्छु।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*